मोटरसाइकल बन्देज र जनार्दनको आँट

मोटरसाइकल बन्देज र जनार्दनको आँट



– बबिता बस्नेत

हाम्रो देशमा मन्त्री हुने भनेको सामान्यतः काम गर्न नभएर सुविधा भोग्नका लागि हो भन्ने बुझाइ छ । झण्डावाल गाडी, गार्डसहितका अगुवा–पछुवा, सडकमा टाँ–टाँ र टीँ–टीँ साइरन, दुई–चार दिनको रमझम भोग्ने र भोग्न चाहनेहरूको सङ्ख्या यो देशमा धेरै छ । आफू कुनै दिन मन्त्री भएको थिएँ भनेर स्वयम्लाई बाहेक जसका लागि मन्त्री भएका हुन् तिनलाई भने नामै लिनुपर्दा थोरैको मात्र सम्झना हुन्छ । काम गरे नाम हुँदोरहेछ भन्ने कुरा नेता गोकर्ण विष्टलाई मानिसहरूले नबिर्सनुले प्रमाणित गर्छ ।गगन थापा राम्रो काम गरेर आफूलाई प्रमाणित गर्ने कोसिस गरिरहेका थिए, आफ्नो प्रयासलाई निरन्तरता दिन उनले पाउने हुन् कि होइनन् यसै भन्न सक्ने अवस्था छैन । किनभने हाम्रो राजनीति नै त्यस्तै छ, राम्रो काम गर्नेहरूले ठाउँ पाउँदैनन् । एमालेको सरकारमा गोकर्ण विष्ट मन्त्रीको जिम्मेवारीमा फेरि फर्किएर आएनन् । अचम्मै भयो, ऊर्जामा हुँदा राम्रो काम गरेको चर्चा हुँदाहुँदै पनि नेता जनार्दन शर्माले फेरि जिम्मेवारी पाउनु भो, त्यो पनि गृह मन्त्रालयको । कामै गर्नका लागि मन्त्री हुनेहरूको लहरमा देखिएका नेता शर्माले ऊर्जामन्त्री हुँदा देखाउनुभएको कौशललाई निस्तेज हुन नदिनका लागि गर्नुपर्ने केही महत्वपूर्ण कार्य छन् । राम्रो गर्नेलाई नै कामको बोझ धेरै हुन्छ, चाहे घरपरिवारमा होस् या सार्वजनिक कार्यालयमा, आशा–अपेक्षा पनि उससँगै बढी हुन्छन् । यस अर्थमा अहिलेको मन्त्रिमण्डलमा उहाँसँग जनताका विशेष अपेक्षा हुनु अस्वाभाविक होइन ।

मुलुकको गृहमन्त्रीका रूपमा अपराध नियन्त्रण, सुरक्षाको प्रत्याभूतिदेखि अराजकताको अन्त्य हुँदै कानुनी राजको स्थापनासम्म उहाँको उत्तरदायित्व धेरै छ । यसका अलावा विभागीय बेथितिहरूको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि त्यत्तिकै छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, सतर्कता केन्द्रलगायतका निकायहरू यसभित्र पर्छन् । सहरमा ठूलै समस्याका रूपमा रहेको ट्राफिक व्यवस्थापन पनि उहाँको नेतृत्वअन्तर्गत नै पर्छ । यसका लागि उहाँले क्षणिक अप्रिय तर दूरगामी प्रभाव पर्ने काम गर्नुपर्ने हुन्छ, त्यो हो काठमाडांै उपत्यकामा मोटरसाइकललाई बन्देज । अहिले यो कुरा गर्दा हामीजस्ता मध्यम वर्गलाई मर्का पर्नेजस्तो लागे पनि मोटरसाइकल बन्देज गरी सार्वजनिक यातायातलाई व्यवस्थित नगरेसम्म राजधानीको ट्राफिक पूर्ण सुधार हुन सक्दैन । मोटरसाइकल नहुने घरहरू उपत्यकामा शायदै होलान् । यो पङ्क्तिकारको पाँच सदस्यीय घरमा दुईवटा मोटरसाइकल छन् । भाइ, बुहारी, बैनी, आफन्तहरूमध्ये धेरैका मोटरसाइकल नै छन् । आफू स्वयम्ले पाँच वर्ष स्कुटर चलाउँदा यात्रा सहज लाग्थ्यो । झट्ट हेर्दा ट्राफिकजामका बेला बाइक सजिलोजस्तो लागे पनि जाम र प्रदूषण बढाउने पनि मोटरसाइकल नै हुन् । मोटरसाइकलसहितको सुरक्षित र व्यवस्थित सहरको परिकल्पना विश्वमा कहीँ पनि गरिएको छैन । भियतनामको राजधानी हनोईमा सन् २०३० सम्ममा मोटरसाइकल बन्देज गर्ने कुरामा हालै त्यहाँको सिटी काउन्सिलले मतदान नै गरेर सर्वसम्मत निर्णय गरेको छ । बीबीसीका अनुसार हनोईमा मोटरसाइकलको सङ्ख्या ५० लाख रहेको छ । हामीकहाँ बागमती अञ्चलमा (उपत्यकासहित) करिब ८ लाख मोटरसाइकल दर्ता भएको यातायात कार्यालयले जनाएको छ ।

