नेपाल सरकारद्वारा वासिङ्गटनमा ओबामाको सँगै आवास खरिद

नेपाल सरकारद्वारा वासिङ्गटनमा ओबामाको सँगै आवास खरिद


चालीस करोड घोटाला भएको आशङ्का

arjun

संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्गटनडीसीमा नेपाल सरकारले गत साता महल खरिद गरेको छ । डीसीमा राजदूतको सरकारी (नेपाल सरकार स्वामित्वको) आवास भए पनि दूतावासमा कार्यरत कर्मचारीहरू भाडाको घरमा बस्दै आएका थिए । एक करोड पाँच लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) मा घर खरिद गरिएपछि अब दूतावासका कर्मचारी सोही आवासमा बस्न पाउने भएका छन् । यसअघि शङ्कर शर्मा राजदूत रहँदा पनि स्टाफहरूका लागि आवास खरिद गर्ने कुरा उठेको थियो, तर खरिदका क्रममा केही आशङ्का र विवाद उत्पन्न हुन सक्ने देखिएपछि शर्मा पछि हट्नुभएको बताइन्छ ।

आँटिला मानिने राजदूत अर्जुन कार्कीले भने घर खरिद गरेर देखाइदिनुभएको छ । नेपाल सरकारका लागि अर्जुन कार्कीले खरिद गरेकै घर नजिक अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाले पनि आफू बस्नका लागि नयाँ घर संयोगवश यसै साता खरिद गर्नुभएको छ । एउटै जीपीएसमा पर्ने उस्तै बनावट र क्षेत्रफलको घरलाई ओबामाले भने ६५ लाख अमेरिकी डलर मूल्य निर्धारण गरेर खरिद गर्नुभएको बताइन्छ । ७० लाख डलर प्रारम्भिक मूल्य रहेको घर ६५ लाखमा डिल भए पनि अमेरिकी नियमअनुसार पाँच लाख डलर एजेन्टलाई बुझाउनुुपर्ने र हाउस वार्मिङ अर्थात् क्लोजिङको लागि भन्दै पाँच लाख डलर विक्रेताले खरिदकर्तालाई ‘गिफ्ट’ स्वरूप दिनुपर्ने हुन्छ । ओबामाले ‘गिफ्ट’ बापत पाँच लाख डलर विक्रेताबाट नियमानुसार प्राप्त गरेको र ओबामाप्रतिको स्नेह र सम्मानस्वरूप एजेन्टले पनि कमिसन नलिएको हुँदा ओबामालाई केवल ५५ लाख डलरमा घर प्राप्त हुन आएको छ ।

ओबामालाई झैँ नेपाल सरकारलाई पनि ‘गिफ्ट’ बापतको पाँच लाख डलर प्राप्त भएको छ र उक्त रकम कार्कीले नेपाल सरकारलाई फिर्ता पनि गरिदिएका छन् । तर, एउटै जोनिङमा पर्ने घरको बनावट, क्षेत्रफल र डिजाइन एकै प्रकारको हुने हुँदा नेपाल सरकारले मात्र करिब चालीस लाख डलर बढी मूल्य किन तिर्नुप¥यो भन्ने प्रश्न उठेको छ । नगदको मामिलामा कमजोर मानिने राजदूत अर्जुन कार्कीले घर खरिद प्रकरणमा करिब चालीस लाख डलर (अर्थात् चालीस करोडभन्दा बढी नेपाली रुपैयाँ) घोटाला गरेको आशङ्का उत्पन्न भएको छ । जानकारहरूले घर खरिद प्रकरणको विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन् ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार राजदूत कार्कीले भूकम्पपीडितहरूको नाममा उठाइएको रकममा पनि लामो हात गरेको सबुत भेटिएको छ । भियतनामी मूलका अमेरिकी नागरिकहरूबाट क्यालिफोर्नियाको लसएन्जलसमा मुख्य प्रसारण केन्द्र बनाएर सञ्चालन गरिएको टेलिभिजनले नेपालका भूकम्पपीडितलाई पाँच लाख डलर चन्दा सहयोग गरेको थियो । सो नगद बुझाउन टेलिभिजन कम्पनीका प्रतिनिधिहरू डीसीस्थित नेपाली राजदूतावासमै पुगेका थिए । रकम हस्तान्तरणपछि टेलिभिजनका तर्फबाट जारी विज्ञप्तिमा पनि पाँच लाख डलर उपलब्ध गराइएको व्यहोरा उल्लिखित थियो । तर, कार्कीले नेपाल सरकारलाई उपलब्ध गराएको विवरणमा उक्त टेलिभिजनबाट चार लाख डलर मात्र प्राप्त भएको भन्ने व्यहोरा उल्लिखित छ ।

त्यस्तै कोलोराडो र सिकागो (इलिएन्स) का केही सामाजिक संस्थाहरूले उपलब्ध गराएको करिब साढे चार लाख डलर ‘इस्ट टु वेस्ट’ नामक सामान्यस्तरको सामुदायिक बैंकमा खाता खोलेर राखिएकोमा उक्त रकम अहिलेसम्म सरकारलाई हस्तान्तरण गरेको पाइएको छैन । कार्कीले भूकम्पपीडितका लागि प्राप्त हुने सहयोग रकम सिटी बैंकमा खाता खोली जम्मा गराएको र नेपाल सरकारलाई उपलब्ध गराएको भनिएको बाह्र लाख डलर पनि सिटी बैंकबाट नेपाल बैंक लिमिटेडमार्फत प्राप्त भएको थियो ।

यद्यपि नेपाल बैंकमा करिब आठ लाख डलर मात्र जम्मा भएको, तर थप चार लाख डलर आउने क्रममा रहेको भन्दै प्रधानमन्त्री कार्यालयबाट बाह्र लाख डलर प्राप्त हुन आएको भन्ने व्यहोराको पत्र लिएको भन्ने आशङ्का पनि जानकारहरूले गरेका छन् । अहिले सिटी बैंकमा खोलिएको खाता बन्द गरिएको छ, यस सम्बन्धमा नेपाल बैंकका उच्चाधिकारीहरूसँग सम्पर्क गर्दा विस्तृत बुझेर मात्र भन्न सकिने जवाफ घटना र विचारलाई प्राप्त भएको छ । पीडितका नाममा प्राप्त हुने रकम जम्मा गर्न सिटी बैंकमा एउटा खाता खोलिसकेपछि कार्कीले ‘इस्ट टु वेस्ट’ नामक सामान्य स्तरको सामुदायिक बैंकमा अर्को खाता खोल्नुले सन्देह पैदा गरेको छ । यस सम्बन्धमा पनि सरकारले छानबिन गर्नुपर्ने देखिएको छ । भूकम्पपीडितको नाममा उठेको रकममध्येबाट करिब चालीस लाख डलरभन्दा बढी कार्कीले हिनामिना गरेको आशङ्का जानकारहरूले गरेका छन् । यस सम्बन्धमा सरकारले कसरी छानबिन प्रक्रिया अघि बढाउँछ या बढाउँदैन भन्ने प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।

Nepal-Embassy-Washington-USA