नेपाल निलम्बनमा पर्ने खतरा

नेपाल निलम्बनमा पर्ने खतरा


अक्षम अवालेको गैरकानुनी हर्कत

Shree bikram Bhandari 4

– श्रीविक्रम भण्डारी

पछिल्लो समय नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेको गतिविधि हेर्दा उनी बक्सिङ सङ्घको अध्यक्षभन्दा अवैधानिक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको हनुमानको रूपमा देखिएका छन् । साँचो रूपमा भन्नुपर्दा अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पाको इसारा र विष्णुगोपाल श्रेष्ठको निर्देशनमा अवाले चल्दै आएका छन् । यसको ज्वलन्त उदाहरणको रूपमा बक्सिङ सङ्घको कार्यसमितिमा गरिन लागेको विस्तारलाई लिन सकिन्छ । केही समय पहिले लैनचौरमा बसेको बैठकले पनि यसलाई पुष्टि गर्छ । जहाँ वैधानिक प्रक्रियाबाट भएको नेपाल बक्सिङ सङ्घको निर्वाचनलाई अवैधानिक तुल्याउने दुस्साहस गरिनुको साथै श्रेष्ठका हुस्के र चम्चेहरूलाई भित्र्याउने प्रयास गरिएको थियो । जसले अहिलेसम्म सफलता नपाए पनि प्रयास भने जारी गरेको छ । यस्तो अवैधानिक दुस्कर्म गर्न स्वयम् अवालेले मोर्चा सम्हालिरहेका छन् । जुन नेपाल बक्सिङ सङ्घको विधान र अन्तर्राष्ट्रिय बक्सिङ सङ्घको विधानको बर्खिलाप छ । यदि अवालेले कसैको निर्देशन वा दबाबमा गैरकानुनी हर्कत गरे अर्थात् यसको बारेमा आइवामा उजुरी प¥यो भने नेपाल निलम्बित पनि हुन सक्छ । तर, विडम्कना ! अवालेको नेपाल बक्सिङ सङ्घलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुँदासमेत उनी किन श्रेष्ठको हनुमानगिरी गरिरहेका छन्, त्यो बुझ्न सकिएको छैन ।

एक वर्षअघि नेपाल बक्सिङ सङ्घको निर्वाचन वैधानिक तरिकाले भएको थियो । जसको अध्यक्ष राम अवाले बनेका थिए । र पनि, राष्ट्रिय खेलकुद परिषद् र जीवनरामको ओलम्पिक कमिटीले बक्सिङ सङ्घलाई अहिलेसम्म मान्यता दिएको छैन । अवालेलाई मान्यता नदिनुमा राखेपको कुनै स्वार्थ नभए पनि श्रेष्ठको स्वार्थ भने प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रूपमा गाँसिएको छ । जुन श्रेष्ठले बक्सिङमा गरेको हस्तक्षेपलाई आत्मसात् गर्दा सोझै अनुमान लगाउन सकिन्छ । परिणाम जीवनराम श्रेष्ठकै अभीष्ट पूरा नभएका कारणले अहिलेसम्म बक्सिङको नयाँ कार्यसमितिले दुवै संस्थावाट मान्यता पाउन सकेको छैन । जुन आफँैमा सर्मनाक कुरा हो भन्दा अतिसयोक्ति नहोला । तर, षड्यन्त्रकारी अर्थात् ‘मदारी’ जीवनराम भएको चाल पाउँदासमेत किन अवाले ‘बाँदर’झँै श्रेष्ठको इसारामा नाचिरहेका छन् ? त्यो बुझ्न सकिएको छैन । राखेप र एनओसीको निर्णयविरुद्ध प्रतिवाद गर्नु, कानुनी लडाइँ लड्नुको साटो किन अवाले श्रेष्ठको अगाडि–पछाडि लुते कुकुरझैँ पुच्छर हल्लाएर प्रस्तुत भइरहेका छन् त्यो अहिले चर्चाको विषय बनेको छ । अवालेको यही अवैधानिक हर्कतले गर्दा अहिले बक्सिङ सङ्घका पदाधिकारीमा समेत फाटो ल्याएको छ । ती पदाधिकारी अहिले अवालेको विरुद्धमा खुलेर लागेका छन् । जसको जवाफ अवालेले दिन सकेका छैनन् ।

