मधेसीलाई परगोत्री ठानेर प्रहार गरियो

मधेसीलाई परगोत्री ठानेर प्रहार गरियो


Manish Suman 5


– मनीषकुमार सुमन (नेता, मधेसी मोर्चा)

० मधेसी मोर्चालाई खुसी तुल्याउन सरकारले २ नम्बर प्रदेशमा स्थानीय तहको सङ्ख्या बढाइदिएको छ, अब तपईंहरू स्थानीय निर्वाचनमा जानुहुन्छ कि ?
– स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई सुधार गर्दै आइतबार मध्यराततिर सरकारले सार्वजनिक गरेको प्रतिवेदनको विस्तृत अध्ययन गरिसकेको त छैन, तर बीस–बाइस सिट २ नम्बर प्रदेशमा बढाउँदैमा विकृत संविधान नै सुध्रियो भन्न त मिल्दैन । त्यसैले सरकारले घोषणा गरेको स्थानीय निर्वाचनमा हामी सहभागी हुने सवाल नै निरर्थक छ । हामीले देशमा समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने मान्यता राखेका छौँ । यसअनुसार मात्र २ नम्बर प्रदेशमा सङ्ख्या बढाएर हुँदैन, जम्मा सात सय बीस हो भने त्यसमध्ये तीन सय साठी सिट पूरै मधेसमा हुनुपर्छ ।

० जनसङ्ख्यालाई आधार मानेर क्षेत्र निर्धारण गर्दा कर्णालीजस्ता विकट भूगोल भएका क्षेत्रका जनतामाथि अन्याय हुँदैन र ?
– मानवीयतामाथि ध्यान दिँदै कर्णालीमा चाहिँ भूगोलकै आधारमा स्थानीय तह निर्धारण गरिदिँदा हुन्छ, अन्यथा जनप्रतिनिधि भनेको जनताको सङ्ख्याकै आधारमा चयन गरिनु व्यावहारिक हुन्छ । यस कुरामा हामी अडिग छौँ ।

० सरकार र मधेसी मोर्चाबीच दर्जनौँपटक बैठक भएको छ, तपाईंहरूसँग छलफल गरेर नै सरकारले यो तय गरेको होइन र ?
– यही भ्रम त विडम्बनायुक्त छ ! हेर्नुस्, यो देशको लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा पटक–पटक ज्यान माया मारेरै होमिएको नागरिक हुँ म पनि । ०४६ को बहुदलप्राप्तिको आन्दोलनमा अलिक कम होला, तर ०६२-६२ को गणतान्त्रिक आन्दोलनमा त म दुईपटक जेल नै बसेँ । स्थानीय तहलाई पुनर्संरचना गर्नुपर्छ भन्दै तीन–तीनपटक मधेस आन्दोलनमा सहभागी भएको मान्छेलाई त्यो दस्तावेज कसले कहाँ बसेर कहिले लेख्यो– थाहै भएन । केही ठूलाठालू, टाठाबाठाले आफ्नो अनुकूलमा तय गर्दैमा सबैलाई कसरी मान्य हुन सक्छ ? हामी (मोर्चा) सँग छलफल गरेर तय गरिएको भनी भन्छ भने यो सरकार सरासर झुट बोल्दै छ । तीनबुँदे सहमतिअनुसार हामीले इमानदारीसाथ प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गर्न सहयोग ग¥यौँ, तर खोई प्रधानमन्त्रीले हाम्रा सहिदहरूलाई सहिद घोषणा गरेको ? खोइ त हाम्रा आन्दोलनकारी साथीहरूमाथि लगाइएको मुद्दा फिर्ता गरेको ? खोइ त संविधान संशोधन गरी सर्वस्वीकार्य बनाएको ? यी ज्वलन्त प्रश्नमाथि नजरअन्दाज गर्दै फागुन ९ गते जसरी स्थानीय तहको निर्वाचन घोषणा गरिएको छ, प्रचण्ड सरकारको यो गम्भीर भूल हो भनी हामी भनिरहेका छौँ ।

० प्रधानमन्त्री भनिरहेका छन् कि निर्वाचनको विकल्प छैन, अब देश निर्वाचनमा गइसक्यो, तपाईं कसरी यसलाई गम्भीर भूल भन्दै हुनुहुन्छ ?
– प्रधानमन्त्री स्वयम्मा विधाता होइनन्, एक व्यक्तिलाई तपाईं–हामीले नै प्रधानमन्त्री बनाउने हो, हामीले बनाएका हौँ । प्रधानमन्त्री नै सर्वेसर्वा या सबथोक त होइन होला, जनताको भावना जथाभावी कुल्चिएर राज गर्नलाई ?

