प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व-४

प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व-४


✍ श्रीकृष्ण धिमाल

४.६ हाल गढीहरूको अवस्था :

प्राचीनकालदेखि गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय नगर्दासम्म काभ्रेपलाञ्चोकका कोटहरू पनि उपयोगमा थिए । पृथ्वीनारायण शाहको उपत्यका विजयपश्चात् कोटहरू उपादेयता सकिएको थियो र तिनको रक्षा प्रबन्ध पनि हुन छाड्यो । करीब २५० वर्षभन्दा बढी समयदेखि कोटहरू सुरक्षा विहिन अवस्थामा रहेका छन् । डाँडाको टुप्पो तथा शिखरहरूमा टेलिकम टावर, खानेपानी ट्याङ्की, आधुनिक मन्दिर निर्माण कार्य हुँदा कोटको ऐतिहासिकतालाई आँखा चिम्लिएर भौतिक निर्माण गरिएका छन् । यसले कोटको वास्तुकला नास हुन गएको छ । कतिपय कोटहरूमा बाटोसहितका भौतिक निर्माण गर्दा खाइहरू मेटिएका छन् । खाइहरूमा झार उम्रिएका छन् । केही कोटहरू नासिसकेका छन् । कोटहरूमा भएका परम्परागत मन्दिर भत्काएर नयाँ मन्दिर बनाइएका छन् । नयाँ निर्माण गरिएका सबै भौतिक संरचनाहरू आधुनिक शैलीका छन् ।

नेपाल एकीकरणपश्चात कोटहरूको उपादेयता र सुरक्षा प्रबन्ध समाप्त भएको थियो । त्यसबेलादेखि कोटहरू प्रकृतिमा निर्भर रहेका थिए । भौतिक पूर्वाधारका आधुनिक संरचनाहरू निर्माण भएका क्षेत्रमा कोटलाई मौलिक स्वरुपमा फर्काउन कठिन छ । बाँकी रहेका रहेका कोटहरूलाई अझै पनि परम्परागत विधिद्वारा संरक्षण गर्न सकिने आधार प्रशस्त छन् । यस कार्यका लागि सबैभन्दा पहिला कोटहरूमा थप विकास निर्माणका कार्यहरूलाई तत्काल रोकी ड्रइङ डिजाइनसहित डिजिटल अभिलेखीकरण गरी के-कसरी तिनको वैज्ञानिक संरक्षण गर्न सकिन्छ त्यस अनुरुप कार्यचित्र बनाउन अपरिहार्य छ । कोटहरू अतिक्रणबाट पर्दै जानु ठूलो चुनौति देखिएको छ । अतिक्रमणबाट रोक्न सर्वप्रथम कोटको जग्गा संरक्षण गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

४.७ प्राचीन कालको पुरातात्विक प्रमाणका आधारमा पलाञ्चोक क्षेत्रको महत्व :

पलाञ्चोकको प्राचिन नाम पिराकचो ,पिराखचा,पराख्चो हुँदै पलाञ्चोक रहन गएको पूर्व एक नम्बर पुस्तकमा उल्लेख गरिएको छ । पलाञ्चोक पाँचखालबाट ७ किलोमिटर उत्तरपूर्वमा पर्दछ । पलाञ्चोक ५१२६ फिट उचाईमा पर्दछ । लिच्छविकालमा राजा मानदेवको शासन चलिरहेको अवस्थामा विजयाश्वामिनीद्वारा काभ्रेपलान्चोकी श्रीविजेश्वरीदेवीको निर्माण गरिएको ख्यातिप्राप्त भगवतिको मन्दिर पनि यसै क्षेत्रमा पर्दछ । भगवति मन्दिरमा झण्डै तीन फिट अग्लो भगवतिको मुर्ति रहेको छ ।

पुरातात्विक प्रमाणअन्तर्गत् अभिलेख, शिलास्तम्भ, ताम्रपत्र, स्वर्णपत्रजस्ता कडा वस्तुमा लेखिने सामग्रीहरू पर्दछन् । यस क्षेत्रमा विभिन्न कालखण्डका शिलालेख पाइएको छ भने यही क्षेत्रमा भएको उत्खनन्बाट पनि केही तथ्यहरू प्राप्त भएको पाइन्छ । यसक्षेत्रमा ताम्रपत्र र स्वर्णपत्रका प्रमाणहरू पाइएको छैन । यद्यपि, यस क्षेत्रमा सबैभन्दा धेरैमात्रामा अहिले पाइएको भनेको अभिलेखीय प्रमाणहरू नै हुन् । नेपालको लिच्छविकाल र मध्यकालको अवस्थालाई हेर्दा काठमाडौं,पलाञ्चोक भगवती, नाला, पनौती, बनेपा र साँगामा विभिन्न कालखण्डमा राखिएका अभिलेखमा पलाञ्चोक क्षेत्रका बारेमा उल्लेख गरिएको पाइन्छ ।

