पत्रकारिता र यूकेको नेपाली समाज

पत्रकारिता र यूकेको नेपाली समाज


बितेको दशकदेखि खासगरी नेपाली परिवेशमा पनि पत्रकारिताको महत्व र प्रभाव बिस्तारै बढ्दै गएको स्पष्ट रुपमा देखिएको छ । कालापानीमा मिचिएको नेपाली भूमि होस्, रक्सौल हुँदै भारतका रेडलाइट स्ट्रिटहरुमा शरीर बेच्नका लागि लगिने नेपाली युवतीहरु हुन्, या हेलेम्बुबाट माओवादीविरुद्ध बोलेकोले नै नेपाल छोड्न वाध्य पारिएका केत योन्जनका परिवार होस्, यस्ता घटनाहरुलाई विभिन्न परिवेशमा नेपाली पत्रपत्रिकामा एकताका छयाप्छ्याप्ती पारिएको थियो, तब यिनै पत्रकारिताको करामत हो, जो तबदेखि आम पाठकहरुलाई एक सशक्त जानकारीको स्वरुपमा तिनका घरदैलोमा सजिलै उपलब्ध भइरहेको छ । वास्तवमा विश्वलाई यति सानो र साँघुरो बनाउनका लागि संसारभरका पत्रकारहरुका मुख्य योगदान रहेको छ । इथियोपियाकी यान्सिलको कुपोषणले गर्दा मर्न लागेको तीन वर्षीय छोरोको अपरिभाषित भोक होस्, तेहरानकी रैथालिइरालाई दिन थालिएको सामाजिक सजायँको आघातले तत्पपिएका, बाबु रेहमानको सामाजिक अनि साँस्कृतिक वाध्यता होस्, हराइसकेको सम्पन्न राज्य ल्हासाका एक व्यापारी दिक्द्यालापको स्वतन्त्र तिब्बत देख्ने उत्कट अभिलाशा होस्, या काठमाण्डौंस्थित ठमेलको एक मसाज पार्लरमा शरीर बेच्ने रत्ना नामकी एक भद्र महिलाको कथित सौम्य व्यवसाय होस्, यी सबको बारेमा अहिले आम पाठकहरुले सजिलैसँग जानकारी विहानको चियासँगै लिन पाएका हुन्छन् । संसारभरमा मिडियाको शक्ति अपरिमेय त्यसैले पनि भएको हो ।

असजिलो मान्दै बिस्तारै बस्दै गर्दा उसको मुखबाट सुस्केराको साथ …ऐया..भन्ने शब्द निस्केपछि भने मलाई लागेको थियो कि, ऊ पक्का पनि नेपाली मूलको युवक हुनुपर्दछ, कौतुहलतालाई दबाउन नसकेपछि सोधेर थाहा लागेको उक्त व्यक्ति नेपालकै हेलेम्बुबाट आजभन्दा करीव १७ वर्षअगाडि क्यानाडा पुगेर बेलायत छिरेका उनै केत योन्जनका एक मात्र छोरो डिक्सन योन्जन रहेछ । २५ वर्षीय डिक्सन अर्थात् डिल योन्जन काठमाण्डौबाट १५ वर्षअघि ल्याइएको थियो । एक किसिमले आफ्नो बाबालाई नेपालबाट खेद्न सफल भएका तत्कालीन स्थानीय जिल्ला कमिटिका माओवादी सदस्यहरुलाई ऊ अहिले पनि धन्यवाद दिन पछि पर्दैन । त्यसपछि आफूलगायत आफ्नो नजिकका नातेदारहरु पनि नेपाल नफर्केको बताउने डिक्सनलाई नेपाल मन नपरे पनि अर्को भाषाको रुपमा नेपाली भाषा बोल्न र बुझ्न मन लागेकोले अलिअलि आफूले पनि बोल्ने ऊ बताउँदछ । ..ऐया… नभनेको भए ऊ कुनै पनि एंगलबाट नेपाली देखिँदैनथ्यो । केही महिनाअगाडि एक दुर्घटनाको शिकार भएकोले नै ऊ अपांगजस्तो बनेको रहेछ र त्यसैलाई क्यास गर्न ऊ महिनाको दुईपटक एडमन्टन काउन्सिलमा धाउने गर्दोरहेछ । बुबाको नाम राखिएर छापिएको समाचारको कटिङलाई नेपाल सरकारको पुरस्कारको रुपमा राख्ने केतको घरमा एक परम्परा भएको बडो चाख मान्दै बताउने डिक्सनलाई पत्रकारिताको बारेमा लेख्दै गर्दा बिर्सन सकिनँ । किनभने, त्यही पत्रकारिताको समाचारलाई आधार बनाएर केत योन्जनका परिवारले सजिलैसँग क्यानाडामा शरणार्थी भएर घुस्न सकेको उनकै छोरोबाट थाहा भएको हो । राष्ट्रको चौंथो अंगको रुपमा लिइने पत्रकारिताले सँधै सकारात्मक प्रभाव मात्र पार्ने नगरी त्यही समाजलाई नै एक किसिमले गतिहीन पनि बनाउने गरेको धेरै घटनाहरु हाम्राअगाडि उदाहरणको रुपमा घटिरहेका हुन्छन् । समाजमा कुपत्रकारितको रुपमा चिनिन थालिएको यस्तो परम्परालाई भने नेपालमा बलजफ्ती पचाउन आम जनाता वाध्य भएका हुन्छन् । यूकेमा यसै हप्ता नेपाली पत्रकार महासँघको अधिवेशन हुँदैछ र त्यसैको सन्दर्भमा यस लेख तयार पारिएको हो ।

