बेचेको भनेको देश फिर्ता भयो त ?

बेचेको भनेको देश फिर्ता भयो त ?


– अमर लामा

सिङ्गो राष्ट्र उथलपुथल भएको टनकपुर सन्धिले अब राम्रैसँग पार पाएको छ । यही माघ १५ गते सम्पन्न नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकले नेपाललाई त्यसबाट मूलभूत उपलब्धिहरू हासिल गर्नमा सफलता दिलाएको छ । त्यसअघि भएका सन्धिहरूभन्दा यसपालिको सन्धिबाट नेपाललाई अपेक्षाकृत लाभ भएको कुरा सर्वव्यापी चर्चाको विषय बनेको छ । यसको श्रेय जो–जसले लिन खोजे पनि यसको परख पनि सबैले निकै गर्नेछन् । एकपटक नेपाली जनता गर्व र बधाईको पात्र बनेको छ । यो प्रत्येक राष्ट्रप्रेमी देशभक्त र विकासवादीहरूका लागि खुसी र गर्वको कुरा हो ।

यो सम्झौताले धेरै नेपालीलाई विकासको राहत पु¥याएको छ भने कसैलाई बाहिर लाज छोप्ने जे भने पनि भित्र–भित्र भने आहत र मर्माहत पु¥याएको नहोला भन्न सकिन्न कि जसले राष्ट्रियताको मर्म र भावनालाई स्वार्थपूर्ति गर्ने चुनावी नारा बनायो, जसले राष्ट्रिय हित र सम्वद्र्धनलाई पार्टीको स्वार्थ पूरा गर्ने राजनीतिक हतियार बनायो र जसले आफूबाहेककाले गरेको तमाम रचनात्मक कार्यहरूलाई सङ्कीर्णता र सङ्कुचितताको दृष्टिले देख्दथे, तिनीहरूलाई भने यसपालिको सम्झौताले नराम्रो चोट पु¥याएको छ भन्न सकिन्छ । यसकारण कि अबका दिनहरूमा टनकपुरको नाउँबाट तिनीहरूको स्वार्थ पूरा हुने छैनन् । अबका दिनमा टनकपुरको नाउँबाट नेपाल बन्द, चक्काजाम गराउन पाउने छैनन् अनि टनकपुरको नाउँबाट तिनीहरू जनतालाई आँखामा छारो हाली चुनावी मसला बनाई भोट बटुल्ने हतियार नै बनाउनबाट उनीहरू बन्चित भएका छन् ।

माघ १५ गतेको सम्झौताबाट कसैलाई लाभ–हानि जे भए पनि राजनीतिक मञ्च र सडकबाट अबका दिनमा टनकपुरको नामबाट कसैले फोहोरी राजनीतिबाट उनीहरू बन्चित भएका छन् । जसले हिजो त्यसबाट राजनीतिक फाइदा लिने घृणित कार्य गरे । सबैका लागि खुसीको कुरा कि अब कम्तीमा टनकपुरको नामबाट नेपाल बन्द र चक्काजाम हुने छैनन् । सडकको रेलिङ भत्कने र टेलिफोन बुथ जल्ने छैनन् । त्यसैगरी अब टनकपुरको नाउँबाट सिंहदरबार घेरिने र संसदमा आवान्छित नाराबाजी हुने छैनन् ।

हिजो टनकपुरको विषयलाई लिएर सिङ्गो राष्ट्रलाई अराजकता र अस्थिरताको खाडलमा धकेल्ने र प्राप्त प्रजातन्त्रको मूल्य र मान्यतालाई समेत खतरा पु¥याउने एमाले आज आएर त्यही विषयमा भएको सम्झौतामा निसर्त सहमति र समर्थन अनि स्वागत गर्नेमा अग्रपङ्क्तिमा उभिएको देखिन्छ । त्यति मात्र होइन, लाजै नमानी एमाले यसपालि भएको उपलब्धिको श्रेयमा आफू दाबी गर्दै छ । सम्झौताप्रति समर्थन र स्वागतमा कसैको आपत्ति छैन, आपत्ति यसमा छ कि सम्झौताप्रति एमालेको सहमति र समर्थनमा केही कालो नियत छ, छैन ? एमालेको सहमति र समर्थनमा कतै बदनियत र दुराशय त लुकेको छैन ?