प्राप्त विवरणअनुसार पलाञ्चोक क्षेत्रको पुरातात्विक प्रमाण संवत् ४२५ को अभिलेखसँगै सुरु हुन्छ । यो अभिलेख पलाञ्चोक मन्दिरको दक्षिण पश्चिम कुनामा पाइएको हो । हिमवत्संस्कृति १ मा योगी नरहरिनाथद्वारा छापिएको यो अभिलेख इतिहास संशोधनको ४७ क्रमागत संख्यामा धनवज्र बज्राचार्यले छपाएका हुन् । सो अभिलेखमा भनिएको छ :

संवत् ४२५ वि.सं. ५६० माघ शुक्ल पूर्णिमाका दिन भट्टारक (गद्दीनशीन) महाराज श्रीमानदेवले सयभन्दा बढी वर्षसम्म (लामो कालसम्म) आज्ञा गरिरहनुभएको बेला सम्राट गृहपतिकी पत्नी विजयस्वामिनीद्वारा भगवती विजयेश्वरीदेवीको प्रतिष्ठा गरियो ।

यो अभिलेख विजयस्वामिनी नामकी एक महिलाले राखेकी हुन् । यस अभिलेखमा उनले आफूलाई सम्राट गृहपतिकी पत्नीको रुपमा चिनाएकी छन् । यो अभिलेख मानदेवले शासन गरेको समयमा राखेको समेत उल्लेख गरिएको छ । अभिलेखमा उल्लेखित‘सम्राट गृहपति’ कुनै राजसम्राट नभई अभिलेख राख्ने विजयस्वामिनीका श्रीमान् हुन् भन्ने धनवज्र बज्राचार्यको मत छ । तिनै विजयस्वामिनीले पलाञ्चोक भगवतीको मूर्ति स्थापना गरेको भन्ने अभिलेखीय प्रमाण पाइन्छ । यो नै अहिलेसम्म प्राप्त भएको पलाञ्चोक क्षेत्रको सबैभन्दा पुरानो अभिलेख हो । बिजयस्वामिनिले वि स५६० मा पलाञ्चोकमा राखेको शिलापत्र नै ससारमा महिलाहरूको नाम अङ्कित गरिएको पहिलो शिलापत्र हो भने ससारमै शाक्त धर्मको पहिलो र सबै भन्दा प्राचिन शिलापत्र नै पलाञ्चोक भगवतिमा रहेको शिलापत्र हो । त्यसै गरि ससारमा पहिलो पटक शिलापत्र लेखाउने र शिलापत्रमा महिलाको नाम लेखाउने महान देवि पनि बिजयस्वामिनि हुन उनले पलाञ्चोक शहरमा राजसु यज्ञ सम्मपन्न गरी बिजेश्वरी भगवति हालको पलाञ्चोक भगवतिको स्थापना गरेकी थिइन्, ससारमै पहिलो पटक महिलाले राजसुयज्ञ सम्पन्न गरेको पहिलो बिश्व घटना पनि पलाञ्चोकको अभिलेख हो । पलाञ्चोक भगवतिको लिच्छविकालिन शिलालेखमा उल्लेख भए अनुसार पलाञ्चोक शहरमा वैदिकशिक्षाको उच्चतम् अभ्यास भएको ऊल्लेख भएपछि हालको पाचखाल नगरपालिकामा लिच्छिवकालमै विश्व विद्यालय तहको शिक्षालय स्थापना भएको सकेत मिल्द छ ।

यो अभिलेखले केहीकेही नयाँ तथ्य समेत उद्घाटन गरेको छ । एकातर्फ यो समयमा मानदेवको शासन पलाञ्चोकसम्म पुगेको कुरालाई यही अभिलेखले पुष्टि गरेको छ भने मानदेव राजा भएको समयमा सो अभिलेख राखिएकोले अभिलेखमा उल्लेख भएको सम्राट शब्द कुनै पदवीको अर्थमा नभइ नामविशेषको अर्थमा उल्लेख गरिएको बज्राचार्यको मत छ । धनवज्र बजा्रचार्यको मतमा पलाञ्चोकमा हालसम्म प्राप्त अभिलेखमध्ये सबैभन्दा पुरानो मानिएको यो अभिलेख राख्न लगाउने विजयस्वामिनी समेत सर्वसाधारण व्यक्ति हुन् ।

