पत्रकार महाधिवेशनको सेरोफेरोमा नेपाल यात्राको सम्झना

पत्रकार महाधिवेशनको सेरोफेरोमा नेपाल यात्राको सम्झना


– डिल्लीराम अम्माई (बेल्जियम)

गत भाद्र १ गते जीवनसंगिनीसहित टर्किस एयरलाइन्सको जहाजबाट युरोपियन आकाशलाई चिर्दै टर्कीको राजधानी स्तान्बुल पुगियो। झन्डै ७ घन्टा त्यहाँको ट्रान्जिट विश्राम कक्षमा बिताएर भाद्र २ को बिहान ८ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झऱ्यौं। केहीबेरको कागजी औपचारिकतापछि विमानस्थलबाहिर निस्किएर विमानस्थलमा मलाई लिन आउने वचन दिएका पत्रकार मित्र पकाशविक्रम शाह, भाइ जगन्नाथ समेतलाई खोज्न थाले मेरा आँखा, यताउता हेरेँ कसैलाई देखिनँ । त्यसपछि जीवनसंगिनीलाई भरतपुरको उडान भर्न पाठाएर मचाहिँ साथीहरु खोज्नतर्फ लागें । आफ्ना खत्र्याङखुत्रुङ र साथीहरुका पार्सलको कारण लगेज अलिक भारी नै थियो ।

समय भएसम्म केजिनजीलाई लिएर हामी पनि आउन सक्छौँ भनी सुर्यमणि सर र खिला सरले समेत बचन दिएकाले झन्डै आधि घण्टा खोजें । उहााहरु दुवैजनाको महासंघको अधिवेशनमा व्यवस्थापकीय जिम्मेवारी भएकोले तनाव र बोझ दुवै थियो होला । त्यसैले उहाँहरु विमानस्थल आउन नसक्नुभएकोमा मैले गुनासो गर्न सुहाउने सन्दर्भ नै रहेन ।

झन्डै ३५ मिनेटको खोजाइपछि भाइ जन्नाथलार्इ भेटें र एउटा ट्याक्सी चढी धुलोले आँखा मिच्दै हामी बागबजारस्थित गेष्टहाउसतर्फ हुइँकियौँ । नेपाल पत्रकार महाँसंघको २५ औं महाधिवेशनमा भाग लिन यसरी म बेल्जियमबाट काठमाडौं पुगेको थिएँ ।

०७४ भाद्र २, बेलुकाको समय । भाइसँग गफिँदागफिँदै रातको १२ बज्यो । इन्जिनियर भाइ भोलिपल्ट सबेरै अफिसको मिटिङमा पुग्नैपर्ने भएकोले १२ बजेपछि सुत्ने तरखर भो । म तीन वर्षपछि नेपाल गएकोले आफ्ना इष्टमित्र बारे सामान्य जानकारी लिएर भाइले देखाइदिएको बिस्तारामा पल्टें ।

धेरै कौतुहलताको कारण निद्रा लागेन । राति झन् भुस्याहा कुकुरको एकोहोरो गानाका कारण केको निद्रा पर्नु । उनीहरुकै ‘संगीत’बाट अमिलो ‘आनन्द’ लिंदै सिंगो रात बिताएँ । भोलिपल्ट मेरा छात्र भाइ दीपकलाई बोलाएर उसको सामाखुशीस्थित घर गएँ । महाभूकम्पको चपेटामा परेर दिवंगत हुनुभएको मेरा ठुलोबुबाको छोरा कृष्ण अम्माईलाई उनकै घर पुगेर मनमनै श्रध्दान्जली अर्पण गरि सासुआमा, भाइका छोराछोरी र बुहारीसँग सन्लाप गर्दागर्दै आधिरात बितेको पत्तै भएन ।

