सन्दर्भ महिला दिवस महिला र मुटुरोग

सन्दर्भ महिला दिवस महिला र मुटुरोग


-सम्झना शाक्य
पृष्ठभूमि
हिजो भर्खरै मात्र हामीले ‘शिक्षा, तालिम र विज्ञान प्रविधिमा महिलाको समान पहुँच : महिला रोजगारीको मूल बाटो’ भन्ने नाराका साथ १००औँ अन्तर्राष्ट्रिय नारी दिवस मनायौँ । नारीसँग सम्बन्धित विभिन्न विषयमा चर्चा-परिचर्चा गर्ने यो सुनौलो अवसर हो । विश्वको आधा जनसङ्ख्या ओगटेका महिला अवसरका हिसाबले पुरुषभन्दा निकै पछाडि परेको र विभिन्न क्षेत्रमा पुरुषले भन्दा पृथक चुनौती भोगिरहेको तथ्य सबैलाई अवगतै छ । यसैले शिक्षा, तालिम, विज्ञान, प्रविधि, रोजगारीजस्ता महत्त्वपूर्ण क्षेत्रमा महिलाका लागि समतामूलक नीतिहरू हुनुपर्छ भन्ने विषयमा दुईमत नहोला । यसै सन्दर्भमा स्वास्थ्य समस्याहरूलाई पनि लैङ्गिक अवधारणाबाट विश्लेषण गर्नु आजको आवश्यकता हो ।
हाल विश्वलाई आक्रान्त पार्दै बढ्दै गइरहेको मुटुरोगको प्रकोपले महिलालाई कस्तो प्रभाव पार्नेछ त ? भन्ने विषय यस क्षेत्रमा काम गरिराखेका र यस क्षेत्रमा चासो राख्ने जोकसैका लागि पनि जिज्ञासाको विषय हो । जनमानसमा, मुटुरोग पुरुषहरूको प्रमुख समस्या हो र यसबाट पुरुषहरू बढी प्रभावित छन् भन्ने विश्वास छ, यसमा केही हदसम्म सत्यता भए तापनि, महिलालाई मुटुरोगले कम प्रभाव पार्छ भन्ने आमसोचाइ गलत हो । महिलामा मुटुरोग स्तनक्यान्सरजस्ता महिलाको प्रमुख समस्याका रूपमा लिइएका रोगहरूभन्दा कैयौँ गुणा बढी पाइएको छ । वास्तवमा विश्वको तथ्याङ्क हेर्ने हो भने महिलाको मृत्युको कारणहरूमध्ये मुटुरोग अग्रपङ्क्तिमा आउँछ । यद्यपि मुटुरोग महिलाको प्रमुख समस्या हो भन्ने तथ्यबाट साधारण जनमानस मात्र होइन, कैयौँ स्वास्थ्यकर्मीमा समेत यसको चेतनाको कमी छ । यस तथ्यलाई मनन गरी विकसित मुलुकहरूमा फेब्रुअरी महिनाको पहिलो शुक्रबारलाई महिलामा मुटुरोगको जोखिमबारे जनचेतना जगाउने अभियानस्वरूप मुटुको प्रतीकस्वरूप ‘रातो लगाउने दिन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ । हाम्रोजस्तो विकासशील मुलुकमा यसलाई खासै ध्यान दिइएको पाइँदैन ।
महिलामा हुने केही प्रमुख मुटुरोगहरू र यसको जोखिममा महिलाको फरक अवस्था
विश्वको सन्दर्भमा हृदयाघात र पक्षाघात महिलालाई हुने प्रमुख मुटुरोगका रूपमा मानिन्छ । यस अलावा नेपालजस्तो विकासशील राष्ट्रमा बाथजरो तथा बाथमुटुरोगले महिलालाई शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा समेत असर गरेको छ ।
उमेर, लिङ्ग, वंश, धुम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपना, निष्क्रिय जीवनशैली हृदयाघातका प्रमुख कारक तत्त्वहरू हुन् । यी कारकतत्त्वहरूले महिला र पुरुष दुवैलाई असर गर्छ । लैङ्गिक हिसाबले पुरुषमा हृदयाघात हुने सम्भावना बढी देखिए पनि महिनावारी रोकिइसकेका महिला र सोही उमेर समूहका पुरुषहरूमा यस रोगको अबस्था उस्तैउस्तै छ । अझ हृदयाघात तथा पक्षघातको कारणले मृत्यु हुने सम्भावना पुरुषको भन्दा महिलाको धेरै हुन्छ । यसको कारण स्पष्ट नभए पनि महिलाले आप\mनो स्वास्थ्यप्रति चनाखो नहुने र तुरुन्तै स्वास्थ्य उपचार नगराउने विद्यमान अवस्थालाई सम्भावित कारणको रूपमा लिइएको छ । धुम्रपान गर्ने महिलामा धुम्रपान गर्ने पुरुषलाई भन्दा बढी हृदयाघात हुने सम्भावना रहन्छ । धुम्रपानको अप्रत्यक्ष असरका स्वरूप धुम्रपान गर्ने पुरुषकी श्रीमतीलाई पनि हृदयाघात भएको पाइएको छ । धुम्रपान गर्ने तथा उच्च रक्तचाप भएका महिला जो हर्मोनयुक्त गर्भनिरोधक साधन पनि प्रयोग गर्छन् त्यस्ता महिलामा हृदयाघातको जोखिम अझ बढी हुन्छ ।