लिच्छविकालीन समयमा दुई पक्षबाट अभिलेख राख्ने गरेको प्रचलन पाइन्छ । एउटा राजपरिवारका सदस्यहरूको तर्फबाट र अर्काे सर्वसाधारणलाई समेत अभिलेख राख्ने छुट थियो । राजपरिवारबाहेक सर्वसाधारणले राखेका अभिलेखहरूको प्रमाण खोज्दा देउपाटनको रत्नसंघको अभिलेख, टेबहालको गृहमित्रको अभिलेख, खपिंछेको वसन्तदेवको अभिलेख, बूढानीलकण्ठको मनुदेवको अभिलेख आदि रहेका छन् । त्यसैले पनि यो अभिलेख पनि बज्राचार्यको मतानुसार कुनै सम्राटकी पत्नीको नभइ साधारण व्यक्ति गृहपतिकी पत्नीले राखेको मतलाई बलियो बनाएको छ ।

४.९ पलाञ्चोक क्षेत्रको उत्खनन्बाट प्राप्त प्रमाण :

पुरातत्व विभागले पाँचखाल नगरपालिकाको वडा नं ७ मा रहेको माल्टार र श्रीरामपाटीमा २०७६ जेठ महिनामा उत्खनन् गरेको थियो । सो उत्खनन्को क्रममा यकिन रूपमा लिच्छविकालिन इँटाहरू, र पूर्व मध्यकालका प्राचिन भुमिगत पाइपलाइन भेटिएको उत्खनन्पछि विभागमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धान प्रतिवेदन अनुसार इँटाको आकारको आधारमा केही इँटा लिच्छविकालको बाँकी इँटा १३औँ १४औँ र १५औँ शताब्दीको भएको उल्लेख छ ।

४.९ पाँचखाल नपा-१३ तिमालबेसीमा भेटिएको लिच्छविकालि स्तम्भ :

सुनकोशीको तिरैतिर दोलाघाट–कुशेश्वर जोड्ने प्राचीन बाटो छ । यस बाटोको मध्यबिन्दु तिमालबेसी सुनकोशीको तिरमा एउटा मन्दिर थियो । सुनकोशी नदीको वहाबले मन्दिर संयौँ वर्षअघि बगाएको थियो । बावु-बाजेको पालामा सुनकोशीको किनाराबाट स्थानीयले एउटा कलात्मक प्रस्तर बोकी पीपलचौतारीमा गाडेका थिए । पीपचौताराबाट मन्दिर रहेको भनिएको स्थान करिब २०० मीटर पूर्वोत्तर सुनकोशीको किनारामै पर्दछ ।

पाँचखाल नगरपालिका-१३ तिमालबेसीमा भेटिएको प्राचीन स्तम्भ लिच्छविकालिन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । विभागले ७ महिना लामो अनुसन्धानपश्चात निकालेको प्रतिवेदनमार्फत यस्तो पुष्टि गरेको हो । ८ महिनाअघि पुरातत्व विभागबाट अभिलेख खोज तथा अध्ययनका लागि खटिएको टोलीले सो स्तम्भ फेला पारेको थियोे ।

प्रतिवेदनमा भनिएको छ- ‘यो स्तम्भ मन्दिर वास्तुकलाको महत्वपूर्ण एउटा अंग मान्न सकिन्छ । यस स्तम्भको प्राप्तिले हराएको एउटा सभ्यता एवं स्मारक खोजी गर्ने आधार प्रशस्त गरिदिएको छ ।’ साथै सुनकोशी नदीको मानव सभ्यताको प्राचीनता, स्तम्भको कुन समयको हो, स्तम्भको शैलीको कस्तो वास्तुकलाको अंग लगायतका प्रश्नहरूको उत्तरसहित इतिहासको गर्भमा रहेको सुनकोशी सभ्यता एवं पुरातात्विक क्षेत्रको खोजीका लागि विशेष प्रविधि सहित अध्ययन अन्वेषण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

स्तम्भ भेटिएको स्थान सुनकोसी नदी र झिकुखोलाको दोभानमा पर्छ । तिमालबेसी कोसी नदी उत्पतिसँगै कौसिकी ऋषिले तपस्या गरेको स्थानको भएको किंवदन्ती रहेको छ । यस स्थानमा प्राचीन कालदेखिका धेरै देवीदेवताका मूर्ति र महत्वपूर्ण सम्पदाहरू समेत भेटिँदै आएका छन् । तिमालबेसीको पीपलको चौतारामा रहेको प्रस्तरको सो कलात्मक स्तम्भलाई स्थानीयहरूले भीमसेनको रुपमा पुज्दै आएका छन् ।स्तम्भ भेटिएको स्थानमा लिच्छविकालिन मुद्रा समेत फेला परेका थियो ।