sss

त्यतिबेला जीवनराम श्रेष्ठ एन्ड कम्पनी बक्सिङको धज्जी उडाउने षड्यन्त्रमा लागेको छ । त्यसका लागि बक्सिङका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई उनले महारथी बनाएका छन् । ती महारथीले अवालेलाई आफ्नो काबुमा राख्न शिखण्डीको रूपमा बक्सिङ सङ्घका पूर्वमहासचिव दीपक गुरुङलाई मैदानमा उतारेका छन् । दीपक गुरुङ तिनै शिखण्डी हुन् जसले नेपाल बक्सिङ सङ्घको निर्वाचन रोक्न अदालतमा मुद्दा दायर गरेका थिए । पछि अदालतले निर्वाचन रोक्नुपर्ने कुनै कारण नभएको आदेश दिएपछि उनी भिजेको मुसाझैँ बक्सिङ सङ्घको निर्वाचनमा नकचरोको भूमिकामा देखिएका थिए । आज त्यही नकचरो व्यक्तिको काँधमा बन्दुक राखेर जीवनराम श्रेष्ठ बन्दुक पड्काउने प्रयास गरिरहेका छन् । प्राप्त जानकारीअनुसार दीपक गुरुङलाई बक्सिङको कार्यसमितिमा नराखे ओलम्पिक कमिटीले मान्यता नदिने श्रेष्ठले अवालेलाई बताएका छन् । नेपाल बक्सिङ सङ्घमा कुनै प्रकारको विवाद नआओस् भनेर पूर्वअध्यक्ष राजीव श्रेष्ठले अवालेलाई अध्यक्ष बनाएका थिए । त्यसपछि अवाले बक्सिङको समग्र विकास र विस्तारमा लाग्नुको साटो चाकरीमा लाग्दा बक्सिङको यस्तो हरिविजोग भएको हो । शाश्वत सत्य के हो भने उनी स्वविवेकले होइन, विष्णुगोपाल श्रेष्ठको निर्देशनमा काम गर्छन् । जसले अवाले अक्षम छन् भन्ने कुराको सोझै पुष्टि गर्छ ।

वर्तमान अवस्थामा बक्सिङ सङ्घमा विवाद ल्याउन जीवनराम श्रेष्ठ, लामा टेन्डी शेर्पा र विष्णुगोपाल श्रेष्ठ ज्यान छोडेर लागेका छन् । त्यसका लागि उनीहरूले अवालेलाई अवैधानिक रूपमा बक्सिङ सङ्घको विधानविपरीत कार्य गर्न उस्काइरहेका छन् । उनीहरूको मुख्य रणनीति र चाहना भनेको पूर्वअध्यक्ष राजीव श्रेष्ठसँग अवालेलाई दूरीमा राख्नु रहेको छ । सोझै भन्नुपर्दा श्रेष्ठ एन्ड कम्पनी राजीव र अवाले मिलेको देख्न सक्तैनन् र चाहँदैनन् । यसर्थमा कि उनीहरूको रणनीति र चाहना अर्कै छ । उनीहरू अहिले पनि बक्सिङ सङ्घमा राम र राजीवलाई नभई विष्णुगोपाल श्रेष्ठलाई ल्याउन चाहन्छन् । यो तीतोसत्य अवालेको दिमागमा अहिलेसम्म घुसेको छैन । भविष्यमा पनि घुस्ने हो या होइन त्यसको पनि कुनै अत्तोपत्तो छैन । किनकि उनी जीवनराम एन्ड कम्पनीको हनुमान बनिसकेका छन् । विष्णुगोपाल श्रेष्ठलाई आफ्नो गडफादर मान्छन् । त्यही विष्णुगोपालले भोलि अवालेलाई अवैधानिक हर्कत गराएर अक्षम बनाउने धुनमा लागेको कुरा उनले भुसुक्कै बिर्सिएका छन् । अवाले बेलैमा नसच्चिए भोलि श्रेष्ठकै कारण अक्षम बन्ने प्रायः निश्चित छ । त्यसपछि बक्सिङ सङ्घको तदर्थ समिति पनि बन्छ, विष्णुगोपाल त्यसको अध्यक्ष बन्छन् । राखेप र ओलम्पिक कमिटी दुवैले मान्यता दिन्छन् । श्रेष्ठ आफ्नो रणनीतिमा सफल हुन्छन्, अवाले ट्वाँ पर्छन्, यसमा कुनै दुईमत छैन । तसर्थ अहिले पनि सच्चिने बेला छ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको संस्थाले जीवनरामको ओलम्पिक कमिटीको चाकरी गर्नुपर्दैन । सोझै अन्तर्राष्ट्रिय संस्थासँग सम्पर्क राखी कार्य गर्न सकिन्छ । अवालेलाई यो कुराको चेतना हुनु अति आवश्यक छ । अन्तर्राष्ट्रिय बक्सिङ सङ्घले मान्यता दिएपछि नाकको चालले ओलम्पिक कमिटीले मान्यता दिनुपर्छ । अन्यथा नदिनुको कारण पेस गर्न सक्नुपर्छ ।