भाद्र तीन तारिक दिनको ३ बजे तिर एउटा फोन आयो । उहाँ पहिले पनि बेल्जियम पुगेर फर्कीसक्नुभएको नेता हुनुहुँदोरहेछ । कृष्ण दाइलाई भेट गर्ने चाँजोपाजो मिलाउन अनुरोध गरेँ । उहाँले बागबजार आउन अनुरोध गर्नुभयो र म ट्याक्सी चढी पुनः बागबजार पुगेँ । दाइसंगै गएर हामीले हिमाल पुरीजीको घरमा बामपन्थी आन्दोलनका अग्रजहरु मोहनविक्रम सिंह, मोहन बैद्य, सीपी मैनाली, चित्रबहादुर केसी, साध्यबहादुर भण्डारी, रामसिंहह श्रीष लगायत सम्मानित प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा लगायतका नेताहरुसंग भलाकुसारी गरेर सामुहिक तस्बिर खिचायौँ । पत्रकार महासंघको अधिवेशनमा भाग लिन गएकोले मेरो ध्याउन्न भने अर्कैतिर थियो । पुनः भेट्ने आस्वाशनसहित म नेतागणको हुलबाट बिदा भई प्रिय साथी जयप्रकाश त्रिपाठीलाई फोन गर्न थालेँ । उहाँ म बसेको गेष्टहाउस पुगेर पनि भेट नभएका कारण फर्की सक्नुभएको रहेछ । मन खिन्न भयो र सम्मेलनपछि भेट्न म कार्यालय नै आउँछु भनेर टेलिफोन वार्तालाप टुंग्याएँ ।

अर्को दिन प्रतीक्षित सम्मेलन शुरु भयो । हलको अगाडि नै सम्मानित दिदी बबिता बस्नेतलाइ भेटें र देव दाजुलगायत सबैको बारेमा जानकारी लिएँ। त्यसपछि विदेश शाखाका साथीहरु जम्मा भएर हामीले राखेका केहि मुद्दाहरु सम्मेलनको बन्दसत्रमा उठाउने कार्यक्रम तय गरियो । प्रवास शाखालाई अन्य शाखासरहको मान्यता दिनुपर्ने, प्रवास शाखाबाट केन्द्रिय समितिमा उम्मेदवार हुन पाउने अधिकारको ग्यारेन्टी, प्रवास शाखाका पार्सदहरुले मतदान गर्न पाउने व्यवस्था र प्रदेश किटान लगायतका मुद्दाबारे हाम्रो गम्भीर चासो थियो ।

अध्यक्षका उम्मेदवारहरु आदरणीय तीर्थ कोइराला र गोविन्द आचार्यका साथै सम्पूर्ण मतदाता पार्सदहरुलाई विदेश शाखाका गुनासाहरु बिसाउँदै हामीले सिंगो खुला सत्र सक्यायौँ । प्रधानमन्त्री शेरबहादुर देउपाद्वारा सम्मेलनको उद्घाटन भयो । पुर्वअध्यक्षहरु शिव सर, सुरेस सर, तारानाथ दाइ, धर्मेन्द्र दाइ लगायतका अग्रजहरुसँग भेट भयो । उनिहरुसंग पनि हाम्रो रोइलो बिसायौँ । उहाँहरुले सशक्त लबिङ गर भनेर उत्साह थपिदिनु भयो । त्यो बेलुका केजीनजी र बन्जाडे सर हामीबाट छुट्टिनुभयो तर सुर्य सर, किशन संगीत, म र खिला सर पत्रकार महासंघका केन्द्रिय पदाधिकारीहरु बसेको ठमेलस्थित गेष्टहाउस तर्फ हुइकियौँ।

अघिल्लो दिन धेरै पत्रकारहरुसँग भेट भए पनि आफुले चिनेका उनै सम्मानित सहकर्मीहरु देव दाइ, बबिता बस्नेत,जयप्रकाश त्रिपाठी, प्रकाशविक्रम शाह, दिपेन्द्र श्रेष्ठ, गणेश पोख्रेल लगायतका साथीहरु खोज्न यी आँखा भृकुटीमण्डप परिसरभरि दौडिए । सबै साथीहरु चुनाव प्रचारमा ब्यस्त थिए । कसैसँग आधि कुरा भयो भने कसैसँग पूरा । अचम्मको व्यस्तता थियो हल परिसरमा । उम्मेदवारका प्रचार सामाग्री र ब्यानरले हलबाहिरको परिसर रंगिएको थियो । मतदान कार्य सकेर युरोप शाखाका अध्यक्षसहित हामी ऐक्यबद्धता मासिकको डिल्लीबजारस्थित कार्यालयमा गएर कफीको चुस्कीसंगै गफमा नारियौँ ।