यस्ता छन् विभागको अनुसन्धानबाट प्राप्त तथ्यहरू-

स्थानीयले सुनकोशी किनाराबाट ल्याएर पीपल चौतारीमा राखेको प्रस्तरलाई भीमसेनको प्रतीक मान्दै आएका छन् । स्थानीयले त्यस पत्थरलाई प्रतिकात्मक भीमसेन मानेकोबाट समेत सुनकोशी तिमालबेसीमा भीमसेनको मन्दिर थियो कि भन्ने आशंका पैदा हुन जान्छ । त्यस क्षेत्रमा तामाङ, माझी, दनुवार, बाहुन, क्षेत्री, शिल्पी समुदायको बसोबास बसोबास छ ।

तामाङ, माझी, दनुवारहरू तिमालबेसीका रैथाने जाति हुन् । तिमालबेसीका बासिन्दासँग प्राप्त प्रस्तर संरचनाको प्राचीन सम्बन्धता खुल्न सकेको छैन । त्यस क्षेत्रमा बसोबास गर्ने समुदायले उक्त शिलालाई भीमसेनको रुपमा पुज्दै आएका छन् । यद्यपि बाहुन, क्षत्री, दलित समुदाय÷जाति अन्यत्रबाट बसोबास गर्न आएका हुन् । तर काठमाडौं उपत्यकाको ऐतिहासिकता हेर्दा यस प्रस्तरसँग नेवार समूहको सानिध्यता जोडिएको आभास हुन्छ । यहाँको संरचना विलुप्त भइसकोको छ । सभ्यता हराइसकेको छ । सम्बद्ध मानिसहरूको पनि परपम्परा नासिसकेको छ ।

४.९.१ सुनकोशी सेरोफेरोको ऐतिहासिकता :

सुनकोशी तिमालबेसीको सेरोफेरोमा लिच्छविकालिक सभ्यताका प्रमाण (मूर्ति, अभिलेख)हरू प्राप्त भएका छन् । हिमवत्खण्ड अनुसार सुनकोशीलाई पहेलो वर्णको सुवर्ण कौशिकी नदी भनिन्छ । तामाङ समुदायहरू सुनकोशी नदीलाई गन्धी भन्ने गर्दछन् । गन्धीको अर्थ ठूलो नदी भन्ने हुन्छ । तिब्बती भाषामा छ्यु ङह्यान्पो भनिन्छ । छ्युको अर्थ पानी र ङह्यान्पोको अर्थ नाग हुन्छ । यस लिच्छविकालिक सभ्यताभित्र अभिलेख, मूर्ति सहितका तीर्थ तथा पुरावशेषहरू देखिन्छन् ।

प्राचीन अभिलेखको ऐतिहासिकता हेर्दा पश्चिममा पलाञ्चोकको मानदेवका पालाको संवत् ४२५ तदनुसार वि.सं. ५६० को विजयस्वामिनीको अभिलेख, दक्षिणमा दुम्जा कुशेश्वरको अशुंवर्माको अभिलेख र दक्षिणपश्चिममा भण्कुण्डेबेसीको शिवदेवको संवत् १३१ तदनुसार वि.सं. ७६४ का लिच्छविकालिक अभिलेख छन् । संवत् ३८६ तदनुसार वि.सं. ५२१ को चाँगुनारायणको मानदेवको अभलेखमा लिच्छविराज्यको पूर्वमा कोशी प्रदेशसम्म विस्तारित थियो । उपर्युक्त अभिलेख प्रमाणहरूले कम्तीमा पनि सुनकोशीसम्म लिच्छविराज्य बिस्तारित थियो भन्ने आधार मिल्दछ । कुशेश्वर र पलाञ्चोक महत्वपूर्ण तीर्थका रुपमा प्रसिद्ध छन् ।

४.९.२ प्रस्तर स्तम्भको कलाविशेषता :

स्तम्भको सबैभन्दा माथिल्लो सिरानको भाग (खण्डित) साधा छ । सिरानभन्दा मुनि करिब ५ इन्ची अग्लाइका १६ खण्डहरूले गोलाकार परिधि निर्माण भएको छ । १६ खण्डभन्दा मुनि करिब १ से.मी गहिराई घेरा भएको भाग रहेको छ । यस घेराले स्तम्भलाई तल्लो र माथिल्लो दुई खण्डमा विभाजित गरिएको जस्तो देखिन्छ । सोपछि १ इन्च साधा गोलाकार परिधिको बीचबाट रेखा कुँदिएको छ । गोलाकार परिधिभन्दा तल थोरैभित्रबाट कमलका उल्टा पत्रहरू र ती पत्रैसँगै ६ इन्चभन्दा बढीसम्म फैलिएका लहराहरू कुँदिएका छन् । सबै लहराहरू समान आकारमा फैलिएका छन् ।

