यसरी हुर्कंदै थियो आगो

यसरी हुर्कंदै थियो आगो


सप्तरीको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियान सुरु गर्दा सप्तरीमा भने एमालेविरुद्ध आगो फुकिँदै थियो । फागुन २३ गते एमालेको अभियान सप्तरी पुग्ने कार्यक्रम भए पनि २० गते शुक्रबारदेखि नै सप्तरीको राजविराज तनावग्रस्त थियो । उक्त दिन एमालेका जिल्ला सचिवलाई मोसो दलेपछि स्थिति तनावग्रस्त बनेको थियो । मोसो दल्नुअघिदेखि नै मधेसी मोर्चाका कार्यकर्ता कालोझन्डा लिएर सहर परिक्रमा गरिरहेका थिए । मोटरसाइकलमा कालोझन्डा लिएर गुड्नेहरूको सङ्ख्या पनि ठूलै थियो । बजार क्षेत्रमा माइकिङ पनि जोडतोडले भइरहेको थियो । माइकिङ सुन्दा एमालेप्रति भन्दा बढी केपी ओलीप्रति आक्रोश देखिन्थ्यो । केपी ओली के कार्यक्रम विफल कर के…भन्ने भाषा प्रयोग गरिएको थियो । एमाले शब्दको कमै प्रयोग भएबाट मोर्चाको लडाइँ एमालेभन्दा बढी केपी ओलीसँग हो भन्ने बुझिन्थ्यो । बजारमा मानिस भनिरहेका थिए– अब लालझन्डा र कालोझन्डाबीचको लडाइँमा कति सर्वसाधारण पर्ने हुन् यसै भन्न सक्ने अवस्था छैन ।

कामविशेषले राजविराज पुगेकी यस पङ्क्तिकारलाई स्थानीय फलफूल व्यवसायीले भनेका थिए, ‘केपी ओलीलाई नआउन भन्न सकिँदैन ? हामीलाई त फेरि गाह्रो हुने भयो । केपी ओलीबाहेक अरू आए के होला ?’ भन्ने प्रश्नमा उनले भनेका थिए, माधव नेपाललाई विरोध हुँदैन कि ? अनि केपी ओलीलाई चाहिँ किन नि ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘केपी ओली त मधेसविरोधी हुन् नि त ?’

‘यो मुलुक न राजा ज्ञानेन्द्रका कारणले बिग्रिएको हो न सीके राउत, यिनै राजनीतिक दलले देश बिगारेका हुन्,’ पत्रकार जितेन्द्र झाले भने । राजधानीका मिडिया भन्छन्, ‘निर्वाचनको माहोल बनाऊ, त्यहीअनुसारका समाचार पठाऊ, तर यहाँ माहोल नै छैन कसरी माहोला बनाउनु ? एउटा पत्रकारको रूपमा माहोल बनाउने कि वास्तविकता छाप्ने ?’ मधेसमा रहेर केही राष्ट्रिय दैनिकमा काम गर्ने पत्रकारका लागि ठूलो चुनौती पनि छ । आफूले एकथरी समाचार बनायो अर्कोथरी बनेर आउँछ, कहिलेकाहीँ त समाचार नै आउँदैन ।

मधेसका जनता र नेताबीचको ‘इन्ट्रेस्ट’ फरक छ भनेर बुझ्नेहरूका लागि त्यो बुझाइ नै सत्य नहुन सक्छ । मुलुकका अन्य भागमा झैँ सर्वसाधारण कुनै न कुनै दलको पकडमा छन् र वास्तविकता बुझ्दै नबुझी दौडिनेहरूको हुल मुलुकको अन्य स्थानमा झैँ मधेसमा पनि छ । अन्ततः लालझन्डा र कालोझन्डाबीचको लडाइँमा चारजनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । मधेस तनावग्रस्त छ । यसअघिको वातावरण बुझेर त्यहाँ एमालेले आमसभा गरेको भए यस्तो अवस्था हुने थिएन भन्न सकिन्छ । तीन दिनअघिदेखिको तनावग्रस्त वातावरण यतिसम्म थियो कि गाडीमा यात्रा गरिरहेकाहरूलाई रोकेर गाडीभित्र कोही एमाले छ कि भनेर सोधिएको थियो । मुलुकका धेरै ठाउँमा जाँदा कतै देखाउनु नपरेको प्रेसपास यो पङ्क्तिकारले राजविराजमा देखाउनुपरेको थियो । आन्दोलनकारीहरू केवल एमालेलाई ‘टार्गेट’ बनाउँदै थिए ।

– बबिता बस्नेत