गृहमन्त्रीका रूपमा अहिले जनार्दन शर्मालाई प्रहरीले मात्रै सलाम गर्छन्, यस्ता केही कामहरू फटाफट हुने हो भने भोलि उहाँ जहाँ पुगे पनि, कहीँ नपुगे पनि अगाडि देख्नासाथ जनताले स्वतः सलाम गर्नेछन् ।

म्यानमारमा मोटरसाइकललाई बन्देज लाउनुअघि निकै विवादको विषय बनाइएको थियो । बन्देजपछि दुर्घटना र अपराध स्वाट्टै घटेको प्रतिवेदन सार्वजनिक भएको छ । हामीकहाँ बाइकमा बन्देज लगाइयो भने ट्राफिक व्यवस्थापन मात्र हुनेछैन, धेरैका छोराछोरी अकाल मृत्युबाट पनि बच्नेछन् । मोटरसाइकल दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या राजधानीमा ठूलो छ । विश्वका धेरै सहरमा मोटरसाइकल दर्ता बन्द गरिएको छ । युरोप र अमेरिकाका सहरमा बाइक चलाउन अनेक मापदण्ड पूरा गर्नुपर्छ । जतिसुकै मापदण्ड पूरा गरे पनि न्युयोर्कमा बाइकको दर्ता हुँदैन ।

मोटरसाइकल बन्द गर्नुअघि सार्वजनिक यातायातलाई व्यवस्थित गर्नु आवश्यक हुन्छ । बाइकलाई बन्देज लगाउने काम गृहको नभई यातायातको हो, तर ट्राफिक व्यवस्थापन जोडिएर आउने हुँदा यसमा गृहको भूमिका महत्वपूर्ण हुन्छ । अपराधदेखि दुर्घटनासम्म गृहसँग सम्बन्धित छन् । ‘एक्सन’मै जाने हो भने सार्वजनिक यातायातलाई व्यवस्थित गर्न गाह्रो छैन । राजधानीमा फेरि साझा यातायात गुड्ला भनेर सोचिएकै थिएन, तर गरेपछि भयो । बिहानदेखि रातिसम्म चल्ने बसहरूको व्यवस्था गर्न सकियो भने मोटरसाइकलवालाहरूले आफ्नो असुरक्षित यात्राभन्दा त्यसैलाई राम्रो र सुरक्षित ठान्नेछन् । विश्वका धेरै सहरमा हामीजस्ता मध्यमवर्गीयहरू बस्छन् र बाइक नचलाई उनीहरूको यात्रा सुरक्षित र व्यवस्थित बनेको छ । यसमा यातायात, महानगर सबैको भूमिका महत्वपूर्ण हुन्छ ।

ट्याक्सी व्यवस्थापन हामीकहाँ अर्को नगरी नहुने कुरा हो । बाइक बन्देजमा निश्चित समय लाग्न सक्छ । सर्वसुलभ सार्वजनिक यातायात व्यवस्थाको खाका बनेपछि बाइक बन्देजको कुरा आउँछ, तर ट्याक्सी तुरुन्तै व्यवस्थित गर्न सकिने र गर्नुपर्ने कुरा हो । ट्याक्सीको सन्दर्भमा एउटा कुरा सधैँ सम्झनामा आउँछ । केही वर्षअघि सिंगापुर घुम्न गएका बेला हाम्रा केही नेपाली अधिकारीहरूले ट्याक्सी चढेछन् । आफू चढेको ठाउँबाट गन्तव्यसम्म पुग्दा प्रत्येक दिन ट्याक्सीमा उति नै पैसा उठेछ । लगातार तीन दिनसम्म अलगअलग ट्याक्सी चढ्दा पनि एक पैसा तलमाथि नभईकन पैसा उठेको देखेपछि छक्क पर्दै उनीहरूले पछिल्लो ट्याक्सीड्राइभरलाई सोधेछन्– हामीकहाँ त ट्याक्सीमा एकै ठाउँ जाँदा पनि फरक–फरक पैसा उठ्छ, तर यहाँ त उति नै उठ्दो रै’छ, अलिकति पनि तलमाथि भएन…कसरी ? ट्याक्सी ड्राइभरले भनेछन्, ‘हेर्नुस्, यहाँ हामीले तपाईंहरूलाई ठग्यौँ भने भोलि तपाईं आफ्नो देश गएर ट्याक्सीले ठग्यो या कुनै ट्याक्सीड्राइभरको नाम लिएर त्यसले ठग्यो भन्नुहुन्न, सिंगापुरको ट्याक्सीले ठग्यो भन्नुहुन्छ । म या मेरो ट्याक्सीभन्दा अगाडि मेरो देशको नाम आउँछ र हामी आफ्नो देशको छविप्रति असाध्यै सचेत छौँ । त्यसैले हामी त्यस्तो काम गर्दैनौँ ।’