लहराहरू घुम्रिएको कपालको आकृति जस्तो मोहक देखिन्छ । स्तम्भको तल्लो भाग (८ इन्च जतिको अग्लाईमा) साधा गोलकार छ । स्थानीयका बुढापाकाहरूका अनुसार स्तम्भ जमिनभन्दा माथि देखिए जति नै जमिनमुनि गाडिएको छ । स्तम्भको जमिनमुनि गाडिएको खण्ड कस्तो स्वरुपको छ भन्ने बारेमा थप अनुसन्धान नभएसम्म यसै भन्न सकिने अवस्था नरहेको देखिन्छ ।

विभागले स्तम्भको आकृति, प्रकृतिको विश्लेषण गर्दा यो कुनै प्राचीन शिखरशैलीको मन्दिरको मूलद्वार अघिल्तिर रहने दुईटा थाममध्ये एक खण्ड हो भन्ने अनुमानसम्म गर्न सकिने जनाएको छ । पैतिवेदनमा भनिएको छ,‘यो स्तम्भ मन्दिर वास्तुकलाको महत्वपूर्ण एउटा अंग मान्न सकिन्छ । यस स्तम्भको प्राप्तिले हराएको एउटा सभ्यता एवं स्मारक खोजी गर्ने आधार प्रशस्त गरिदिएको छ ।’ साथै सुनकोशी नदीको मानव सभ्यताको प्राचीनता, स्तम्भको कुन समयको हो, स्तम्भको शैलीको कस्तो वास्तुकलाको अंग लगायतका प्रश्नहरूको उत्तरसहित इतिहासको गर्भमा रहेको सुनकोशी सभ्यता एवं पुरातात्विक क्षेत्रको खोजीका लागि विशेष प्रविधि सहित अध्ययन अन्वेषण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

४.९.३ सुनकोसी किनारमा भेटिएको ऐतिहासिक सामग्री :

दोलालघाट र कुशेश्वरको बीचमा रहेको सुनकोसी नदीको किनारको पश्चिमपट्टिको फाँट पाचखाल नाप १३ तिमालवेसिनन मा एउटा कलात्मक स्तम्भ भेटिएको छ । अहिले स्थानीयले तिमालबेंसी भनेर चिन्ने सो ठाउँमा स्थानीयले खेत खन्ने क्रममा कोमदोही लिच्छविकालीन मुद्रा समेत भेटाएको पुरातत्व विभागले उल्लेख गरेको छ ।

निष्कर्ष :

पलाञ्चोक क्षेत्रमा ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र हो । लिच्छविकालसम्म ठुलो बस्ती थियो भन्ने मत धनवज्र बज्राचार्यको छ । यद्यपि खोपासी भनेर चिनिने तत्कालीन खुर्पासी, पनौती, नाला जस्ता क्षेत्रमा भने यसको तुलनामा केही कम बस्ती थियो भन्न सकिन्छ । मध्यकालमा भने यो क्षेत्र सांग्रामिक दृष्टिले महत्वपूर्ण स्थानको रुपमा विकास हुँदै गएको गोपाल वंशावलीमा उल्लेखित विषयबाट समेत प्रष्ट हुन्छ ।

पलाञ्चोक क्षेत्रमा पाइएको हालसम्मको सबैभन्दा पुरानो पुरातात्विक प्रमाण भनेको पलाञ्चोक मन्दिरको मूर्ति स्थापना गरी लिच्छवि राजा मानदेवको पालामा त्यहाँकी एक विजयस्वामिनी नामक महिलाले राखेको अभिलेख नै हो ।

यसपछिको क्रममा यही क्षेत्रअन्तर्गत पर्ने खुर्पासी (खोपासी) मा रहेको शिवदेव र अंशुवर्माको अभिलेख हो । लिच्छविकालीन यी दुई अभिलेखलाई आधार मान्दा यो समयमा पलाञ्चोक क्षेत्र तत्कालीन नेपाल उपत्यकाको अधिनमा थियो भन्ने स्पष्ट हुन्छ । तर सोही राज्य मध्यकालसम्म आइपुग्दा भने एकपटक शक्तिशाली राज्यको रुपमा समेत विस्तार भएको देखिन्छ ।