० प्रधानमन्त्री पछि हट्ने ‘मुड’मा त देखिँदैनन्, तत्काल संविधान संशोधन हुन नसक्ने भन्दै उनी चुनावमा सहभागी हुन आग्रह गर्दै छन्, तपाईंहरू के गर्नुहुन्छ त ?
– हाम्रा प्रधानमन्त्री बडो विलक्षण प्रतिभाका धनी हुनुहुन्छ । उहाँका हरेक सङ्केतलाई मिहीनतापूर्वक हेर्ने हो भने उहाँ निर्वाचनबाट पछि फर्किनकै लागि यो सब नौटङ्की गरिरहनुभएको छ भनी बुझ्न सकिन्छ । यो संविधान कार्यान्वयन हुन सक्दैन भन्ने राम्रो हेक्का छ उहाँलाई । तर, यो सब लफडा किन मच्चाइरहनुभएको हो, बुझ्न सकिएन ।

० मोर्चा तयार नभए पनि मधेसमा निर्वाचन त हुन्छ भनेको छ नि सरकारले, होला ?

– सिङ्गो मधेसी तप्का सहभागी नभई कसरी निर्वाचन सम्भव छ ? मधेसका जनताको प्रतिनिधित्व गर्ने हामी जनप्रतिनिधि हौँ । हामी भनिरहेका छौँ कि मधेसमाथि यो संविधानले न्याय गर्न सक्दैन, यस्तोमा किन जोड–जबर्जस्ती गरिँदै छ ? मधेसी मोर्चा मधेसका जनताको आत्मा हो, ढुकढुकी हो । त्यसैले मोर्चाले इन्कार गरेको चुनाव मधेसी जनताले स्वीकार गर्न सक्दैनन् । समस्याको हल नभएसम्म चुनावको रट लगाउनु व्यर्थ छ । मौजुदा हालतमा मधेसमा मात्र होइन हिमाल र पहाडमा पनि निर्वाचन सम्भव छैन ।

० होइन, तपाईंहरू किन निर्वाचनको यति धेरै विरोधी ?
– लोकतन्त्रप्रति आस्था राखेर राजनीतिमा होमिएको कुनै कार्यकर्ता र दलका लागि निर्वाचन वितृष्णाको विषय या अस्वीकार्य हुन सक्दैन । दैनन्दिन देशमा एउटा राजनीतिक कार्यकर्ता या दलले गर्ने काम निर्वाचनउन्मुख नै हुन्छ भन्ने हेक्का राखिनुपर्छ । हामीले दिनहुँ गर्ने हरेक सामाजिक, राजनीतिक काम सबै निर्वाचनउन्मुख नै हुन् । लोकतन्त्रको सुन्दरता नै आवधिक निर्वाचन हो । यो मुलुक बिग्रनुको एक मूल कारण आवधिक निर्वाचन नभएर हो भन्नेमा हामी प्रस्ट छौँ । तर, बन्दुकमा मधेसी जनताका रगत लत्पत्याउँदै जारी गरिएको संविधानको आडमा कसरी निर्वाचन सम्भव हुन्छ ? यसरी जबर्जस्ती गरेर संविधान कार्यान्वयनको सन्देश दिन खोजेको हो भने यो असम्भव छ ।

० आगामी माघ ७ भित्रै तीन तहको निर्वाचन सम्पन्न भइसक्नुपर्छ भनी संविधानमा लेखेको थाहा छ कि छैन तपाईंलाई ?
– यो संविधान जबर्जस्ती जारी गर्दा हस्ताक्षर गरेकाहरूले भन्दा पनि बढी मैले पढेको छु । कहाँ के लेखिएको छ जानेर नै विरोध र अस्वीकार गर्नुपरेको हो । यो कुनै समुदायविशेषको संविधान हो भनेर मधेसी मोर्चाले भन्दै आएको पुनः स्मरण गराउन चाहन्छु । हामीले यो संविधान मानेका छैनौँ, जबसम्म संविधान स्वीकार्य हुँदैन तबसम्म यसअन्तर्गतका कुनै चुनावको सवाल नै रहेन नि । यो समस्त नेपाली जनताको संविधान हुन सकेको छैन । सबैको संविधान हुन्थ्यो भने आधा नेपाली भूभागमा कफ्र्यु लगाएर किन जारी गर्नुपथ्र्यो र ? जारी गरेकै दिन पाँचजना मधेसी जनताले सहादत दिनुपर्दैनथ्यो होला, त्यो दौडानमा पैँतालीसजना मधेसी र अन्य समुदायका समेत गरी एकहत्तर–बहत्तरजना नेपालीले ज्यान गुमाउनुपर्दैनथ्यो होला, यदि यो संविधान समस्त नेपाल र नेपालीको भइदिएको भए ।