त्यसका साथै मोटोपना हृदयाघातको प्रमुख कारकतत्त्वमध्ये एक पर्छ । यसमा पनि कम्मरको गोलाइले बढी महत्त्व राख्दछ । पुरुषको तुलनामा कम्मरको गोलाइ बढी हुने समस्या महिलामा धेरै पाइएको छ जसले गर्दा स्वत: महिलाको जोखिम बढेको छ । यसबाट के बुझिन्छ भने, मुटुरोगको जोखिम महिलालाई पनि पुरुषलाई जत्तिकै छ, अझ कतिपय अवस्थामा महिलाको अवस्था पुरुषको भन्दा बढी जोखिममा पर्छ ।
महिलामा मुटुरोगका चुनौती जनचेतनाको कमी
आजसम्म पनि मुटुरोगलाई महिलाको प्रमुख समस्याको रूपमा हेरिएको छैन । महिला आफै र स्वास्थ्यकर्मीहरूमा समेत यो महिलाको प्रमुख समस्या हो भन्ने धारणाको विकास हुन अझै बाँकी छ । कतिपय महिला रोगले बेस्सरी नच्यापेसम्म चिकित्सककोमा पुग्ने गर्दैनन् । त्यति मात्र होइन, नेपालको सन्दर्भमा जनचेतना जगाउने खालका कार्यक्रमहरूको पनि अभाव छ ।
लक्षण पत्ता लगाउन गाह्रो
हृदयाघातको प्रमुख लक्षण छाती दुख्नु हो तर महिलामा छाती नदुखीकन नै हृदयाघात हुन सक्दछ । छाती दुख्ने लक्षण प्रमुख रूपमा नदेखिइकन हृदयाघातका अन्य लक्षणहरू मात्र पनि देखिन सक्छन् । ती लक्षणहरू श्वास फेर्न गाह्रो हुनु, घाँटी कुम बंगारातिर दुख्नु, वाक्वाक् लाग्नु तथा बान्ता हुनु, बिना कुनै कारण असाध्यै थकाइ लाग्नु आदि हुन् । यी लक्षणहरू अरू सामान्य रोगहरूमा पनि देखिने हुँदा झुक्किन तथा अल्मलिने सम्भावना रहन्छ । त्यस्तै गरी ६५ वर्षभन्दा माथि उमेरका महिलामा घुँडा दुख्ने, कम्मर दुख्नेजस्ता अन्य दुखाइहरू पनि रहने हुँदा हृदयाघातको दुखाइ कम महसुस हुन पनि सक्छ । यी सबै कारणले गर्दा उपचारमा ढिला हुने सम्भावना रहन्छ ।
परिवार नियोजन महिलाको रहर कि बाध्यता
हुन त परिवार नियोजन महिला र पुरुष दुवैको समान जिम्मेवारी हो । तर, परिवार नियोजनका साधन प्रयोग गर्नुलाई महिलाको मात्र जिम्मेवारीका रूपमा लिइन्छ । यसले महिलालाई थप जोखिममा पार्छ । त्यसैले गर्भनिरोधक साधनहरू प्ा्रयोग गर्दा यसका फाइदा-बेफाइदाका बारेमा छलफल गरी आफूलाई सुहाउँदो साधनको छनोट गर्न जरुरी हुन्छ । यसका अलावा महिनावारी सुकिसकेका महिलामा प्रयोग गरिने हर्मोन थेरापीले पनि महिलालाई हृदयाघातको जोखिममा पार्छ । यस्ता महिलाले आप\mनो चिकित्सकसँग छलफल गर्नु जरुरी छ ।
आर्थिक तथा सामाजिक चुनौती
मुटुरोगको रोकथाम सरल र सस्तो भए तापनि यसको रोग पत्ता लगाउने विधिहरू र उपचार महँगो छ । फलस्वरूप महिलाको आर्थिक अवस्था कमजोर रहेको र घरको आर्थिक स्रोतमा महिलाको पहुँच न्यून रहेको अवस्थामा महँगो खर्च व्यहोरी गर्नुपर्ने मुटुरोगको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महिलाले कम प्राथमिकता पाएका हुन्छन् । मुटुरोगको समस्या महिलाको प्रजननसँग पनि जोडिएको कारणले गर्दा कतिपय महिला मुटुरोगी सामाजिक समस्या झेल्नसमेत बाध्य छन् । यतिमात्र होइन जन्मजात मुटुरोग भएका बालबालिका जन्मेमा त्यसको दोष महिलालाई थोपर्ने परम्परा पनि यथावतै छ ।