युरोपतिरका धेरै गफ भए । उक्त मासिकका प्रमुख निलकण्ठ तिवारीजीका अनुभवहरु सुनियो । सम्पादक चन्दा थापाका अनुभव पनि स्वीकार गर्यौँ । पत्रकार महासंघको महाधिवेशनका लागि आउनुभएका पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई (बेल्जियम), वरिष्ठ उपाध्यक्ष पंक्तिकार स्वयं, गणेश बञ्जाडे पत्रकार महासंघ अध्यक्ष (कतार), नेपाल पत्रकार महासंघ भारत साखाका महासचिव गोविन्द पोखरेल, सहसचिव अर्जुन खनाल र भारतबाट आउनुभएका देवेन्द्र माल्या कुँवर लगायत साथीहरुसँगको ऐक्यबद्धता परिवारको भेटघाटले कदापि भुल्न नसकिने आत्मियताको अनुभूति दिलायो । उहाँहरुसँग खिचेको तस्बिर उपहारको रुपमा बेल्जियम लिएर आएको छु ।

चुनावको परिणाम सुन्न आतुर हुँदै हामी पुनः हलतर्फ आयौँ । केजिन सर र म राति ३ बजेसम्म मत गणनास्थलमै बस्यौँ र गणना गरेको हेरियो । सुरुमा तीर्थ दाइ र गोविन्दजीबीच तीव्र प्रतिष्पर्धा देखिए पनि अन्तमा मत परिणामले गोविन्द आचार्यलाई अध्यक्षमा विजयी बनायो । स्वभाविक नै थियो कि परिणाम सार्वजनिक भएपछि एकातर्फ़ खुशीको माहोल उछाल्यो भने अर्को ग्रुपमा केही मायुसी छायो । मिश्रित परिणामसहित चुनाबी नतिजाको घोषणा भयो । जितेकाले हारेकालाई सम्मान गर्दै विजयी मन्तब्य दिए । चर्चित पत्रकार ऋषि धमला पनि खुशियालीमा अबिरले ढाकिएका भेटिए । छोटो गफ भयो, रमाइलोको बीच फोटो खिच्न किन कन्जुस्याई गरिन्थ्यो र एक पोज गैहाल्यो । मुस्ताङका पत्रकार भीमबहादुर रसाइलीको प्रचारशैली हेर्दा जित्लान् भन्ने लागेको थियो तर हारेछन बरा…! टिठ लागेर आयो । मुस्ताङ आउँदा मेरोमा बसौला भन्थे, सहानुभूति सबैले दिएको देखिन्थ्यो तर भोट दिएनछन् । हुलमूलमा जसोतसो विदेश शाखाका हामी सबैले विजित पत्रकार नेताहरुलाई बधाई दियौँ र हाइ हेल्लो गर्दै बाहिरियौँ ।

अर्कोदिन बिहान नेकपा एमालेका सचिव योगेश भट्टराइसँग भेट भयो । समसामयिक राजनीतिमाथि हल्का बातचित भयो । औपचारिकताका अन्य कुराकानी पनि भएपश्चात म सोझै घटना र विचारको कार्यालय बबरमहलतर्फ़ हानिएँ । मनमा कुरा खेलिरहेको थियो कि यो भागबण्डा र दलीय राजनीतिक पत्रकारिताको सीमारेखा कहिले भत्केला ? अनि हाम्रा देव दाइहरु पत्रकार महासंघमा उत्साहपूर्वक होमिने दिन कहिले आउला ? खैर, एक दिन त्यस्तो पनि आउने नै छ । मात्र व्यवसायिक चेतनाले ओतप्रोत व्यवसायिक पत्रकारहरु सबैका भएर भित्रबाहिर एउटै बाध्यताले पत्रकारको हितमा लाग्ने दिनको लागि अझै केहि समय कुर्नैपर्छ भन्ने लाग्यो । यो पनि एकदिन आइएफजे जस्तै बन्ने छ भन्ने मनले भन्यो । एक्लै मनभित्रै बर्बराउँदै म घटना र विचारको कार्यालय पुगेँ ।