यता हाम्रो देशमा भने ठीक उल्टो छ । यो देशको एयरपोर्टमा झरेर ट्याक्सी चढ्नुप¥यो भने ट्याक्सीवालाको मोलमोलाइले विदेशीको त के कुरा नेपालीलाई नै पनि हरे… यो ट्याक्सी भन्ने त जिन्दगीमा कहिल्यै चढ्नु नपरे पनि त हुन्थ्यो नि जस्तो लाग्छ । अन्तर्राष्ट्रिय र आन्तरिक दुवै विमानस्थलमा ट्याक्सीवालाको तानातान र बार्गेनिङ हेर्दा यस्तो लाग्छ, यो मुलुकमा कुनै कानुन छैन जसले जति पैसा लिए पनि हुन्छ, यात्रुलाई जस्तो व्यवहार गरे पनि हुन्छ, प्रहरी, ट्राफिक कार्यालय, प्रशासन केही पनि छैन । अझ विदेशी देखे भने त ट्याक्सीवालाले यस्तो व्यवहार गर्छन् कि मानौँ तिनीहरू त पैसाको बोट हुन्, ट्याक्सीले ठग्न या नेपाली ट्याक्सी ड्राइभरहरूबाट ठगिनकै लागि तिनीहरू नेपाल आएका हुन् । ‘कति पैसा दिने ?’ बाट सुरु भएको उनीहरूको बार्गेनिङ ‘यतिबिना त हुँदैन’सम्ममा पुग्दा यस्तो लाग्छ एयरपोर्ट ट्याक्सी व्यवस्थापनका लागि यहाँ कुनै आधिकारिक निकाय नै छैन । ट्याक्सीवालाको हारालुछबाट उम्किएर गन्तव्य स्थान पुग्दासम्म यो मुलुकको बारेमा एकप्रकारको छवि पर्यटकहरूले बनाइसकेका हुन्छन् ।

अहिले अन्तर्राष्ट्रिय एयरपोर्ट अस्ट्रेलियाको खेम्स क्लिनिङले सफा बनाइदियो । विश्वका कुनै पनि एयरपोर्ट पर्यटकका लागि पहिलो ‘इम्प्रेसन’ हुन् । एयरपोर्टबाट निस्किनासाथ ट्याक्सी चढिन्छ । यस अर्थमा ट्याक्सी सुविधा, ट्याक्सीवालाले गर्ने व्यवहार, दिने सूचनालगायतका कुराहरू सम्बन्धित मुलुक टेक्नासाथका ‘इम्प्रेसन’ हुन् । जुन हामीकहाँ ज्यादै निम्नस्तरको प्राप्त गर्न सकिन्छ । एयरपोर्टको मात्र कुरा होइन, काठमाडौं उपत्यकाको ट्याक्सी व्यवस्थापन सम्बन्धित पक्षले गर्नैपर्ने काममध्येको एक हो ।

त्यसो त यो विषय प्रहरीका प्रमुख आएपिच्छे उठाइयो । तर, कार्यान्वयन भएन । ट्याक्सी प्रायः मानिसले अभर परेर नै चढ्छन् । ट्याक्सी चढिसकेपछि यात्रुले ‘यो ठाउँमा जाउँ न’ भन्नुपर्नेमा पहिल्यै कहाँ जाने ? भन्ने प्रश्न ड्राइभरले गर्छन् । आफू जाने स्थान बताएपछि कतिले सीधै ‘त्यहाँ त नजाने’ भन्ने र धेरैजसोले चाहिँ ‘कति दिने ? या यति पैसा दिने हो ?’ भनेर प्रश्न गर्ने गरेका छन् । मिटरमा जाने ट्याक्सी भेट्न सडकमा गाह्रै छ । ट्याक्सीको यो मनोमानी अन्त्य गर्दै बिल प्रिन्टसमेत गर्न मिल्ने गरी ‘सिस्टम’ बसाउन सके र मोटरसाइकल बन्देज गर्न सके गृहमन्त्री जनार्दन शर्माको कार्यकालमा जनताका लागि गरिएको स्मरणीय कार्य हुनेछ । गृहमन्त्रीका रूपमा अहिले जनार्दन शर्मालाई प्रहरीले मात्रै सलाम गर्छन्, यस्ता केही कामहरू फटाफट हुने हो भने भोलि उहाँ जहाँ पुगे पनि, कहीँ नपुगे पनि अगाडि देख्नासाथ जनताले स्वतः सलाम गर्नेछन् ।