आफू अध्यक्ष भइसकेपछि विधानसम्मत् आफ्नो अधिकार प्रयोग गर्न सक्नुपर्छ, र सोहीअनुरूप चल्नु पनि पर्छ । तर, अवाले यसमा असफल भएका छन् । उनले कुनै कोणबाट पनि बक्सिङलाई न्याय दिन सकेका छैनन् । मात्र जीवनराम एन्ड कम्पनीको चाकरीबाजको रूपमा देखिएका छन् । अवालेको यो हनुमानगिरीको प्रत्यक्ष नकारात्मक असर बसिङ खेल र बक्सिङका पदाधिकारीमा परेको छ । आफूखुसी चल्ने अवालेको बानीले सङ्घका पदाधिकारी उनीप्रति चिढिएका छन् । पछिल्लो समयमा नेपाल ओलम्पिक कमिटीको विवादमा अवालेले निभाएको भूमिकाले नै यसलाई प्रमाणित गर्छ । संस्थागत रूपमा चल्नुको साटो व्यक्तिगत रूपमा चलेर अवालेले आफूलाई अपरिपक्व र अक्षम भएकोमा लालमोहर लगाइसकेका छन् । अन्यथा बक्सिङ सङ्घको स्वीकृतिबेगर अध्यक्ष अवाले जीवनरामको पछाडि कदापि लाग्ने थिएनन् । श्रेष्ठको ओलम्पिक कमिटीमा ताल्चा लागेपछि उनको समर्थनमा अवाले जिल्ला प्रशासन कार्यालयदेखि एयरपोर्टसम्म बिदाइ गर्न जाने थिएनन् । परिणाम अहिले अवालेको विरुद्धमा सङ्घका उपाध्यक्ष किरण श्रेष्ठ र महासचिव सविन भट्टाचार्य खुलेर राणाको पक्षमा लागेका छन् । राखेप र ओलम्पिक कमिटीले बक्सिङ सङ्घलाई मान्यता नदिएको अवस्थामा तटस्थ बस्नुपर्ने अवस्थामा अवालेले जुन विधानविपरीत गैरकानुनी कार्य गरे भोलि त्यसको जवाफ उनले दिनुपर्नेछ । जो उगुवा उही बाटो…. भएपछि त्यस्तालाई जीवनरामले रामराम भन्न लगाउन सक्छन्, तर सङ्घका पदाधिकारीले काँध थाप्ने कुरामा विश्वास गर्न सकिँदैन । त्यो कुरा अवालेलाई चेतना हुन आवश्यक छ । अन्यथा जीवनराम एन्ड कम्पनीले अन्य सङ्घको कस्तो दुर्दशा गरेका छन् त्यस्तै बक्सिङको नहोला भन्न सकिँदैन ।