सामाजिक संरचनात्मक यथार्थमा विविध नाम र काम अनि स्वरुपमा समाजहरु एकअर्कामा एकवद्ध हुनु कतै नराम्रो होइन । प्रजातान्त्रिक पद्धतिअनुरुप पर्ने साधारण अभ्यासहरु नै हुन् यी, तर पनि सामाजिक मर्यादामै अधीनस्त रही उही प्रकारको संरचना बुन्ने प्रयासमा भने समाजको एक विशाल आकृतिमा ससाना छिद्रहरु त्यसैले पनि देखिनुलाई नकार्न भने पक्कै सकिँदैन । कुनै एक समस्यालाई समाधान गर्नका लागि समाजमा पहिले उक्त समस्याको पोको कुन खालको समाजले खोल्नुपर्ने हो भन्ने खोज्दाखोज्दै समस्या भित्रभित्रै जटिल बन्दै गएको उदाहरणहरु हरेक समाजमा सजिलै खोज्न सकिन्छ । यसको समाधान अवश्य नै वर्गीकृत समाजको रुपले गर्दैन । त्यस्तै अवस्थामा यहाँ अर्थात् यूकेमा नेपाली पत्रकारहरुले आफ्नो खालको समाजको निर्माण गर्ने प्रकृयामा लागेका छन्, सम्भवतः चुनावै हुने छाँट देखिएको यो पहिलो अधिवेशनमा भने यो पक्का रुपमा भन्न सकिन्छ कि, बेलायतका नेपाली पत्रकारहरुका मनमा आम नेपाली राजनीतिक मानसिकता मरेको छैन । अहिले पनि नेपालको पत्रकारको मुख्य हाँगासँग जोडिने धेरैका विशेष मनासय रहेको यहाँ स्पष्ट भएको छ ।

