प्रधानन्यायाधीश कार्कीद्वारा न्यायिक निकायमा राजनीतिक हस्तक्षेप बढाउन माग

प्रधानन्यायाधीश कार्कीद्वारा न्यायिक निकायमा राजनीतिक हस्तक्षेप बढाउन माग


Sushila Karki

प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा थप राजनीतिक हस्तक्षेपको माग गर्दै प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । उहाँ आफैँ अध्यक्ष रहेको न्यायपरिषद्को मध्यरातमा आफ्नै निवासस्थानमा राखिएको बैठकबाट राजनीतिक भागबन्डाका आधारमा उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति भएपछि त्यसको चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीको सल्लाहकार मानिने महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले समेत नियुक्तिको विरोध गरेको र सरकारी वकिलहरूले इजलास बहिष्कार गरेको सन्दर्भमा कार्कीले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । रमण श्रेष्ठलाई सम्झाइदिनुप¥यो र सरकारी वकिलहरूलाई पनि ठीक ठाउँमा ल्याइदिनुप¥यो भनी प्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्रीसँग अनुरोध गर्नुहुँदा प्रचण्डले चित्तबुझ्दो जवाफ (आश्वासन) नदिएको कार्की आफैँले बताउनुभएको छ । न्यायालयमा उत्पन्न समस्याबारे छलफल गर्न प्रधानन्यायाधीश कार्कीले गत सोमबार ‘फुलकोर्ट’ बैठक राख्नुभएको थियो । प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको कुरा पनि उहाँले उक्त बैठकमै बताउनुभएको हो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग भेटेर सहयोग माग गरेको, तर समस्या समाधानका निम्ति प्रधानमन्त्रीले केही गर्नुहोला जस्तो नलागेर यो बैठक बोलाउनुपरेको जानकारी सहभागी न्यायाधीशहरूलाई गराउनुभएको थियो ।

छलफलका क्रममा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाले इजलास बहिष्कार गर्ने सरकारी वकिलहरूलाई कठोर कारबाही गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभएको थियो । तर, वरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहित अन्य न्यायाधीशहरूले बेलायतमा समेत सरकारी वकिलले इजलास बहिष्कार गर्दा कारबाही नगरेको दृष्टान्त प्रस्तुत गर्दै वार्ताद्वारा समाधान खोज्न सुझाव दिनुभएको थियो । छलफलकै क्रममा वरिष्ठ न्यायाधीश पराजुलीले आफ्नो जन्ममिति वि.सं. २०१० वैशाख नभई २००९ को वैशाख भएको प्रमाणित गर्न सके आफूले ‘आजै’ पदबाट राजीनामा दिने भनी चुनौती दिनुभएको पनि समाचार सूत्रले जनाएको छ । वार्ताका निम्ति टोली बनाइनुपर्छ भन्ने कुरा उठेपछि कसको नेतृत्वमा को–को सम्मिलित टोली बनाउने भन्ने विषयलाई लिएर पनि लामै बहस भएको थियो । वार्ताटोलीमा कहिले कसको त कहिले कसको नाम आउन थालेपछि प्रधानन्यायाधीश कार्कीले सपना मल्ल र मीरा ढङ्गाना रहेको वार्ताटोली बनाउन प्रस्ताव गर्नुभएको थियो । तर, न्यायाधीशहरूले अलिक वरिष्ठमध्येबाट नै वार्ताटोली बनाउनु उपयुक्त हुने राय प्रकट गरेपछि कसैले वरिष्ठ न्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा वार्ताटोली बनाउन प्रस्ताव राखेका थिए । तर, प्रधानन्यायाधीश कार्कीले ‘उहाँले त मलाई सर्त राख्नुहुन्छ’ भन्दै पराजुलीको नेतृत्वमा टोली बनाउन मञ्जुरी दिनुभएन । यसरी कुनै पनि विषयमा सहमति नबनेपछि बिनानिष्कर्ष ‘फुलकोर्ट’ बैठक टुङ्गिएको थियो । बैठकमा प्रधानन्यायाधीश कार्की जसरी प्रस्तुत हुनुभयो त्योचाहिँ बैठकका सहभागी न्यायाधीशहरूको मानसपटलबाट कहिल्यै नमेटिने अवस्था रहेको बुझिएको छ ।

न्यायाधीश नियुक्तिमा भएको राजनीतिक हस्तक्षेपबाट नपुगेर प्रधानन्यायाधीश कार्की समस्या समाधानका निम्ति भन्दै थप हस्तक्षेप निम्त्याउन प्रधानमन्त्री प्रचण्डसमक्ष पुग्नुलाई सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले गम्भीरतापूर्वक लिएका छन् ।