राप्रपा दिलैदेखि एक भएको छ

राप्रपा दिलैदेखि एक भएको छ


Bhakti Sitaula

– भक्ति सिटौला, केन्द्रीय सदस्य

(०३५–३६ को विद्यार्थी आन्दोलनबाट राजनीति प्रारम्भ गरेका भक्ति सिटौला नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सहमहामन्त्री भएपछि आफ्नै किसिमको परिचय बनाउन सक्षम भएका हुन् । तेह्रथुमको आठराई मुलपानीमा जन्मिएर एमबीए र एलएलबी गरेका सिटौला काङ्ग्रेसमा रहँदा महाधिवेशन प्रतिनिधिसमेत रहेका हुन् । काङ्ग्रेसजस्तो प्रजातन्त्रका लागि लड्दै आएको ऐतिहासिक पार्टीसँग निराश भई पार्टी परित्याग गरेका सिटौला राप्रपा नेपाल प्रवेश गरेका थिए । दुई राप्रपाबीचको एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेका र कुशल सङ्गठनकर्ताका रूपमा प्रशंसित नेता सिटौलासँग गरिएको कुराकानीको सार प्रस्तुत गरिएको छ ।)

० तपाईंले काङ्ग्रेस छाड्नुको कारण के होला ?
– नेपाली काङ्ग्रेस बीपी कोइरालाको विचारबाट विमुख भयो । त्यसमाथि गिरिजाबाबुको देहावसानपछि नेतृत्वविहीन पनि भयो, कार्यक्रमविहीन भयो । वर्तमान नेताहरू इतिहास बेचेर व्यक्तिगत फाइदा आर्जनतर्फ लागे । काङ्ग्रेसभित्र कार्यकर्ताको आत्मसम्मान टुटेको छ । समग्रमा नेपाली काङ्ग्रेसले इतिहासले दिएको प्रजातन्त्र पुनस्र्थापनाको जिम्मेवारी पूरा गरेपछि काङ्ग्रेसको उपादेयता समाप्त भएको छ । नीति, नेता र कार्यक्रम नभएको पार्टी अन्ततः अवसानतर्फ उन्मुख छ ।

० सारा ऊर्जाशील जीवन–खण्ड काङ्ग्रेसमा लगाएको मानिस तपाईंलाई काङ्ग्रेस छाड्दा पश्चात्ताप भएन ?
– काङ्ग्रेस छाड्दा सुरुको दिनमा अब कसरी पञ्चायतको पृष्ठभूमिबाट निर्दलीय राजनीतिमा अभ्यस्त साथीहरूसँग मिलेर काम गर्ने होला भन्ने चिन्ता नजागेको होइन । तर, तत्कालीन राप्रपा नेपालभित्र वास्तवमा एउटा प्रजातान्त्रिक शक्तिको वैकल्पिक पार्टीको निर्माण गर्न अठोट बोकेका युवाहरूको जमात जसले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र एवम् संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि अहोरात्र खट्ने साथीहरूबीच बस्दा कुनै पश्चात्ताप भएको छैन । बरु यसैमा रमेको छु ।

० राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ भनेर भेदभाव हुँदोरहेनछ ?
– हुँदैन । त्यसको एउटा उदाहरण म नै छु । देशभरिका साथीहरूको मतदानबाट म केन्द्रीय समितिमा निर्वाचित भएको हुँ । भेदभाव भएको भए यो सम्भव थिएन । विशेषतः नेतृत्वले अरू पार्टीबाट नयाँ मान्छे ल्याउँदा नै पार्टी ठूलो हुनेछ भन्ने विचार राखेको छ । सबैलाई स्वागत छ । कुनै भेदभाव हुँदैन ।

० अहिले के गर्दै हुनुहुन्छ नि ?
– अघिल्लोपटक पनि निर्वाचित केन्द्रीय सदस्यको भूमिकामा थिएँ, यसपटक पनि छु । त्यसमाथि अध्यक्षज्यूले सङ्गठन विभाग सुम्पेपछि अत्यन्त गौरवको अनुभूति भएको छ र सङ्गठन बढाउने सबै क्रियाकलापमा सक्रिय छु ।

० राप्रपा नेपाल र राप्रपाबीचको एकता महाधिवेशन नै विवादको बीचमा भयो भनिन्छ, मान्नुहुन्छ ?
– यो सत्य होइन । कुनै पनि प्रजातान्त्रिक पार्टीमा कसैलाई पनि उम्मेदवारी दिन रोक्न मिल्दैन । त्यति मात्र हो । हाम्रो एकता महाधिवेशनले राष्ट्रवादी जमातलाई एकाकार गरेको छ । वैकल्पिक प्रजातान्त्रिक शक्तिलाई मजबुत तुल्याएको छ । दुई पार्टी एक भएर हामीले सर्वधर्म सद्भावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म स्थापना गरी नेपाललाई विश्वको एक मात्र हिन्दूराष्ट्र बनाउने अठोटलाई थप ऊर्जा मिलेको छ । मुलुकलाई एकताको प्रतीकका रूपमा जोडिराख्न र बहुजाति, बहुभाषी र बहुसंस्कृतिबीचको सम्बन्ध सेतुका रूपमा राष्ट्रमा संवैधानिक राजतन्त्रको अपरिहार्यता अझ बढी सान्दर्भिक बढाएको छ । अझ बढी अङ्गीकार गरिएको छ । समग्रमा भन्दा दुई राप्रपा दिलैदेखि एक भएका छन् ।

प्रस्तुति : राजेश ढुंगाना