खेलकुद पत्रकार मञ्चको दादागिरी

खेलकुद पत्रकार मञ्चको दादागिरी


खेलकुद पत्रकार मञ्च

नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारीले खेलकुदमा गर्दै आएको दादागिरी कसैबाट छिपेको छैन । उनीहरूले चर्चित सञ्चारमाध्यमको आडमा खेलकुदमा दादागिरी गर्दै आएका छन् । विगत डेढ दशकदेखि खेलकुदमा सिन्डिकेट चलाउँदै आएका मञ्चका पदाधिकारीले आफ्नो स्वार्थ पूरा गर्न साम, दाम, दण्ड, भेद चारै नीतिको अवलम्बन गरेका छन् । जसका लागि उनीहरूले खेलकुदका कर्मचारी र पदाधिकारीलाई धम्क्याउन र थर्काउनसमेत बाँकी राखेका छैनन् । खेलकुद पदाधिकारीसँग साँठगाँठ गर्दै ‘हन्डी’को स्वाद चाख्नेमा कीर्तिमान रचे पनि दुधले नुहाएको पात्रका प्रस्तुत हुने उनीहरूको असफल प्रयत्न रहिआएको छ । केही वर्षयता राज्यको ढुकुटीमा समेत अंसियारी र हकदाबी गर्दै आएका मञ्चका पदाधिकारीले हालै मलेसिया भ्रमणका क्रममा राष्ट्रिय खेलकुद परिषद्सँग टिकटका लागि गरेको बार्गेनिङले पनि उल्लेखित कुरालाई पुष्टि गर्छ ।

मलेसिया भ्रमण मञ्चका पदाधिकारीको नितान्त व्यक्तिगत थियो । त्यो राज्यका लागि कुनै चासो र सरोकारको विषय थिएन । यसर्थमा कि त्यहाँ कुनै अफिसियल वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको थिएन । त्यहाँ केवल एआईपीएस एसिया कङ्ग्रेसको बैठक थियो । साँचो अर्थमा भन्नुपर्दा त्यो मञ्च पदाधिकारीको व्यक्तिगत पाटो थियो । र पनि उनीहरूले आफ्नो दादागिरी राखेपमा लाद्न कुनै कसर बाँकी राखेनन् । व्यक्तिगत भ्रमणका लागि राखेपबाट तीन–तीनजनाको टिकट काट्न लगाएर राज्यको ढुकुटीमा धावा बोल्न पछि परेनन् । अब प्रश्न उठ्छ– राज्यको ढुकुटी खेलकुदमा खेलकुदको विकास गर्न आएको हो कि मञ्चका पदाधिकारीलाई पोस्न ? यसको जवाफ राखेपका सदस्यसचिव केशवकुमार विष्टले दिनुपर्नेछ । प्राप्त जानकारीअनुसार राखेपले एआईपीएसको बैठकमा भाग लिन गएका मञ्चका अध्यक्ष महेश आचार्य, पूर्वअध्यक्षद्वय निरञ्जन राजवंशी र अजय फँुयाललाई मलेसिया भ्रमणको लागि आतेजाते टिकट उपलब्ध गराएको थाहा भएको छ । जुन टिकटको मूल्य लगभग डेढ लाख पर्ने परिषद्का कर्मचारीले बताएका छन् । राखेपका प्रेस सल्लाहकार रोहित दाहालसँग सम्पर्क गर्दा उनले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । यो सबै सदस्यसचिवले गर्नुभएको हो । एउटासम्म त ठीकै हो, तीनवटाको बारेमा मलाई थाहा छैन । म त्यतिबेला महासङ्घको कार्यले जिल्लामा थिएँ । प्राप्त जानकारीअनुसार सल्लाहकार दाहालले सातौँ राष्ट्रिय प्रतियोगितामा मञ्चको सिन्डिकेट तोड्दै विभिन्न मिडियाका सञ्चारकर्मी लगेपछि उनीहरूबीचको सम्बन्ध चिसिएको थियो । यसरी आफ्नो एकाधिकारमा दाहाल तोडेपछि मञ्चका पदाधिकारीले दाहाल राखेपमा रहुन्जेल खेलकुदमा पाइला नटेक्ने कसम खाएको पनि स्रोतले जानकारी गराएको छ । राज्यको लगानी, सरकारको आयोजना तर सञ्चारकर्मी भने मञ्चका पदाधिकारीको सिफारिसमा जानुपर्ने यो कस्तो विडम्बना ! आखिर मञ्चका पदाधिकारीले खेलकुदमा गर्न खोजेको के हो ? त्यो आफूले बुझ्न नसकेको परिषद्का कर्मचारीले बताए ।

मञ्चले बजेट विनियोजन गरेरै राखेपबाट वार्षिक ६ लाख रुपैयाँ लिने गरेको छ । जसमा पल्सर अवार्डको लागि तीन लाख र मञ्चको कोषका लागि तीन लाख रहेको छ । यसबाहेक मञ्चले पदाधिकारीले विदेश भ्रमणका लागि छुट्टै रकम र भत्ता लिने गरेको परिषद्का कर्मचारीले बताएका छन् । ती कर्मचारीले मञ्चले वार्षिक रूपमा राखेपबाट २० देखि २५ लाखसम्म लिने गरेको बताएका छन् । त्यसमा प्रायजसो हवाई टिकट, भ्रमणभत्ता र आर्थिक सहयोग रहेको पनि खुलासा गरे । ‘फोनको भरमा सबै कुरा हुन्छ, उनीहरूले कुनै आवश्यक कागजपत्र पनि पेस गर्नुपर्दैन । देश नै यसरी चलेको छ, खेलकुदको के कुरा गर्नु ? जसले जे गरे पनि भएकै छ,’ ती कर्मचारीको गुनासो थियो । मलेसिया जाँदा पनि उनीहरूले टिकटका लागि निवेदन दिए–दिएनन् त्यसबारे पनि उनले अनविज्ञता प्रकट गरेका छन् ।

