भरतको सपना

भरतको सपना


bHarat lal Nyachhyo

ललितपुर उपमहानगर चोला बदलेर महानगरमा रूपान्तरित भएको छ । काठमाडौं उपत्यकाभित्र बसोबासका लागि सर्वाधिक उपयुक्त मानिने ललितपुर कुनै समय वामपन्थी कम्युनिस्टहरूको एकछत्र प्रभाव भूमि मानिन्थ्यो । नेपाली काङ्गे्रसका संस्थापक एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईदेखि नेताहरू योगप्रसाद उपाध्याय, ओमकारप्रसाद श्रेष्ठ, वासु रिसाल र बेनीबहादुर कार्कीसम्मको वासस्थल रहेको ललितपुरको रूप र आकार परिवर्तन हुँदै जाँदा त्यहाँका जनताले दिने अभिमतमा पनि बदलाव आएको छ । जनताको चेतनास्तर बदलिएकै कारण ललितपुरको तीन संसदीय निर्वाचन क्षेत्रमा पहिलोपटक प्रजातन्त्र पक्षधर मानिने नेपाली काङ्गे्रसले विजयी झन्डा फहराएको मानिन्छ । यतिबेला ललितपुरमा महानगरको प्रथम मेयर बन्ने सौभाग्य कसलाई प्राप्त होला भन्ने चर्चा–परिचर्चा सुरु भएको छ र त्यसरी चर्चामा आएकाहरूमध्ये एक हुन् नेपाली काङ्गे्रसका नगरनेता भरतलाल न्ह्याछयों ।

वि.सं. २०३५ सालदेखि नेपाली काङ्गे्रससँग जोडिएर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका भरतले जनमतसङ्ग्रहका बेला बहुदलीय व्यवस्थाको पक्षमा प्रचार गर्ने क्रममा प्रहरी हिरासतको यातना भोगेका थिए । हाल काङ्गे्रसको महाधिवेशन प्रतिनिधि रहेका भरतलालले दुई कार्यकाल ललितपुर नगरसमिति सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् भने जिल्ला समितिको सहसचिव भएर पनि उनले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका हुन् । राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको अध्यक्षको रूपमा समेत काम गरिसकेका भरतलाललाई ललितपुरमा एक सरल, भद्र र इमानदार राजनीतिकर्मीका रूपमा लिइन्छ । आफू राजनीतिमा प्रवेश गर्नुको कारणबारे जिज्ञाशा राख्द उनी भन्छन्, ‘पञ्चायती व्यवस्था प्रजातान्त्रिक चरित्रको थिएन, म आफूलाई प्रजातन्त्रवादी ठान्दथेँ । त्यसैले पञ्चायती शासन अन्त्य गर्ने कुराबाट पे्ररित भएर म राजनीतिमा प्रवेश गरेको हुँ ।’

पञ्चायत ढलेपछि देशको परिस्थिति झन्झन् खराब हुँदै गयो भनिन्छ नि भन्ने प्रश्नमा भरतको जवाफ छ, ‘मलाई पञ्चायत ढल्नुपर्ने थिएन भन्ने त लाग्दैन । तर, दुई दशकदेखि स्थानीय निर्वाचन हुन नसक्दा प्रजातन्त्रको जग कमजोर भएको छ । जनताले सेवा लिन कर्मचारी र सभासद्को मात्र भर पर्नुपर्ने स्थिति ठीक होइन । लोकतन्त्र बलियो बनाउने हो भने स्थानीय निर्वाचन अनिवार्य रूपमा हुनैपर्ने ठान्दछु म ।’ स्थानीय निर्वाचनको मिति घोषणा भएको छ र ललितपुरलाई महानगरमा रूपान्तरण पनि गरिएको छ र ललितपुरलाई महानगरमा रूपान्तरण पनि गरिएको छ ।

अब ललितपुरलाई कस्तो बनाउने सपना तपाईंले देख्नुभएको छ भन्ने घटना र विचारको प्रश्नमा भरत भन्छन्, ‘ललितपुर महानगरमा तीन प्रकारका विशेष क्षेत्रहरू छन् । कोर एरिया, चक्रपथ आसपासका नयाँ बसोबास क्षेत्र र ६ वटा गाउँहरू (धापाखेल, सुनाकोठी, हरिसिद्धि, खोकना–बुङ्मती र सैंबु–भैंसेपाटी) छन् । यी तीन किसिमका क्षेत्रमा कतिपय समान समस्या छन् भने कतिपय विशिष्ट प्रकारले समाधान गर्नुपर्ने समस्या छन् । पुरानो कोर एरियामा सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्नुपर्नेछ भने अन्य दुई क्षेत्रमा व्यवस्थित सडक र ढल व्यवस्था गरी खानेपानीलगायतका समस्या समाधान गर्नुपर्ने हुन्छ । ६ वटा गाउँमा गाउँबाटै महानगरको सेवा उपलब्ध हुन आवश्यक छ । ललितपुरलाई वातावरणमैत्री र बालमैत्री बनाउँदै सर्वधर्म, लैङ्गिक समानता र सहअस्तित्वका निम्ति विशेष कार्यक्रम बनाउनुपर्ने आवश्यकता छ । महानगरको सेवाका लागि आधुनिक प्रविधिको विकास गर्नुपर्ने हुन्छ । ललितपुरलाई एक सुविधासम्पन्न आधुनिक सहरका रूपमा विकास गर्ने मेरो सपना छ ।’