प्रजनन शक्तिमा असर
महिलाको प्रजनन शक्तिलाई प्रत्यक्ष रूपमा असर पार्ने मुटुरोग बाथ मुटुरोग हो । बाथमुटुरोगले मुटुका भल्भहरू बिगार्न सक्दछ । त्यसको उपचार भल्भ फेर्नु हो । भल्भ फेर्दा मेकानिकल भल्भ राखेका महिलाहरूमा जीवनपर्यन्त रगत पातलो गर्ने औषधि खानुपर्ने हुँदा गर्भावस्था चुनौतीपूर्ण हुन्छ र सामान्यतया बिरामीलाई गर्भवती नहुने सल्लाह दिइन्छ । जसको सामाजिक असर अझ धेरै हुन्छ । महिलाको प्रतिष्ठा उसको विवाह र प्रजनन क्षमतासँग दाँज्ने नेपाली समाजमा सामाजिक रूपमा यस्ता महिलाले हेयको अवस्था भोग्न बाध्य भएका छन् । जन्मजात मुटुरोग भएका महिलाको सामाजिक अवस्था पनि लगभग बाथमुटुरोग भएका महिलाको भन्दा भिन्न छैन ।
महिलामा मुटुरोग रोकथाम तथा नियन्त्रणका उपायहरू
म्ाहिलाहरू आफै यस रोगप्रति सजग हुनुपर्छ । समयसमयमा आप\mनो जाँच-पड्ताल गर्ने गर्नुपर्छ । नियमित व्यायाम गर्ने र स्वस्थ खाना खाने बानी गर्नुपर्छ । धुम्रपान गर्ने बानी छ भने त्यसलाई आजैबाट त्याग्ने प्रयास गर्नुपर्छ भने धुम्रपान नगर्ने महिलाले आफूलाई अप्रत्यक्ष धुम्रपानबाट जोगाउनुपर्छ । त्यसका अलावा उच्चरक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेहजस्ता रोगहरूलाई हेलचेक्य्राइँ गर्नुहुँदैन । आप\mनो वजन आवश्यकताभन्दा बढी हुन दिनुहुँदैन । मुटुरोगका कुनै पनि लक्षण देखिएको सन्दर्भमा तुरुन्तै स्वास्थ्य संस्था जानुपर्छ ।
मुटुरोग भएका बिरामीले मुटुरोगको जाँच पड्ताल तथा उपचारका विभिन्न तरिकाका विषयमा आपनो चिकित्सकसँग छलफल गरी समाधानको उपाय खोज्नुपर्छ । यसको उदाहरणको रूपमा, भल्भ फेर्नुपर्ने महिला बिरामीहरूले मेकानिकल भल्भको सट्टा चिकित्सकसँग फाइदा, बेफाइदा र आवश्यक खर्चका बारेमा परामर्श गरी टिस्यु भल्भ प्रयोग गर्न सक्छन् । टिस्यु भल्भ प्रयोग गर्दा जीननपर्यन्त रगत पातलो गर्ने औषधि खानु नपर्ने हुँदा केही हदसम्म प्रजनन क्षमता सबल रहन्छ । त्यस्तैगरी गर्भवती महिलाले गर्भावस्थामा नै बच्चाको मुटुको भिडियो एक्स रे गराई जन्मजात मुटुरोग रहे-नरहेको पत्ता लगाउन सक्ने प्रविधि पनि नेपालमा नै उपलब्ध भइसकेको छ । यसरी नेपालमा नै उपलब्ध भएका सेवा-सुविधा तथा अवसरहरूको उपभोग गरी मुटुरोगको नकारात्मक असरहरूलाई केही हदसम्म कम गर्न सकिन्छ ।
मुटुरोगको रोकथाम तथा नियन्त्रणमा जनचेतनामूलक कार्यक्रमहरूले विशेष महत्त्व राख्दछ । यस अलावा महिलालाई लक्षित गरी मुटुरोगसम्बन्धी अध्ययन-अनुसन्धान गर्नु पनि जरुरी छ । समग्रमा हामीले के बुभनु जरुरी छ भने, मुटुरोग,उच्च रक्तचाप, मधुमेहजस्ता नसर्ने खालका रोगहरूको लैङ्गिक विश्लेषण तथा महिलामुखी कार्यक्रमहरू आजको आवश्यकता हो । त्यस्ता रोगहरूले आज विश्वमा जुन नकारात्मक प्रभाव पारिराखेको छ, त्यसविरुद्ध नीति तथा कार्यक्रमहरू तय गर्दा लैङ्गिक दृष्टिकोणबाट विश्लेषण गरी महिलाको समस्यालाई सम्बोधन गर्न सक्यौँ भने हामी सफल हुन सक्दछौँ ।