त्यहाँ पुग्दा दुर्इ दशक अघिका दिन सम्झनाका छाल बनेर उर्लिए । कतिपय साथीहरु नयाँ भेटिनुभए पनि सम्मानित देव दाजु, बबिता दिदी, जयजी, नवीनजीलगायत पुरानै मित्रहरु साथमा पाएर मन पुलकित भयो । घटना र विचारसम्बद्ध पुराका अन्य साथीहरुलाई समयको हुरीले कता कता पुर्याएछ भनने कल्पँदा चाहिँ एकछि भावुक भएँ । देव दाजुलाई भेटें, आत्मिक कुराकानी भए, बबिता दिदीसंग पनि कुराकानी गरियो । विस्मृत हुन लागेका पुराना कामका सम्झना ताजा गराउँदै दिनभर म कार्यालयमै बसें ।

घटना र विचार साप्ताहिक युरोपबाट समेत प्रकाशन गर्न सकिने सम्भावना र चुनौतीबारे सामानय चर्चा त गरियो दाजुसँग, गम्भीर बहस भने हुन पाएन । भन्नुपर्दा समय अलिक अभाव भयो तर हाम्रो कोशिस रहने कुरा मैले देव दाजुलाई प्रस्ताव गरेँ । संघर्ष गरे असफल भइन्छ जस्तो लाग्दैन । २००६ देखि २०१४ सम्म एभरेष्ट टाइम्स बेल्जियमबाट निकालिएकै हो । थोरै समस्या आर्थिक र प्राविधिक टिमको हो, त्यसको समुचित समाधान निकाल्न नसकिने सवाल नै रहेन।

अर्कोदिन म बिरामी जस्तो अनुभूति गर्दैथिएँ र पनि आफ्नो घरगाउँ गैडाकोटतर्फ लागेँ । उपचारको क्रमले मेरो अमुल्य एक हप्ता त्यत्तिकै पचाइदियो । गैँडाकोटमा रहेकी मेरी प्यारी सीता बैनी, ज्वाइँ, भान्जाभान्जीसंग एकदिन बिताएँ । सो क्रममा मेरा ७९ वर्षीय कान्छो बुबा, कान्छी आमा, माइली आमा, दाइहरु सबैलाई भेटेँ । १६ नम्बर नारायण जिसी, भोला शाही, योगेन्द्र दाजु , तेजेन्द्र , कृष्ण लगायतका साथीहरु भेट भए ।

मलाइ अर्घाखाँचीबाट भेट्न आउने मित्र विनोद गैरेसँग पनि गफगाफमै एकरात गुजारियो । साथीलार्इ सम्झिन्छु फोन नम्बर दिएर पनि फोन नगर्ने र भेट्न नरुचाउने केहि मेरा पुराना साथीहरु मेरै वरपर थिए । मैले भेट्न खोजेको पनि हुँ, उनीहरुले चाहेनन् वा समयले दिएन स्वयम जानुन् । तर विनोदजीले पाँच सय किमि टाढाबाट बाइकमा आएर पनि भेट गर्नुभयो । जुन भेट मेरोलागि यादगार र जीवन्त बनिरहने छ ।