सोही राज्यका अधिपति बनेका शक्तिसिंहरामवद्र्धनको चर्चा चीनसम्म पनि रहेको र चिनियाँ सम्राटले राजाको संज्ञा दिएकोबाट पनि मध्यकालमा यो क्षेत्र निकै शक्तिशाली रहेको कुरामा दुईमत छैन । नेपाल उपत्यकामा शक्तिशाली शासकले विशेष महत्वदिएर यस क्षेत्रलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरेका प्रमाणहरूको आधारमा पनि हामीले यो प्राचीन समयदेखि शासकले समेत विशेष महत्व दिएको क्षेत्रको रूपमा मान्न सकिन्छ ।

विभिन्न किराँतकालीन शब्द पाँचखाल नपा-७ मा थाडापाथरा जुम्लेली भाषामा थाडा भनेको घना बस्ती र, च्याङबारी- च्याङ भनेको किँरात भाषामा उर्बर खेतियोग स्थान हो) बाट राखिएका नामहरूले यसलाई लिच्छविकालभन्दा अघि पनि कतै त्यहाँ बस्ती त थिएन ? भन्ने बारेमा सोच्न बाध्य बनाएको छ । त्यसैले यसको लिच्छविकालभन्दा पुरानो समयको बारेमा थप अध्ययन गर्नुपर्ने देखिएको छ ।

यी सांस्कृतिक एवं पुरातात्विक महत्वको क्षेत्रलाई संरक्षण र संवद्र्धन गरी विभिन्न पर्यटकीय आकर्षणको केन्द्र बनाउने हो भने यसले यी क्षेत्रको संरक्षण एवं स्थानीय तहको आर्थिक स्रोत वृद्धिमा समेत योगदान दिने निश्चित छ ।

३.३ पलाञ्चोक क्षेत्रमा युद्ध र वीरता :

पलाञ्चोकको युद्ध र वीरताको क्षेत्रमा पनि गौरवमय इतिहास रहेको पाइन्छ । शिवपुरीमा सेनाको लस्कर राखेर नुवाकोट आक्रमण गर्नुपूर्व पूर्वतर्फ पलाञ्चोक आक्रमण गर्ने योजना बनाएका थिए । त्यसको लागि चौतारिया दलजित शाह, काजी हक्र्या पन्थ, कपरदार भद्र शाही जेठाबूढा, रामकृष्ण कुँवर, वीरभद्र थापा, द्वार्या, थरथर, उमराउ, भूप्रतिमन अधिकारी र मान अधिकारी सिराञ्चोक भन्ने ठाउँमा कुरेर बसेको आधुनिक नेपालको इतिहासमा उल्लेख पाइन्छ । पलाञ्चोकमाथि भीमसेन थापाको नेतृत्वको लस्करले आक्रमण गरेको थियो ।

त्यतिबेला पलाञ्चोक राज्य पनि शक्तिशाली रहेको ऐतिहासिक प्रमाणमा पाइन्छ । पलाञ्चोक आक्रमणको लागि केही सैन्य शक्ति नेपालमा राज्यमा समेत राखिएको थियो । चौतारिया दलजित् शाह नेतृत्वको गोरखाली सेनाको ठूलो फौजले वि.सं. १८१९ माघ १ गते नवमी शुक्रबारका दिन काभ्रेकोट विजय गरे । पलाञ्चोक विजयअघि नै १८१८ जेष्ठशुदि ६ रोज २ का दिन रातमा चौकोट विजय गरेको विभिन्न साहित्यिक स्रोतमा उल्लेख पाइन्छ ।

२) राष्ट्रिय विभुति वीर बलभद्र कुँवरको जन्म पाँचखाल भमरकोटमै भएको प्रमाण :

