‘बाह्रखरी लौरो’ सहाराविहीन

‘बाह्रखरी लौरो’ सहाराविहीन


19 Mukti News Pic

– मुक्तिनाथ भुसाल

अर्घाखाँचीका एक विकलाङ्ग कृष्णप्रसाद पौडेलको जीवनीमा आधारित बाह्रखरी लौरो नामक वृत्तचित्रले कुनै समय राम्रै चर्चा पाएको थियो, तर चित्रको चर्चाले जीवन चल्दोरहेनछ । त्यसैले हाल कृष्णप्रसादको दैनिकी निकै कष्टकर बनेको छ । जिल्लाको ठूलापोखरा–२ रोहोटेपानीनिवासी शिवलाल पौडेलका जेठो छोराका रूपमा ०११ मङ्सिर १ गते उनी जन्मिएका थिए । सुरुमा शारीरिक रूपले तन्दुरुस्त मानिएका पौडेल ११ वर्षको उमेरमा कक्षा पाँच अध्ययन गर्दैगर्दा सामान्य बिमारी परेपछि उपचारकै क्रममा वर्ष दिनभित्रै खच्याकखुचुक बनेर बिस्तारामा थन्किन बाध्य भएका थिए । त्यसपश्चात् ०२८ सालमा उनका बुवाले घरमै विद्याश्रम सञ्चालन गर्ने क्रममा ४० जना विद्यार्थी जम्मा गरेका थिए, तर ६ महिनामै बाबुको देहान्त हुन पुग्यो । चार वर्षदेखि बिस्तरामा थन्किएका विकलाङ्गी पौडेललाई उनकी ४५ वर्षीया आमाले आँटका साथ सान्त्वना दिएपछि सोही वर्षको फागुन २५ गतेबाट घरकै आँगनमा आफना बाबुको सपना पूरा गर्ने आँटका साथ अध्यापन कार्यको सुरुवात गरेका थिए ।

अपाङ्गताको सिकार बनेका पौडेलले बाबुको भरोसामा जम्मा भएका विद्यार्थीलाई अध्यापन गराउने आँटिलो कार्य सुरु गरे पनि ४० जना विद्यार्थी सङ्ख्या ह्वात्तै घटेर ११ जनामा सीमित बनेको उनको सम्झनामा सुरक्षित छ । हातखुट्टा बिल्कुलै चलाउन नसक्ने पौडेलले गाउँका केही पढालेखालाई १५ वटा गोब्रे कागजमा ‘क’देखि ‘ज्ञ’सम्म लेख्न लगाई त्यसैलाई घोकाउन सुरु गरे । त्यसपश्चात् १ देखि सयसम्म र बाह्रखरी विद्यार्थीलाई घोकाएपछि आफ्नो नाजुक हातले धुलेपाटीमा डाम पारिदिने र त्यही डामका आधारमा विद्यार्थीले लेख्नुपर्ने बाध्यात्मक परिस्थितिले सकारात्मक प्रभाव दिलायो । उनको यस अनुकरणीय प्रयासलाई अभिभावकले प्रशंसा गर्न सुरु गरेपछि विद्यार्थी सङ्ख्यामा वृद्धि भएको कारण उनको आँगनले थेग्न सकेन, जसका कारण घरनजिकैको चौरमा पढाइ सुरु हुन पुग्यो । उल्लेखित विषयका अलावा रुद्री, चण्डी र गीताको अध्ययन कार्य एक वर्षमा सम्पन्न गरेपछि विद्यार्थी नेरा माविमा जाने गरेको र उनीहरूको क्षमताअनुसारका कक्षामा भर्ना हुने गरेको पौडेल बताउँछन् ।

आफू विकलाङ्गी भएर पनि यसरी स्थानीय तहमा शिक्षाको ज्योति जगाउने काममा लागेका पौडेलले पैसाको मुख देख्न नपाए पनि बिस्तराबाट उठाएर चौरमा र चौरबाट घरभित्र ल्याउनुको अलावा उनको खाना तथा खातिरदारीमा विद्यार्थीबाट कुनै कमी नआएको स्मरण गर्छन् उनी । समयको गतिसँगै उनले अध्यापन गराउने चौरमा ०४० सालमा भगवती प्राविको विधिवत् स्थापना भयो । तर, विद्यालयले एकजनाको पहिलो दरबन्दी ०४६ सालमा प्राप्त गरेको थियो । सोही वर्षको वैशाख ५ गतेबाट रु. ५ सय निजी स्रोतबाट अपाङ्ग पौडेलले तलब पाउन सुरु गरे । क्रमशः दरबन्दी थपिँदै जाँदा निजी स्रोतबाट रु. १८०० बुझेका पौडेल ०७० साउनमा रिटायर्ड भएका थिए । उनको बारेमा केही मिडियाले लेखेको समाचारका आधारमा दोलखाका डा. घनश्याम खतिवडा उनको सम्पर्कमा आई आफ्नोबारेमा कसैलाई केही नबताउन सुझाब दिँदै उनलाई धेरै उचाइमा पु¥याउने वचन दिएको विकलाङ्गी पौडेल बताउँछन् । केही दिनको अन्तरालमा डा. घनश्याम खतिवडाको निर्देशनमा विकलाङ्गी पौडेलको जीवनीमा आधारित बाह्रखरी लौरो नामक वृत्तचित्र निर्माण हुन पुग्यो ।

सो वृत्तचित्रलाई रिपोर्टर्स क्लब शाखा कार्यालय अर्घाखाँची र अर्घाखाँची युवा परिषद्को संयुक्त आयोजनामा वृत्तचित्र प्रदर्शनीमार्फत उठेको रकम कृष्णप्रसादको सहयोगका लागि समर्पण गरिने प्रचारसहित प्रथम प्रदर्शनी सन्धिखर्कमा सम्पन्न गरिएको थियो । अत्यधिक प्रचार वा चर्चामा रहेका पत्रकार ऋषि धमलालाई प्रमुख अतिथिका रूपमा सन्धिखर्क निम्त्याएर ०७१ पुसमा वृत्तचित्र प्रदर्शनी गरिएको थियो । वृत्तचित्र प्रदर्शनीबाट कति रकम उठ्यो यकिन जानकारी हुन नसके पनि विकलाङ्ग पौडेलले रु. १ लाख दुई हजार भृकुटी बैंकको आफ्नै खातामार्फत प्राप्त गरेको जानकारी दिएका छन् । केही समयदेखि स्थानीय शिवदेव पाण्डेको सहयोगमा काठमाडांै बसोबास गरेका पौडेललाई किन तपाईंलाई ‘बाह्रखरी लौरो’ नामाकरण गरियो भन्ने जिज्ञासा राख्दा आफू यस सम्बन्धमा अनभिज्ञ रहेको र माथि उठाएर तल गिराएजस्तो अनुभूति भएको धारणा व्यक्त गरे । उनका अनुसार वृत्तचित्र निर्माण तथा प्रदर्शनी आफ्नो भलाइका लागि नभई केही व्यक्ति तथा पात्रहरूले आफूलाई उपयोग गरेको र पत्रकार धमलाले कोरिया पठाउँछु अनि काठमाडांै गएर केही रकम पनि सहयोग गर्छु भन्ने आश्वासन दिएर त्यसपछि वास्तै नगरेको दुःखेसो गरे । साथै उनले थपे, ‘व्यस्त मान्छे, बिर्सेका हुन सक्छन्, सम्झेर अब सघाउन आइपुग्छन् कि ?’