यातायात व्यवसायीसँग झुक्यो सरकार, मंगलबारबाट टिकट बुकिङ खुल्ने

यातायात व्यवसायीसँग झुक्यो सरकार, मंगलबारबाट टिकट बुकिङ खुल्ने


अप्ठ्यारो परिस्थितिलाई हतियार बनाएर स्वार्थ सिद्धि गर्ने प्रवृत्ति उजागर गर्दै यातायात व्यवसायीले फेरि पनि सरकारलाई झुकाएका छन् । कानुनविपरीत बसमा छत राखेर यातायात सञ्चालन गर्न पाउनुपर्ने अडान तेस्र्याउँदै दशैंको अग्रिम टिकट बुकिङ रोक्दै आएका बस व्यवसायीको दबाबमा सरकारले सो माग पूरा गरिदिएको छ ।

छतमा समेत यात्रु चढाएर ओभरलोड गर्दा दुर्घटना बढेर यात्रुको ज्यान जाने घटना बढेपछि कानुनी तवरमै छतमा यात्रु राख्न रोक लगाइएको थियो । तर, यात्रुको सामान राख्न असुविधा पुगेको बहाना बनाएर असन्तुष्टि जनाउँदै आएका व्यवसायीले दशैंको मुखमा आएर टिकट बुकिङ रोकी सरकारसँग बार्गेनिङ गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार भएको छलफलपछि दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि २७ भदौ मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको हो । मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा बसमा छत राख्न दिने सहमति गरिएको छ ।

बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने अडान राखेका थिए । भाडा बढाउनुपर्ने तर्क व्यवसायीले पनि राखेनन्, उनीहरुको अडान त बसमा छत जडान गर्न पाउनुपर्ने विषयमा थियो ।

सहमतिअनुसार लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान छतमा राख्न दिए पनि खसी, बोकालगायत यात्रु छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमति भने भएको छ । सो बैठकमा मन्त्री बलायरका अलावा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए । व्यवसायी सिटौला खरो रुपमा प्रस्तुत भएका र उनको तर्क काट्न सरकारी प्रतिनिधिहरुलाई हम्मे हम्मे परेको बताइन्छ ।