अनुचित ‘संशोधन प्रस्ताव’ पारित हुँदैन

अनुचित ‘संशोधन प्रस्ताव’ पारित हुँदैन


yovraj gyawali

– युवराज ज्ञवाली (एमाले उपाध्यक्ष)

० नेकपा एमाले त मधेसविरोधी दलको रूपमा चिनिन थाल्यो नि, तपाईंको पार्टी किन यसरी मधेसविरोधी बनेको ?
– कसैले बनाउँदैमा एमाले मधेसविरोधी बन्न सक्दैन । नेकपा एमाले मधेस र मधेसी जनताको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो । धेरै पहिलेदेखि मधेसको पक्षमा लाग्दै आएको, मधेसी जनताको हक–अधिकारका लागि सङ्घर्ष गर्दै आएको पार्टी हो एमाले । यति मात्र नभई यो देशका शोषित, पीडित, अल्पसङ्ख्यक, जनजाति, मुस्लिम, दलित समस्त जनताको पक्षमा लाग्दै र लड्दै आएको पार्टी हो एमाले ।

० तपाईंले यस्तो दाबी गरे पनि एमालेका पछिल्ला व्यवहारले त मधेसविरोधी पार्टीकै पहिचान बनाइरहेको छ, होइन र ? मधेसी नेताहरूको व्यवहार नै मधेसी जनता मराउने खालका छन् भनेर एमाले अध्यक्ष केपी ओली किन चिढ्याउने कुरा गर्नुहुन्छ ?
– मधेसमा राजनीति गर्ने केही मान्छेले पार्टीका नाममा स–साना पसल खोलेका छन् र ती पसलमा केही मानिस जम्मा भएका छन् । उनीहरू मधेसी जनताको नाममा आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छन्, गरिरहेका छन् । उनीहरूको व्यवहारमाथि हामीले मात्र होइन सचेत जनता सबैले टीका–टिप्पणी गरिरहेका छन् । लाखौँ लाख जनता, जसमा लाखौँ मधेसी नागरिक पनि छन्, तिनले मत दिएर बनेको एमालेजस्तो दलले मधेसका जनताको अनादर गर्ने कुरै आउँदैन । कसैले आरोप लगाउँदैमा एमाले मधेसविरोधी हुने होइन ।

० अध्यक्ष ओली त निकै तिखा विशेषण लगाएर घोच्नुहुन्छ नि मधेसवासीलाई, नागरिकता चकलेट बाँडेजस्तो होइन भन्दै मधेसी नागरिकलाई नागरिकताबाट वञ्चित गर्न खोजिएको किन होला ?
– बोल्ने आ–आफ्नो शैली हुन्छ, तर कसैलाई घोचपेच गर्नुपर्ने कुरै छैन । जहाँसम्म नागरिकताको कुरा छ, यो चकलेट बाँडेजस्तो बाँड्न मिल्ने कुरा त होइन नि । देशमा जन्मिएकाले मात्र स्वदेशलाई माया गर्दारहेछन् । देशलाई माया गर्ने, देशप्रति भक्तिभाव या श्रद्धा भएका व्यक्तिमा मात्र मुलुकप्रति आस्था हुँदोरहेछ । जो यस देशमा जन्मेकै छैनन् तिनलाई पटक्कै नेपालको माया र आस्था नहुँदोरहेछ । कैयन उदाहरणले यही प्रस्ट्याएको छ । तथापि, कसलाई कुन विधिबाट नागरिकता प्रदान गर्ने भन्ने कुरा संविधानले तोकिदिएको छ । त्यसअनुसार नागरिकता पाउनुपर्नेले पाइहाल्छन् । एमालेले मात्र कसैलाई वञ्चित गर्ने या कसैलाई बाँड्ने भन्ने सवालै आउँदैन । यसमा बखेडा गर्नुपर्ने के छ र ?

० अन्तरिम संविधानको भावनाअनुसार नागरिकता पाउनुपर्ने दाबी छ नि मधेसी मोर्चाका नेताहरूको, के भन्नुहुन्छ ?
– नेपालको संविधानले जे व्यवस्था गरेको छ त्यो व्यावहारिक र पर्याप्त छ नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनका लागि । नयाँ संविधान बनेपछि अन्तरिम संविधान विस्थापित भइसकेकाले अब त्यो कोट्याइरहनु निरर्थक हो । नब्बे प्रतिशत जनताको समर्थन र सहमतिमा संविधान बनिसकेको छ, अब संविधानले जे व्यवस्था गरेको छ त्यसअनुसार सबै हक–अधिकार भोग्न स्वतन्त्र छन् नेपाली । दश प्रतिशतजतिले संविधानका केही बुँदामा चित्त बुझएका छैनन्, तर नब्बे प्रतिशत जनताका प्रतिनिधिले भनेपछि मान्नुपर्छ । लोकतन्त्रमा दश प्रतिशतले जता चाह्यो मुलुक त्यतै बहकिन सक्दैन, मिल्दैन । आफूखुसी कसैले डो¥याउन पाइँदैन, लोकतन्त्रको मूल्य–मान्यता मान्ने हो भने यस्तो चल्दैन ।