मञ्चका पदाधिकारी बाहिर गफ चुट्न माहिर छन् । अहिलेसम्म कसैले कुनै किसिमको सहयोग नगरेको दाबी गर्छन् । राखेपसँगको सम्बन्धलाई छत्तीसकै आँकडामा राख्छन् । तर, यो उनीहरूको रणनीति मात्रै हो, यसमा सत्यताको एक अंश पनि छैन । जुन संस्था हिजो गणेश थापा सहयोगमा चलेको थियो, त्यसले कसैले सहयोग गरेको छैन भन्नुमा पनि अर्थ छ । थापाकै भाषामा भन्नुपर्दा उनी खेलकुद पत्रकार मञ्च मेरो हो भन्थे । यसको कारण र रहस्य होला । अन्यथा अर्काको संस्थालाई मेरो कसैले भन्दैन । अझ पत्रकारको संस्थालाई यसो भन्ने कसैले दुस्साहस गर्दैन । यहाँ अवश्य खिचडी पाकेको छ । जो थापा र मञ्चका पदाधिकारीलाई थाहा छ । थापाले थुप्रै वर्ष मञ्चको भाडा तिरेको खुलासासमेत गरेका थिए । सोही कारण उनी मञ्चका पत्रकारलाई आफ्नो झोलीका पत्रकार ठान्थे । अहिले मञ्च राखेपले दिएको अनुदानबाट चलेको छ । यो सहयोग हो कि होइन ? त्यसको जवाफ मञ्चका पदाधिकारीसँग अवश्य होला । अर्को कुरा मञ्चका पदाधिकारी सहयोगप्रति निकै उदार छन् । सहयोग भनेपछि हुरुक्क हुन्छन्, ¥याल चुहाइहाल्छन्, हात थापिहाल्छन् ।

यसको उदाहरणको रूपमा भूकम्पपीडित पत्रकारलाई जुडो सङ्घले प्रदान गरेको नगद सहयोगलाई लिन सकिन्छ । मञ्चमा हालिमुहालीदेखि विदेश भ्रमण गर्नमा नम्बर एकको स्थानमा रहेका निरन्जन राजवंशी, अजय फुँयाल र महेश आचार्यले भूकम्पपीडित पत्रकारको लिस्टमा पनि नम्बर एककै स्थान प्राप्त गरेका थिए । उनीहरूले जुडो सङ्घले प्रदान गरेको २५ हजार बुझ्दा समज्ञ लाकौल, गोविन्द रेग्मी, मनोज घिमिरे र विष्णु थापा अन्योलमा परेका थिए । यसर्थमा कि यी चारजना वास्तविक भूकम्पपीडित पत्रकार थिए । उनीहरूको नाम पत्रकार महासङ्घ, ओलम्पिक कमिटीमा पनि थियो । उनीहरूले यहाँबाट पनि राहत पाएका थिए । तर, अन्य ठाउँमा राजवंशी, फँुयाल र आचार्यको नाम नहुने जुडो सङ्घमा मात्रै किन प¥यो त्यसको चर्चा अहिलेसम्म सेलाएको छैन र भविष्यमा पनि सेलाउने छैन । अन्यथा भण्डाफोरले रातदिन भूकम्पपीडित पत्रकार भनेर टीका–टिप्पणी गर्दा पनि उनीहरूले किन मौनता साँधेका छन् ? प्रश्न तेर्सिएको छ । यसको जवाफ जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले नदिए पनि मञ्चको सिफारिसमा राजवंशी, फुँयाल र आचार्यलाई उक्त राहत सहयोग प्रदान गरिएको जुडो सङ्घका एक पदाधिकारीले बताएका छन् । उनले भने, ‘हामीले मञ्चसँग भूकम्पपीडित पत्रकारको नामावली मागेका थियौँ, मञ्चले यिनै नाम सिफारिस गरेर पठायो, हामीले राहत दियौँ, यसमा हाम्रो केही गल्ती छैन ।’

अर्को महत्वपूर्ण कुरा आफूलाई अब्बल दर्जाको सञ्चारकर्मी भन्ने मञ्चका पदाधिकारीलाई नेपाल खेलकुद पत्रकार मञ्चको इतिहास नै थाहा छैन । अन्यथा तदर्थ समितिको संयोजकलाई अध्यक्ष भनेर सीताराम अग्रहरिलाई कदापि सम्मानित गर्ने थिएन । मञ्चको पहिलो निर्वाचित अध्यक्ष को हो ? श्रीविक्रम भण्डारी हो कि होइन ? त्यो सीताराम अग्रहरि, मुकुन्द दाहाल, मुकुन्द बोगटी, क्षितिजअरुण श्रेष्ठ, राजीव आचार्य, संगीता लामा, पी. खरेल र अजय राणा जोकोहीलाई सोधे पनि थाहा हुन्छ । तर, जसले अहिले साँवाको ब्याज खाइरहेका छन् तिनीहरूले नै मञ्चको इतिहासमा कालो पोत्ने दुस्साहस गरेका छन् । जुन मञ्चको भविष्यका लागि कदापि सुखद मान्न सकिँदैन ।

– श्रीविक्रम भण्डारी