अहिरामका छोरा रामकृष्ण कुँवर पृथ्वीनारायण शाहका मुख्य सरदार र अन्तत काजी समेत बनेका थिए,पृथ्वीनारायण शाहको नेपाल पुन एकिकरणको क्रममा उपत्यका पूर्वको सागाचोक गढी, पलाञ्चोक भमरकोट तिमालकोट बुचाकोट, दुम्जा, काभ्रेकोट, बनेपा चौकोट, पनौती विजयका प्रमुख सुत्रधार हुन! उनले नेपाल एकिकरणको क्रममा महत्त्वपूर्ण योगदान दिएका छन! इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्णिमाको पुर्णाङ्क ५० २०२८ भाद्र ८÷१० मा १८१७ साल पलाञ्चोक आक्रमण गर्दा बाघ भिमसेनथापा (बडाकाजी अमरसिह थापाका पिता) घोरामा परि मारिएका र पलाञ्चोक आक्रमणको जिम्मा गोर्खा ली फौजको तर्फबाट सरदार रामकृष्ण कुँवरलाई दिएपछि उनले काज फत्तेगरी काभ्रे गढीमा अधिकार जमाइ१५ बर्ष सम्म बडा हाकिम यश पुर्वि प्रदेशको हाकिम भएको उल्लेख इतिहास शिरोमणि बाबुराम आचार्यले गर्नुभएको छ ! बीस १८१९ भाद्र १० मा गोरखालीले मकवानपुर गढी कब्जा गरेको र त्यस अन्तर ॐ गतको दास राज्य तिमालले गोर्खाली फौजसँग आत्मसमर्पण नगरेको हुनाले घमासान युद हुदा सरदार रामकृष्ण कुँवरका भाइ बलभद्र कुँवरका हजुरबुबा जयकृष्ण कुँवरको तिमालका शैनिकको खुडाबाट मृत्यु हुन पुग्छ करिव ३०० गोर्खाली फौजको हत्या भएपछि रामकृष्ण कुँवर तिमालबेसी झरी पलाञ्चोक किल्लामा बस्छन, आफ्ना प्रिय भाइ जय कृष्ण कुँवर सहित ठुलो हता हता भएपछि रिसले चुर भएका रामकृष्णले भाइसहित गोरखाली सेनाका को लास दिने र तिमाल बेसिको उब्जाउ जमिन तिमाल कोटलाइ फिर्ता गर्ने सन्धि गर्ने हतियार बिना बोलायर अघिलो दिन राति बगरमा ठुलो मात्रामा हतियार लुकाएर हतियार बिनाका ४०० सैनिक सहितलाई सुनकोसी बगरमा काटि रामकृष्ण कुँवरले भाइको हत्याको बदला लिएको घोषणा गर्दछन् उता काठमाडौमा रहेका राजा पृथ्वीनारायण शाहले रामकृष्णको भाइ जयकृष्णको मृत्युको खबरले दुखित हुँदै वि.सं. १८२९ असोज ५ मा एउटा लालमोहोर जारी गरि काभ्रे कोट हालको धुलिखेल र भमरकोट हालाको पाँचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने हुकुमको मोहोर आज पनि गुठि सस्थानमा प्रमाणित रहेको छ ! (फलेन्द्र विक्रम राणा– नेपाली राणा घरानाको संक्षिप्त बशावली)

काजीरामकृष्ण र सरदार जयकृष्ण कुँवर तथा बलभद्र कुँवरका कुप्रा बा अहिराम कुँवर कास्कीका राजाको दमन सहन गर्ने नसकि पछि पराजुली र थापाहरूको सहयोगमा कास्किबाट भागेर गोर्खा राज्य सग शरण मागेको कुँवर बंशावलीमा छापिएको छ !

अहिराम कुँवर कास्कीका चल्दापुर्दा व्यक्ति थिए यिनका तीन भाइ छोरा जेठा रामकृष्ण माइला जयकृष्ण र कान्छा अरससिह कुँवर हुन! किर्तिपुरको युद्धमा काजी कालुपाण्डेको मृत्यु भएपछि उनको स्थानमा काभ्रे पूर्व किरात सम्म बिजय गरेका सरदार रामकृष्ण कुँवर काजी नियुक्त भएको पढ्न पाइन्छ ! तिमालकोटमा हत्या गरिएका भाइ जयकृष्ण कुँवरका छोरा चन्द्रविर कुँवर सानै उमेरका भएका कारण भमरकोटमै बढिरहेको र युवा अवस्थामा उनले भमरकोटको सरदार पद ग्रहण गरेको इतिहासका दस्ताबेज प्रयाप्त छन् !

काभ्रेपलान्चोक रक्षाका निमित्त पृथ्वीनारायण शाहले नवयुवक रामकृष्ण कुँवरलाइ नियुक्त गरेका हुनाले यिनी भमरकोटमा घरबार नै गरि त्यहाका स्थायी बासिन्दा भएको देखिन्छ, पृथ्वीनारायण शाहको मृत्यु भएको ३० बर्षपछिको बीस १८६० चैत्र बदि ३ रोज ६ को गिर्वाणयुद्बविरबिक्रम शाहबाट गरिदिएको लालमोहोर (बाबुराम आचार्य, पूर्वतः ३८६) बाट रामकृष्ण कुँवर मात्र हैन यिनका छोरा भाइ भतिजाहरूको समेत स्थाइ बासस्थान भमरकोट नै रहेको देखिन्छ, जब राजालेनै तिम्रो र तिमो खलको स्थाइ बसोबास भमरकोट हो भनेर प्रमाणित गरेपछि, बलभद्रका पिता भमरकोट गढीको सुरक्षार्थ सरदार थिए दाजु भाइ सबै यतै थिए, राजाको हुकुम मोहोर, विर्ता थियो ।