भाद्र १८ को दिन मेरा ससुराबुबा स्वर्गीय कलानिधि कँडेलको वार्षिक श्रध्दान्जली कार्यक्रम थियो चितवनको सरत्पुरमा । त्यहाँ दिनभर आफन्तहरुलाई भेटेर बिताइयो । नेपाली कांग्रेसका सम्मानित पूर्वसभासद तथा मेरा ठुलो ससुराबुबासँग पनि सोहि अवसरमा भेटघाट गर्न पाइयो । सोही बेलुका काकाको छोरा बिष्णुदत्तकोमा पुगी रात बिताएँ । त्यहाँ मेरा माइला बुबा आमा लगायतसंग पनि भेट भयो ।

आफ्ना सबै इष्टमित्र, फुपू पुसाजु, मामा भेटेर म एकदिन चितवन इन्द्रपुरी हजुरबालाई भेट्न गएँ । हजुरबा उमेरले ८१ बर्षका तर जाँगर भने के कुरा गर्नु ? जानेबित्तिकै मलाइ पच्चीस थान किताब दिँदै यो मैले प्रकाशन गरेको किताब हो बाबु… लगेर साथीहरुलाई बाँडीदिनु भन्नुभो । ती किताबभित्र के लेखेको छ हेर्दै नहेरी उहाँको आदेशलाई शिरोधार्य गरेर सबै किताब झोलामा हालें । ति किताब मैले बेल्जियम ल्याएर संविधान दिवसको दिन दुतावासमा भेला भएका केहीलाई वितरण पनि गरेँ । धन्य होस् दिल्लीप्रसाद सापकोटाले ७८ बर्षको उमेरमा छपाएको त्यो पुस्तक अनि गीतानगर इन्द्रपुरी चितवनको माटोले दिएको जाँगर । हजुरबासंग बिदा भएपछि म र मेरी तारा छुट्टियौं । म बेल्जियम फर्किने तर्खरमा काठमाण्डु लागेँ भने उनी दशैँ मानेर फर्किने भएकोले भेडाबारीतर्फ़ लागिन् ।

चितवनतर्फबाट काठमाडौं फर्किएको भोलिपल्ट पत्रकार नारायण शर्माले बिहानै फोन गरेर प्रगतिशील गायक जीवन शर्माकी आमा टिचिङ अस्पतालमा बितेको खबर दिनुभयो । जीवनजीलाई मैले दिनको एकपटक फोन गर्थें र पनि उहाँको फोन किन उठिरहेको थिएन भन्ने सामान्य बोध भयो । भेट्ने इच्छा तीव्र हुँदाहुँदै पनि आमाको मलामी बनेर जाँदा बाहेक भेट हुन लेखेन । त्यो पनि जयजीले बेफुर्सदबीच समय मिलाएरआफ्नो साधनमा आर्यघाटसम्म लगिदिनुभएकोले सम्भव भयो, अन्यथा भन्न सकिन्नथ्यो । त्यो मेरो लागि सौभाग्य नै भन्नुपर्छ कि ८८ वर्षमा महाप्रस्थान गर्नुभएकी आमालाई अन्तिम श्रद्धान्जली अर्पण गर्न पाइयो र सम्मानित मित्र जीवनजीलाई झुलुक्क भए पनि त्यो अवस्थामा दर्शन गर्न पाइयो । शोक पुस्तिकामा नाम चढाएर म बनस्थलीस्थित आफन्त भेट्न गएँ र राति कमला वहिनीकोमा बास बसें ।

मेरो उडानको दिन घटना र विचारका व्यवस्थापक नवीननजीको आतिथ्यता स्वीकार गर्दै हामी तीन भाइ जयजी, म र नवीनजी राति अबेरसम्म मिठामसिना गफमा रल्लिएर बितायौँ । भोलिपल्ट सवेरै पाँच बजे नवीनजीले मलाई एयरपोर्टसम्म छोड्न जाँगर चलाउनुभएकोमा भित्रैदेखि आभार प्रकट गरेँ । यसरी अत्यन्त न्याना साथीहरुलाई छोडेर कर्मभूमितिर लाग्न बाध्य भइयो । नेपाल बसाइका क्रममा समस्त मित्रजन, आफन्तजनबाट प्राप्त आतिथ्यलाई मेरो हार्दिक सलाम छ ।