काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि भूमिपुजन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाणद्वारा शुक्रबार संयुक्त रुपमा भूमिपूजन गरिएको हो ।
६ वर्षअघि (सन् २०१४ नोभेम्बर) मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले उक्त परियोजनाको संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । भारत सरकारको १००० करोड अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरू मध्येको एक हो । यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘@India@75 आजादीका अमृत महोत्सव’को एक हिस्साको रुपमा रहेको सम्बद्ध पक्षको भनाइ छ ।

यस परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिने बताइएको छ ।
दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ भने आधुनिक सेवा-सुविधासहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ-सहयोगमा निर्धारित समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै वहाँले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने जानमारी पनि दिनुभयो ।
यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
स्मरणीय छ, भारत र नेपालबीच बहुआयमिक तथा बहुपक्षीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीच रहेको निकटतालाई दर्शाउँछ । यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको प्रयासमा भारत सरकारको सदैव सहयोग रहने कुरालाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रिया