० तपाईंहरू अन्यत्रैबाट सञ्चालित हुनुहुन्छ, नेपाल र नेपालीको एजेन्डा बोक्नुहुन्न भन्ने आरोप छ नि एमाले नेताहरूको ?

– हामी कसैबाट सञ्चालित नभई सतप्रतिशत स्वचालित हौँ । हामी नेपाली जनताको सञ्चालनमा हिँडेका छौँ, मधेसी जनताले दिएका आदेश मानेका हौँ । जहाँसम्म एमाले नेताहरूले लगाएको आरोपको सवाल छ, एमालेलाई हामीले भनेका हौँ कि मौजुदा हालतमा तपाईंहरू मधेस नजानुहोस् । तपाईंहरूले हिजो मधेस र मधेसी जनतालाई अत्यन्त नमिठो आरोप लगाउनुभएको छ । असभ्य र अमर्यादित बोली बोल्नुभएको छ । कहिले तिमीहरू काले हौ त्यसैले कालो दिवस मनाउँछौ भन्ने, कहिले माखे हौ त्यसैले माखेसाङ्लो बनाउँछौ भन्ने र कहिले तिमीहरू धोती लगाउने भएकाले धोती प्रदेश खोज्यौ भन्दै अपमानजनक शब्द प्रयोग गरी मधेस र मधेसीको अवहेलना गरिएको छ । संस्थागत रूपले नै मधेसी जनतामाथि एमाले अमर्यादित तवरमा उत्रिएको छ । हामी मिथिलावासी अतिथि सत्कारमा कहलिएका छौँ र पनि आज एमालेको असैह्य बोली र व्यवहारका कारण आफ्नो भूमिमा नआऊ भन्न विवश भएका छौँ । मधेसी जनता एमालेलाई मधेस नटेक भन्न बाध्य भएका छन् ।

० प्रधानमन्त्रीले एमालेको अभियान नबिथोलिदिनुस् भनेर आग्रह गरेका छन्, तपाईंहरू अटेर गर्ने ?
– प्रधानमन्त्रीजी त्यतिबेला कहाँ हुनुहुन्थ्यो जतिबेला इटहरीमा लोकतान्त्रिक मधेसी मोर्चाको स्टेज भत्काइयो । त्यहाँ जब हाम्रा नेता महेन्द्र यादवमाथि भौतिक आक्रमण गर्न त्यहाँका समुदाय उठेर आउँदा प्रधानमन्त्री के हेरिरहनुभएको थियो ? प्रधानमन्त्री भएर आफ्ना ‘सगोत्री’बारे बोल्ने ‘परगोत्री’का बारेमा नबोल्ने गर्न मिल्छ ? सुरक्षाकर्मीले पनि सगोत्रीलाई गोली नचलाउने परगोत्रीलाई ताकी–ताकी ठोक्ने गरेको अभिशाप व्यहोरेका हौँ हामीले । त्यसैले यस्तो नगरी न्याय, समानता र मानवताका आधारमा व्यवहार गर्न हामी सबै पक्षसँग आग्रह गर्दछौँ ।

० मधेस त सबै नेपालीको हो, सबै दलको हो, तपाईंहरू आफ्नै मात्र जस्तो बोली र व्यवहार किन गर्नुहुन्छ ?

– त्यही त ! देश सबै नेपालीको हो, तर संविधान लेख्दा खस–आर्य या खास समुदायको लागि मात्रै लेखिन्छ । मधेसलाई पराया व्यवहार गरिन्छ । यसो भएपछि मधेस र मधेसी जनताका लागि बोलिदिने कसले त ? के सदियौँदेखि दबिएका, पिल्सिएका मधेसीले अझै हेपिएरै बाँच्नुपर्ने ?