एकसिटे दलको बेग्लै जगजगी

एकसिटे दलको बेग्लै जगजगी


प्रेमबहादुर सिंह र कुमार खड्का

समाजवादी जनता दलका प्रेमबहादुर सिंहलाई निर्वाचन आयोगले दल खारेजीसहित कारबाहीको सिफारिस गरेको छ । तर, अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त दलको मामलामाथि आँखा चिम्लिँदै प्रधानमन्त्री प्रचण्डले सिंहलाई मन्त्री नियुक्त गरेका छन् । प्रचण्डको यस कदमबाट निर्वाचन आयोग स्वयम् रनभुल्ल परेको छ भने सिंहकै साथमा प्रधानमन्त्रीले चाहिँ एकताका सङ्घीय प्रणालीको विरोधमा उभिएको ‘अखण्ड नेपाल’ पार्टीको नेता कुमार खड्कालाई समेत झन्डावाल गाडीमा हुँइकिने अवसर प्रदान गरेका छन् । नेपाल अखण्ड रहनुपर्छ भन्ने अडान लिएकै कारण ‘नेता’ बनेका खड्काले पाँच नम्बर प्रदेश टुक्र्याउने प्रचण्ड–प्रस्तावमा भोट हाल्ने वचनबद्धता जनाएर मन्त्री पदको शपथ लिन पाएको चर्चा यतिबेला व्याप्त छ ।

यसरी एकसिटे दलका नेताहरूको निधारमा बत्ती बलिरहेकै बेला अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य माग गर्दै आएको सङ्घीय लिम्बुवान पार्टी (नेपाल) फुटाएर कमल छाराहाङले नयाँ लिम्बुवान पार्टी घोषणा गरेका छन् । पार्टी फुटको जानकारी दिन झापाको दमकमा कार्यक्रम आयोजना गरी छाराहाङले आफ्नै नेतृत्वमा मुक्तिमोर्चा (सङ्घीयवादी) पार्टी घोषणा गरेका हुन् । यसप्रकार, लिम्बुवान राज्यप्राप्तिका लागि ‘शान्तिपूर्ण’ आन्दोलन गर्ने घोषणासँगै पूर्वमा लिम्बुवान राज्यको माग गर्ने पार्टी तीनवटा भएका छन् । सङ्घीय लिम्बुवान पार्टी आफ्नो एजेन्डा बिर्सिएर मधेसीसँग साँठगाँठमा लागेको र विधानविपरीत चलेको भन्दै छाराहाङले केही महिनाअघि नै पार्टी परित्यागको घोषणा गरेका थिए । ०७१ साल असोज १९ गते धनकुटाको भेडेटारमा पाँच लिम्बुवानवादी दलबीच भएको एकतापछि नै लिम्बुवान तीनपटक फुटिसकेको छ ।

यसैबीच मधेस आन्दोलनको पृष्ठभूमिमा तराईवासी पहाडी समुदायका नागरिकमाथि ज्यादती भएपछि त्यसको प्रतिकार गर्ने भन्दै जन्मिएको चुरेभावर पार्टीका सदस्यहरूले नयाँ तमासा प्रदर्शन गरेका छन् । केशव मैनाली नेतृत्वको चुरेभावर राष्ट्रिय एकता पार्टी फुटाएर राष्ट्रिय चुरेभावर पार्टीको घोषणा गरेका शिवप्रसाद तामाङलाई उनकै विश्वासपात्रहरूले साधारण सदस्यसमेत नरहनेगरी अध्यक्ष पदबाट गलहत्याएका छन् । तामाङमाथि कुनै बेला मैनालीलाई घात गर्ने भूमि निरौला नामक व्यक्तिसँग मिलेर पार्टी हितविपरीत क्रियाकलाप गरेको अभियोग लगाइएको छ । निरौला तिनै व्यक्ति हुन् जसलाई केशव मैनालीले सडकबाट टपक्कै टिपेर चुरेभावर पार्टीको महासचिव बनाइदिएका थिए । तर, निरौलाले पार्टी प्रवेश गरेको दुई महिनामै केशव मैनालीको पद हत्याउने कोसिस गरे । सो कार्यमा असफलता हात लागेपछि उनले समेत चुरेभावर लोकतान्त्रिक पार्टी दर्ता गरेर आफूलाई ‘अध्यक्ष’ घोषित गरेका थिए । घात–प्रतिघातको सिकार बनेका मैनाली यतिबेला ‘सन्तपथ’मा छन् भने उनको विरासतचाहिँ बाबुराम भट्टराईको कार्यकालमा महिलामन्त्री बन्ने मौका पाएका बद्री न्यौपानेले धानिरहेका छन् । न्यौपाने पनि आफूलाई निरौलापीडित बताउने गर्दछन् ।

नवपरिचित व्यक्तिहरूसँग अत्यन्त मधुर बोली बोलेर प्रभावित तुल्याउने खुवी भएका भूमि निरौला सेना र प्रहरीका उच्च अधिकारीसँग आफ्नो अन्तरङ्गी सम्बन्ध रहेको धाक दिँदै आफन्त, मित्रमण्डली तथा सीधासाधा नागरिकबाट रकम हत्याउने, अपहरणजस्ता अपराधमा समेत संलग्न रहने चरित्रका कारण एकताका एउटा सर्कलमा निकै चर्चित थिए । सशस्त्र प्रहरीका पूर्वप्रमुख सनत बस्नेतसँग त यिनको करोडौँ लेनदेनमा मुद्दा नै चलेको थियो । यिनै निरौलाको आर्थिक प्रलोभनमा परेर तामाङले पार्टीलाई अलपत्र पार्न लागेको भन्दै राष्ट्रिय चुरेभावर पार्टीका निमित्त अध्यक्ष श्याम भनेर चिनिने हेमबहादुर श्रेष्ठले शिवबहादुर तामाङलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको घोषणा गरेका हुन् । एकसिटे दलका नेतालाई छानीछानीकन प्रचण्डले मन्त्री बनाउन थालेपछि थप कुन–कुन टुक्रे दलमा फुटको पहिरो जाने हो, रोचक प्रतीक्षाको विषय बनेको छ ।