प्रजातान्त्रिक दूध कि जनवादी रक्सी ?

प्रजातान्त्रिक दूध कि जनवादी रक्सी ?


रक्सी खानुभन्दा दूध खानु जाति भन्ने कुरा थाहा हुँदाहुँदै पनि कसैले दूधको र रक्सीको ग्लास सँगसँगै राखेको बेलामा दूधलाई पन्छाएर रक्सी खाइदियो भने त्यो रक्सी खानेको कमजोर मानसिकता हो । तँलाई झुक्याएर दूधको सट्टा रक्सी खुवाइदियो भने त्यो रक्सी खुवाउनेको धूत्र्याइँ हो ।

दूधले दीर्घकालीन रूपमा स्वास्थ्य र बुद्धिलाई फाइदा गर्छ । रक्सीले तुरुन्तै जोस दिन्छ, तर दीर्घकालसम्म त्यसैले स्वास्थ्य र बुद्धि दुवैलाई कमजोर बनाइदिन्छ । वर्तमान राजनीतिक परिप्रेक्ष्यलाई ऐतिहासिक कसौटीमा घोट्ने हो भने निष्कर्ष एउटै निस्कन्छ– प्रजातन्त्र भनेको दूध हो, जनवाद भनेको रक्सी हो । प्रजातन्त्रले जनतालाई गाईको एक पाथी दूध खान दिन्छ भने जनवादले चाहिँ एक ट्वाक रक्सी जनतालाई खान दिन्छ ।

निश्चित् हो– एक पाथी दूधले तुरुन्त असर गरेको थाहा पाइँदैन, तर एक ट्वाक रक्सीले तुरुन्तै असर पार्छ । जनताले जब दीर्घकालीन हित नहेरेर तुरुन्तैको असर खोज्छ, अनि देशमा जनवाद मौलाउँछ । लगातार रक्सी खाइरह्यो भने त्यसले के–कस्तो हानि गर्छ, सबैलाई थाहा छ । जनवादी रक्सीले पनि भविष्यमा जनतालाई त्यस्तै निकम्मा, कमजोेर र अन्ततः अल्पजीवी बनाइदिन्छ ।

जनवाद तुरुन्तै आउने जोस र उत्साह खोज्छ, भविष्यमा त्यसले के–कस्ता नकारात्मक असरहरू पार्छ त्यतातिर हेर्दैन । राष्ट्रको अर्थतन्त्रसँग जनवादको कुनै नाता पर्दैन । प्रजातन्त्रचाहिँ राष्ट्रको अर्थतन्त्र बलियो बनाउन खोज्छ र आवश्यकताअनुरूप जनतालाई दीर्घकालीन रूपमा स्वस्थ र सबल बनाउन खोज्छ । त्यसैले जनतालाई जनवादले रक्सी दिन्छ, प्रजातन्त्रले दूध ।

प्रजातन्त्र भन्छ– गाई पाल, स्याहार–सुसार गर र सधैंभरि दूध खाइरहू । जनवाद भन्छ– गाई काट, मसला हालेर सुकुटी बनाऊ र आनन्दपूर्वक खाऊ गाई पालेर दुःख नबेसाऊ ।

गाईको दूध खान आग्रह गर्छ प्रजातन्त्रले, रक्सी खान आदेश दिन्छ जनवादले । प्रजातन्त्रलाई आदेश दिन आउँदैन, जनवादलाई आग्रह गर्न आउँदैन । प्रजातन्त्रले गाईको सुकुटीसँग रक्सी खान भन्दैन, जनवादले गाईको दूध खाइरहन भन्दैन । जनता नै रक्सी खान खोज्छ, दूध दिने गाई काट्न खोज्छ, अर्काको आदेश पालना गर्न खोज्छ भने कसको के लाग्छ ।

न त रक्सी कहिल्यै प्रजातान्त्रिक हुन सक्छ, न त दूध कहिल्यै जनवादी हुन सक्छ । प्रजातन्त्र र जनवाद दुवै हातेमालो गरेर सँगसँगै हिँड्न कहिल्यै सक्दैनन् । जनताले पनि प्रजातन्त्र र जनवाद एउटै शरीरका दुई आँखा भन्न सुहाउँदैन । प्रजातन्त्रलाई देवताको संज्ञा दिने हो भने जनवादलाई सैतानको संज्ञा दिए हुन्छ । देवता र सैतान एउटै रथका दुई पाङ्ग्रा हुन सक्दैनन् ।

जनतालाई कहिल्यै वादविवाद गरी निष्कर्ष निकाल्न नदिने वाद हो जनवाद । जनतालाई सही र गलत छुट्याउने अधिकार दिई उनीहरूको अधिकारको रक्षा गर्ने तन्त्र हो प्रजातन्त्र । जनवादको आँखा एउटा हुन्छ, प्रजातन्त्रको आँखा दुईवटा । जनवादसँग गोली हुन्छ, प्रजातन्त्रसँग बोली । बुलेट जनवादी भाषा हो, ब्यालेट प्रजातन्त्रवादी भाषा । प्रजातन्त्रले जनवादको पनि रक्षा गर्छ, जनवादले प्रजातन्त्रको हत्या गर्छ । प्रजातन्त्र बरु आफू मर्छ, तर अरूलाई मार्न चाहँदैन, जनवाद भने अरूलाई मार्न चाहन्छ, तर आफू मर्न चाहँदैन । प्रजातन्त्रभित्र जनवाद अटाउँछ, जनवादभित्र प्रजातन्त्र अटाउँदैन ।

