आगामी बुधबार उम्मेदवार मनोनयन दर्ता हुँदै

आगामी बुधबार उम्मेदवार मनोनयन दर्ता हुँदै


प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आगामी बुधबार (भदौ २१) उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ । यसअनुसार दलहरूले उम्मेदवार छनोट कार्यलाई अन्तिम रूप दिँदैछन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकारले त्यस क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त तुल्याउन नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।

प्रायः सबै दलले उम्मेदवार चयन कार्य टुङ्गोमा पुऱ्याइसकेका भए पनि राष्ट्रिय जनता पार्टी नेपालमा उम्मेदवार छान्ने काम दुरुह बनेको पाइएको छ । नेपालको संविधानका केही अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलन चलाउँदै आएको राजपाले आफ्नो सम्पूर्ण साधन, स्रोत र शक्ति अब स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेपछि पनि उसले आफूलाई निर्वाचनमा उल्लासपूर्ण ढंगले होम्न भने सकेको छैन । पार्टीभित्र कतिपय नेता अझै पनि राजपाले चुनावमा जाने निर्णय गरेर गल्ती गरेको धारणा राख्दै आएका छन् । निर्वाचनले पार्टीलाई हानी पुग्ने ती नेताहरूको तर्क छ ।

तथापि, राजपाका महासचिव केशव झा भय र त्रासको स्थिति समाप्त भएकाले शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले निकै स्थानमा राम्रो विजयी हासिल गर्ने विश्वास लिएको बताउँछन् ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन अघिल्ला निर्वाचन जस्तै प्रदेश नं २ मा पनि प्रमुख राजनीति दलबीचमै चुनावी तालमेल हुन सक्ने संकेत देखिएको छ । संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी तथा बाढी र डुबानको चपेटा खेपिरहेका त्यस क्षेत्रका मतदातालाई आफ्नो पक्षमा ल्याउने रणनीति बनाएर सबै राजनीतिक दल अहिले प्रदेश नं २ का गाउँगाउँमा पुगिसकेका छन् । विरोध र अवरोधका घटना पनि सुरु भएका छन् ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट ७७–७७ प्रमुख र उपप्रमुख, ५९–५९ अध्यक्ष र उपाध्यक्ष, एक हजार २ सय ७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी पाँच हजार ८४ वडा सदस्य निर्वाचित हुनेछन् ।

पहिलो र दोस्रो चरणमा कुन दलबाट कति विजयी ?

मुलुकका प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ मा वैशाख ३१ तथा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते भएको निर्वाचनबाट १७५ स्वतन्त्रसहित १४ राजनीतिक दलका २८ हजार ४२३ उम्मेदवार विजयी भएका थिए । तीमध्ये पुरुष १६ हजार ७९३ र महिला ११ हजार ६३० रहेका थिए । जसअनुसार नेकपा (एमाले)का १२ हजार ८४८, नेपाली कांग्रेसका नौ हजार ७१९, नेकपा(माओवादी केन्द्र)का चार हजार ३१३, संघीय समाजवादी फोरम नेपालका ३८२, नेपाल लोकतान्त्रिक फोरमका २९५, राप्रपाका २५७, राष्ट्रिय जनमोर्चाका १८६, नेपाल मजदुर किसान पार्टीका ९९, नयाँ शक्ति पार्टीका ८८, बहुजन शक्ति पार्टीका ३७, राष्ट्रिय जनमुक्ति पार्टीका १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सात, नेकपा (माले)का चार र नेपाल परिवार दलका एक उम्मेदवार विजयी भएका थिए ।