० मधेसी मोर्चाको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा संसद्मै पचहत्तर प्रतिशत सङ्ख्या पुगिसकेको दाबी गरिएको छ नि त ?
– मधेसका केही दलहरू त्यसमा लागिरहेका छन्, तर यो हुने कुरा होइन । मौजुदा परिस्थितिमा संविधान संशोधन हुन सक्दैन, यो आवश्यक नै छैन ।

० मधेसका दल मात्र किन, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सबै लागिरहेका छन् नि संशोधनको पक्षमा ?
– ठीकै छ नि त, संसद् चलिरहेको छ, संसद्ले नै टुङ्ग्याउला नि संशोधन प्रस्ताव कति उचित या अनुचित रहेछ भन्ने कुरा त । संसद्मा यो प्रस्ताव असफल हुने निश्चित नै छ । त्यसमा टाउको दुखाइरहनैपर्दैन । बरु अहिले हामी मधेसी जनताकै पक्षमा मेची–महाकाली अभियानमा लागिरहेका छौँ । लाखौँ जनता एमालेको यस अभियानमा सरिक भइरहेका छन् । यसमा मधेसी जनताको ठूलो पङ्क्ति पनि छ । यसरी हामी मधेसी जनताको पक्षमा क्रियाशील छौँ । हजारौँ हजार मधेसी जनताले एमालेको यस अभियानलाई आत्मसात् गरेका छन्, साथ दिएका छन् ।

० तपाईं यसो भन्नुहुन्छ, तर मधेसमा त एमालेको साख गिरेकै छ भन्छन् विश्लेषकहरू ?
– गिरेको छैन बरु झन् उँचो भएको छ मधेसमा एमालेको साख । जसले साख गिरेको कुरा गर्छन् ती पूर्वाग्रहवश यस्तो भनिरहेका होलान् ।

० सप्तरी घटनाले एमालेको साखमा धक्का पु¥याएन र ?
– सप्तरीमा मधेसका केही पार्टीले जनता उरालेर अनाहकमा निर्दोष जनता मार्ने प्रपञ्च गरे । यो निन्दनीय कुरा हो । जनता मर्नुपर्ने वातावरणको सिर्जना मधेसवादी भन्ने दलहरूकै कारण भएको हो, एमालेबाट होइन । एमालेले कसैमाथि ढुङ्गा हानेको छैन, एउटा लट्ठी पनि एमालेले कसैमाथि प्रहार गरेको छैन । एमालेले हजारौँ हजार जनताको सहभागितामा शान्तिपूर्ण तवरले आफ्नो अभियान सञ्चालन गरेको हो, गरिरहेको छ ।

० विदेशबाट भित्रिएका तेह्रवटी मधेसकी बुहारी सांसद र मन्त्री नै छन्, ज्वाइँ बनेकाहरूको पनि लेखाजोखा हुँदै छ भन्ने तपाईंका अध्यक्षको अभिव्यक्ति आएको छ, यस्तोमा मधेस समस्याको समाधान कसरी हुनसक्ला ?
– हेर्नुस्, संविधानसभाबाट संविधान बनिसकेको छ, अब हामीले त संविधानको रक्षा गर्ने हो । नागरिकता दिने विषयमा पनि संविधानले जे व्यवस्था गरेको छ त्यही मान्ने हो । नागरिकता दिने विषयमा वर्तमान संविधानले जे व्यवस्था गरेको छ त्यसैमा अडिनुपर्छ । किनकि, एकदम व्यावहारिक र उचित व्यवस्था संविधानले गरेको छ । जुन संशोधनको प्रस्ताव आएको छ त्यो नितान्त बेठीक छ । बाहिर जन्मेका मानिसले नेपालको नागरिकता लिएर माथिल्लो जिम्मेवारीमा पुग्नका लागि, मन्त्री–प्रधानमन्त्री हुनका लागि, राष्ट्रपति बन्नका लागि निश्चित समयसम्म कुर्नैपर्छ । यो संसारकै नियम हो, यस सन्दर्भमा हामीले पनि विश्वमा चलेको लोकतान्त्रिक नियमलाई नै पछ्याएका हौँ । जथाभावी ढङ्गले राज्यले नागरिकता दिने कुरा सम्भव छैन भन्ने सबैले मनन गर्नुपर्छ । जथाभावी गर्दा मधेसी जनताकै पनि हित हुँदैन ।

० मेची–महाकाली अभियानका क्रममा भाषण गर्दा तपाईंको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ‘सुण्ड–मुसुण्डहरूलाई जनताले तह लगाउँछन्’ भन्नुभयो । यो कसलाई इङ्गित गरिएको हो नि ?
– कुनै नेताले भने पनि नभने पनि गलत काम गर्नेहरूलाई जनताले स्वयम् तह लगाउँछन् । यही भन्न खोज्नुभएको होला । यसमा अन्य अर्थ खोजिरहनुको के तुक छ र ?