नेपालको कुरा गर्ने हो भने जनतालाई दूध खुवाउने बहानामा कसले विषसमेत मिसाइएको रक्सी खुवाएको छ ? रोगमुक्त पारिदिने निहुँमा कसले जनताको शरीरमा एड्सको जीवाणु प्रवेश गराइदिएको छ ? दूध खाइरहेका जनतालाई अचानक रक्सी खुवाएर उत्तेजित पारिदिने, अनि त्यही मौकामा कहिल्यै निर्मूल हुन नसक्ने रोग प्रवेश गराइदिने शक्ति को हो ? यी र यस्तै प्रकारका अन्य थुप्रै प्रश्न नेपाली बुद्धिजीवीबीच उठिरहेका छन् । यसको जवाफ सबैलाई थाहा छ, तर बोल्न कोही सक्दैनन् । किनभने अशरीरी देवतासँग भन्दा सशरीरी सैतानसँग मान्छेले बढी डर मान्छ ।

विल्हेल्म नित्सेले एकपटक भनेका थिए– ‘मलाई आफ्नै मित्रहरूबाट बचाऊ, शत्रुहरूसँग बच्न त म आफैँ सक्षम छुु । पछाडिबाट छुरी हान्ने जमात बढिरहेको छ । त्यो जमात भनेको जनवादी जमात हो । जनवाद सियो भएर पस्ने र फाली भएर निस्कने वाद हो । प्रजातन्त्रको धर्म हो नरम हुनु । जनवाद प्रजातन्त्रको यही नरमपनाबाट फाइदा उठाउँछ । ऊ जनताको मित्रजस्तो देखिन्छ । जब जनता जनवादलाई मित्र मानेर आफूसँगसँगै हिँडाउँछ, अनि ऊ जनताको पिठ्युँमा छुरी धस्छ । पूर्वसोभियत सङ्घ, पूर्वकालीन पूर्वी जर्मन, हालको चीन र उत्तरकोरियाले विश्वलाई यसैगरी आफ्नो परिचय दिएका छन् ।

जनवाद सुकिलो र राम्रो कपडाले सुसज्जित झुट हो भने प्रजातन्त्र नाङ्गो सत्य हो । सत्य र झुटको विषयमा खलिल जिब्रानले अत्यन्त सुन्दर प्रतीकारात्मक लघुकथा लेखेका छन् । अहिले जनताको दृष्टि सुकिलो र राम्रो कपडाले सुसज्जित झुटमा अडिएको छ, सत्य हेपिएको छ । नाङ्गो हुनु सत्यको स्वभाव हो । जनता नाङ्गो सत्य हेर्न चाहँदैन र झुटको पछि–पछि दगुर्छ भने प्रजातन्त्रको के लाग्छ ! सत्यको के लाग्छ !!

नेपाली जनतामाथि र नेपालको अर्थतन्त्रभित्र केही समय पहिलेदेखि जुन प्रकारका केही रोगहरू प्रवेश गराइएका छन्, ती रोगहरूलाई निमिट्यान्न पार्न साधारण प्रयास र साहसले कसैले सक्दैन । तुरुन्तै लोकप्रिय देखिन राष्ट्रको अर्थतन्त्रलाई डामाडोल पारिदिने कार्यको प्रारम्भ भइसकेको छ, र यो नै राष्ट्रिय ढुकुटीभित्रको एड्स हो । दूध खुवाउने निहुँमा गाईको सुकुटीसँग रक्सी खुवाउने र सोझा–सीधा जनतालाई तुरुन्तै उत्तेजित पार्ने क्रियाकला हाम्रो देशले भोगिसकेको छ ।

जनवादी क्रियाकलापले जनतालाई पङ्गु बनाइरहेको र उल्टै जनताले जनवादी क्रियाकलापलाई नै साथ दिइरहेको देखेर अहिले प्रजातन्त्र रोइरहेछ, देश र जनताको कहालीलाग्दो भविष्य देखेर चिन्तित भइरहेछ । एक पाथी दूध नाइँ एक ट्वाक रक्सी खान खोज्नेहरूले देशको भविष्यको बारेमा सोच्ने त कुरै भएन, तर आफ्नै भविष्यलाई पनि बिगारेको देखेर प्रजातन्त्रको आँखा आँसुले छछल्काइरहेछ ।

हिजोसम्म जे भयो सो भयो । जब पनि मेरो मित्र, तपाईं आफ्नै छातीमा हात राखेर नढाँटी भन्नोस् त– गाईको एक पाथी शुद्ध दूध खान जाती कि एक ट्वाक्क रक्सी खानु जाती ?

(२०५४ साल साउन १ गते बुधबार)