वि स १८४६ साल मार्ग महिनाको १७ गते (ईस १७९० जनवरी ३०) हालको काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ५/६ भमरकोटमा वीर बलभद्रको जन्म भएको हो ! उनकी आमा बडाकाजी अमरसिह थापाकी छोरी अम्किका देवी कुँवर हुन् ! नालापानी नेपाल अंग्रेज युद्वका कप्तान रहेका वीर वलभद्र कुँवरको बाल्यकाल भमरकोटमै बितेको हो! उनका हजुरबुबा सरदार जयकृष्ण कुँवर तिमाल कोटमा मारिएपछि उनी र उनका भाइहरूलाइ काभ्रे कोट र भमरकोट हालको धुलिखेल र पाँचखाल तिम्रा सन्तान दरसन्तानले खानु भन्ने मोहोर पृथ्वीनारायण साह र गीवार्णविक्रम बाट हुकुम भएको थियो ! बलभद्र कुँवरका पिता चन्द्रविर कुँवर भमरकोटमा रहेको सिंहनाथ पल्टनका प्रमुख थिए! वि.सं. १८६२ साल जेष्ठ १३ गतेका दिन काठमाडौं दरबारको पत्रअनुसार छाउनीमा आठै प्रहर रुजु राख्नु आफुले खाइपाइ आएको तलब बाहेक ३५२२ खान्की राख्नु भन्ने आदेश मुताविक चार पल्टन थपिएको थियो ! विसं. १८६३ मा करिव १७ बर्षको युवा उमेरका बलभद्र कुँवरले जयशिवशकर बरख कम्पनीमा सुवेदार पदमा नियुक्ति पाएका हुन् ! केही समयपश्चात् पल्टनसहित बलभद्र कुँवरलाई डोटी खटाइयो र उनले डोडिका राजकाज समेत समाली जनता कजाएर बसेका थिए ! काभ्रेपलान्चोकको भमरकोटमा खलङ्गा खडा गरि बसेका उनका बाबू चन्द्रविर कुँवर आफ्नो पल्टनसहित थपेको ४ पल्टन जम्मा पाच पल्टन लियर १८६४ साल वैसाखमा कुमाउ गढवालको श्रीनगरमा शिहनाथ कम्पनी लियर जानू भन्ने हुकु भएपछि बाबू गढवाल कज्याउन पुगेका थिए छोरा बलभद्र डोटी र बाबू कुमाउ गढवाल क्षेत्रका सेनापति बनेको इतिहास जिवित छ! वि स १८६८मा नेपाल सरकारले दुन उपत्यकाको शासन व्यवस्था चलाउन र सुरक्षा गर्ने डोटीका सेनापति बलभद्र कुँवरको वरख बल्टन साथ डोटीबाट खटाउछ सिहनाथ कम्पनी लिहि बसेका पिता चन्द्रविर कुँवरको १८६९ साल बैसाखमा निधन भएपछि बलभद्र कुँवरलाइ नालापानि किल्लाको जिम्मेवारी दिइएको हो !

१८७१ साल माघमा स्वस्थानि पुर्णिमाका दिन कप्तानमा बढुवा गरी राजाले ‘तेरा बाबा सरदार चन्द्रवीर कुँवर खस्याछन्, तिमीहरूका ख्वामिद पालना गन्र्या हामी छँदैछौँ, तेरा बाबाले गरिआएका कामकाज बडाकाजी अमरसिहथापाले लाया अह्राया बमोजिम गर्नु भनि लेखिको पत्र सुरक्षित छ !

वि स १८२९ असोज ५ पृथ्वीनारायण शाहको मोहोर र ३१ वर्षपछि वि स १८६० चैत्र गिर्वाणयुद्व विक्रमको लालमोहोरले रामकृष्ण जयकृष्ण, जयकृष्णका छोरा चन्द्रवीर कुँवर, र उनका छोरा बलभद्र समेत भमरकोटकै स्थायी बासिन्दा हुन भन्ने प्रमाणित हुन आउछ, पृथ्वीनारायण शाहको मोहोर र गीवार्णयुद्वको मोहोर गुठीका कागजपत्र आधार मान्दा बलभद्र कुँवर काभ्रेपलान्चोक पाँचखाल भमरकोटका सन्तति हुन् र उनको जन्म यहि भएको प्रमाणित हुन्छ ।

यसअघिको पनि हेर्नुहोस्-

https://ghatanarabichar.com/292321

प्राचिन पलान्चोक नगर तथा पाँचखाल क्षेत्रका कोट र दुर्गहरू