नेपाली आम पत्रकारिक धारणाअनुसार, सार्वजनिक ओहोदामा रहने या सार्वजनिक रुपमा सबैले खोज्ने र देख्ने नाम बोक्ने व्यक्तिका वास्तवमा भन्ने भए कुनै कार्य नीजि हुँदैनन् । तीहरु आफ्ना हरेक कृयाकलापहरुलाई निम्नरुपमा सुलभ अनि सार्वजनिक बनाउन भने अभिशप्त हुन्छन् । तर, कुनै पनि व्यक्तिलाई नीजि बन्न या गोप्य रहन पनि उत्तिकै अधिकार हुन्छ भन्ने यहाँ आएपछि भने खुलेको छ, निम्नरुपमा मेरो जानकारीमा । अपराधी तबसम्म मानिँदैन, जबसम्म त्यो कानूनी रुपमा प्रमाणित भएको हुँदैन । तबसम्म समाजका कुनै पनि अँगले उक्त व्यक्तिलाई अपराधी भन्न वा लेख्न वा त्यस्तो अभिप्राय खुल्ने गरेर देखाउन सक्दैन, त्यो सरासर मानहानी भएको ठहर्छ । पत्रकारिता गर्ने क्रममा यहाँ यस्ता घटनाहरु घटिरहेका छन्, मेरो विचारमा त्यस्ता प्रकारान्तरका समस्याहरुमा यहाँका पत्रकारहरु एकजुट हुन जरुरी छ । ‘नो विन, नो फी’ भनेर लाग्ने विविध खालका वकीलहरुका जकडबाट यहाँ आम नेपाली पत्रकारहरु बच्न गाह्रो भएको छ । नेपालको अनि नेपाली राष्ट्रियताको धज्जी उडाउने प्रवृतिका कृयाकलापहरु भइरहेको सन्दर्भहरु, नेपाली विद्यार्थीहरुलाई नेपाली व्यापारीहरुबाटै लुटिएको सन्दर्भहरु, जातीयताको नाममा, क्षेत्रीयताको नाममा विभिन्न विरोधाभासहरु भइरहेको सन्दर्भहरुलगायत अन्य विभिन्न अमेल प्रकारका सन्दर्भहरुको बारेमा लेख्न नसके, त्यो के पत्रकारिता भयो र ? यदि यसरी नै लेख्ने हो भने, उक्त पत्रकारले सम्पूर्ण रुपमा आफ्नो बचाउ आफै नै गर्नु पर्ने हुन्छ । उसको सत्यतालाई, त्यही समाजमा व्यक्तिको आफ्नो गोप्यतालाई अर्थात् व्यक्तिको ‘राइट टु प्राइभेसी’लाई थाँती राख्नका लागि ‘नो विन नो फी’ नामक वकीलहरु आफ्नो विकराल सामर्थ्य राख्ने सेवाहरुले लगभग निस्तै निलिरहेका हुन्छन् र त्यसैको प्रकोपमा आम लेखकहरु निरीह भएका हुन्छन् । त्यस्तो समस्यामा बोल्न वा साथ दिन नेपाली पत्रकारहरुको समाज सशक्तवान यहाँको परिवेशको लागि हुन जरुरी छ, तर लाग्दैछ, वास्तवमा, यहाँ यो हप्ता हुँदै गरेको पत्रकारहरुको संघको मूल आसय भनेको नेपाली मूलधारको पत्रकारहरुको लाइनमा खडा हुनु हो । माथि भनिएजसरी यदि समाचारहरु लेख्न वा लेख लेख्न नसक्ने हो भने, विभिन्न जातीय अनि क्षेत्रीय समाजहरुको भोजभतेरको तस्वीरहरु खिँच्ने र त्यही समाचारहरु लेख्ने व्यक्ति पत्रकार होइनन्, ती व्यक्तिहरुको समाज नेपाल पत्रकार महासँघमा आवद्ध हुन सक्दैनन् भन्ने निम्न रुपमा म सोँच्दछु ।

यही हप्ता हुँदै गरेको अधिवेशनले निर्माण गर्ने कार्य समितिले आफ्नो मूल ध्यान स्थानीय नेपाली समाज र त्यसले स्वीकारेको पत्रकारहरुको आफ्नै स्थानीय अनि घरायासी समस्याहरुमाथि दिनेछ भन्ने यतिखेर कामना गर्न म खोज्दैछु । पत्रकारहरु जो केही लेख्न र पढ्न अनि सोअनुरुप सोँच्न र्समर्थ व्यक्तिहरु भएकाले निम्नरुपमा आफ्नै समाजभित्र आउने टिकाटिप्पणीहरुलाई सकारात्मक रुपमा लिने नै छन् । त्यसैले पनि यहाँको त्यही पत्रकारहरुको सानो समाजभित्र टीभी, रेडियो, छापा अनि अनलाइन गरी वर्गीकृत मानसिकता समूल समाजमा पर्नेछैन भन्ने अर्को एक कामना राखेको छु ।
–प्रकाश के.सी.