सबैलाई लागेको थियो यसपालिको सम्झौताको पनि एमालेले उग्र विरोध गर्नेछ किनभने त्यो उसको अहंकारजन्य परम्परागत विषय बनिसकेको छ । यो सोच यसकारण स्वाभाविक थियो कि हिजो एमालेले टनकपुरमा देश बेच्यो, नदी बेच्यो, राष्ट्रघात ग¥यो आदि–आदि लाञ्छनाहरू लगाएको थियो कि यसपालिको सम्झौतालाई २०४८ सालमा गिरिजाबाबुले बेचेको भनेको देश, नदी, राष्ट्र फिर्ता भयो त ? एउटा कोणबाट हेर्ने हो भने यसपालिको सम्झौतामा पनि खासै नेपालले पाउनुपर्ने मूल्य अझै पाएको छैन, थोरै पायौँ धेरै गुमायौँ यो हाम्रो विवशता र बाध्यता हो ।

यसपालिको सम्झौता र उपलब्धि एमालेको हिजोको सडक नारासँग कुनै ताल्लुक राख्दैन । एमालेलाई पनि थाहा छ कि उसले मागेअनुरूपको माग भारतले कहिल्यै पूरा गर्न सक्दैन । त्यो त खालि चुनावी मसला र काङ्ग्रेसी अखबारविरुद्ध चलाउने राजनीतिक हतियार, जनता छक्याउने प्रोपोगाण्डा मात्र थियो । उम्लियो भने पोखिन्छ, हुत्तियो भने ठोक्किन्छ । यसभन्दा अगाडि एमाले धेरैचोटि पोखिएको छ र नौमहिने अवधिमा ऊ नराम्रोसँग ठोक्किएको छ । नौमहिने शासनकालको पोखाइ र ठोक्काइको चेत नै यसपालिको सम्झौताप्रतिको सहमति हो । एमालेले यसपालिको सम्झौताप्रति सहमति र स्वागत अनि समर्थन जनाएको छ । त्यो राम्रो कुरा हो, तर त्यसभन्दाअघि एमालेले टनकपुरको मायापुरमा गरेको त्यो हिजोको कालो कर्तुतप्रति र त्यो अराजकता र अस्थिरताको जिम्मेवारी लिँदै उसले सार्वजनिक क्षमा याचना गर्नुपर्ने थियो, जनताको अभिमत पनि योभन्दा पृथक नहोला ।

यसपालिको सम्झौता र उपलब्धिको श्रेयप्रति एमाले दाबा गर्दै छ । यो राजनीतिको अनि कूटनीति जान्नेका लागि यो अत्यन्तै मूर्खतापूर्ण कुरा हो । यदि भएको श्रेय एमाले चाहन्थ्यो त त्यो श्रेयको हकदार हिजो ९ महिने शासनकालमा उसले किन अवलम्बन गर्न सकेन ? त्यसको साटोमा किन महाकाली प्याकेज डिलको नाउमा नेपाली जनतालाई भ्रममा पारी जनघाती दुस्साहस ग¥यो ? आफूले गर्न नसक्ने र अरूले गरेका फलदायी श्रेयचाहिँ आफूले लिने ? यो राजनीतिक बेइमानी र घृणित कार्य हो । आफू नपुङ्शक हुने अनि परपुरुषबाट जन्मिएको शिशुलाई मेरो छोरा भनेर पुरुषार्थ देखाउने ? अस्तु ।
(घटना र विचार साप्ताहिक, २०५२ फागुन २ गते बुधबार)