० एमाले मधेसीको विपक्षमा भिड्न तयार भन्ने त होइन ?
– हामी मधेसी जनताको पक्षमा छौँ र मधेसी जनता हाम्रो पक्षमा छन् । भिड्ने–भिडाउने कुरा कताबाट आयो ?

० मधेसी जनता एमालेको पक्षमा छन् भन्ने फेरि उनै मधेसीलाई संविधानमार्फत अधिकार दिन कन्जुस्याइँ गर्ने आरोप एमालेमाथि किन लाग्दै छ त ?
– संविधानले पर्याप्त मात्रामा मधेसी जनतालाई हक–अधिकार प्रदान गरेको छ । अब यसको उपभोग गर्न बाँकी छ जनताले । संविधान लागू नगरी या कार्यान्वयन नगरी कसर अधिकार उपभोग गर्न सकिन्छ र ? त्यसैले संविधान कार्यान्वयनमा लैजाने र जनतालाई अधिकारसम्पन्नताको स्वाद चखाउने अभियान एमालेले सञ्चालन गरेको हो । बनिसकेको संविधान कार्यान्वयन हुन पाओस्, मधेसका जनताले हक–अधिकार पाएको अनुभूति स्वतः गर्नेछन् । यहाँ त संविधान कार्यान्वयन गर्नै नदिएर नागरिकलाई अधिकार उपभोग गर्नबाट वञ्चित गर्ने षड्यन्त्र गरिँदै छ ।

० संविधान कार्यान्वयनकै लागि त संशोधनको माग उठाउनुपरेको भनाइ छ त मोर्चाका नेताहरूको ।

– संशोधन आमनेपाली जनताको पक्षमा नभएकाले संशोधन आवश्यक छैन । संशोधन स्वयम् मधेसका जनताको पक्षमा पनि छैन । यो कुरा मधेसी जनताले बुझिसकेका छन्, मधेसका केही पार्टी या तिनका नेताले मात्र नबुझेझैँ गरेका हुन् ।

० तपाईंहरूले बुझाउन किन सक्नुभएन ?
– बुझाउन त खोजेकै हौँ, तर बुझ्ने मानसिकता भए पो बुझ्नु ! बिथोल्ने, हुँडल्ने र मधेसी जनतालाई समेत दुःख दिने नियत राखेपछि के गर्नु ? उनीहरू मधेसी जनताको हक–अधिकारको पक्षमा होइन सीमित केही नेता या मुठ्ठीभर मानिसको स्वार्थका लागि उनीहरू यसरी कोकोहोलो गरिरहेका छन् ।

० यसको मतलब संविधान संशोधनको पक्षमा तपाईंहरू उभिनुहुन्न ?
– त्यो प्रस्ताव गलत छ, त्यो पारित हुनैहुन्न । पारित हुन सक्दैन । पारित गर्न दिँदैनौँ हामी ।

० काङ्ग्रेसले त दुईतिहाइ मत पु¥याएर पारित गरिछाड्ने कुरा गरेको छ नि ?

– कसले छेकेको छ त ? गरे हुन्छ नि दुईतिहाइ पु¥याउने सामथ्र्य छ भने, कसरी गर्छ काङ्ग्रेसले जनताले हेर्ने नै छन् । हामी त यो प्रस्तावको पक्षमा दुईतिहाइ नपुग्नेमा ढुक्क छौँ । पहल गर्नेहरूले उहिल्यैदेखि गरिरहेका छन्, तर यो सम्भव हुँदैन । राष्ट्रहितको विपक्षमा भएको प्रस्ताव पारित हुनै सक्दैन । पास हुने भए अहिलेसम्म भइसक्थ्यो ।

० उक्त प्रस्ताव पास गर्नकै लागि कैयन पार्टीका नेतालाई धमाधम सरकारमा सहभागी गराउँदै छन् प्रधानमन्त्रीले, कसरी पास नहोला त ?
– जो–जो सरकारमा गए पनि, जे–जसो गरे पनि त्यो पास हुन असम्भव छ । अब त्यो प्रस्ताव स्थगित गरेर चुनावमा जानुपर्छ । अरू विकल्प छैन ।