सन्दर्भ : विश्व पृथ्वी दिवस
हामीले थाहा पाएका नवग्रहहरू मध्ये पृथ्वीमात्र यस्तो ग्रह हो जहाँ प्राणीजगतको अस्तित्व रहेको छ । हाम्रो लागि योमात्र एक सुन्दर बरदानस्वरुपको वासस्थान हो । त्यसैले यसलाई अब नासिन नदिउँ, तातिन नदिउँ । यसको उचित र बुद्धिमानीपूर्वक प्रयोग गर्दै भावी पुस्ताको लागि पनि हराभरा, सुन्दर बनाउँदै यसको दीगो संरक्षणमा जोड दिउँ ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’
आज अप्रिलको २२ तारिख, सन् २०२४ । संसारका १९३ भन्दा बढी देशले ‘पृथ्वीलाई माया गरौँ, यसको अस्तित्वलाई जोगाउँ’ भनेर विश्व पृथ्वी दिवस अमेरिकाबाट सन् १९७० देखि मनाउन थालेको पनि आज ५४ वर्ष भएछ । यो वर्षको नारा ‘प्लानेट भर्सेस प्लास्टिक’ (पृथ्वीविरुद्ध प्लास्टिक) । सन् २०४० सम्म ६० प्रतिशतले विश्व बजारबाट प्लास्टिकजन्य बस्तुहरूमा कमी ल्याउने लक्ष्यका साथ यो अभियान अग्रसर देखिएको छ । यो चुनौतीपूर्ण छ, तथापि प्लास्टिकजन्य पदार्थ हटाउन नसकेमा स्थिति अझ भयावह हुनेछ ।
नेपाललगायत अल्प विकसित देशहरूमा दिन-प्रतिदिन वायु, पानी, माटो र वातावरणमा विभिन्न किसिमका प्रदुषण बढिरहेको छ । पृथ्वी बस्नलायकको बनाउन प्रत्येक दिन पृथ्वी दिवस अब घर-घरले नसम्झे हामी अस्तित्वविहीन हुनेछौँ । सन् २००९ मा संयुक्त राष्ट्र संघले २२ अप्रिललाई अन्तर्राष्ट्रिय मातृ-पृथ्वी दिवसका रूपमा अघि बडाएको छ । पृथ्वी जननी हुन्, माता हुन् भन्ने तथ्य ढिलै भएपनि संयुक्त राष्ट्र संघले पनि बुझेछ । तरपनि, नेपाल सरकारले यो दिवस मनाएको कुनै तामझाम खासै कतै देखिँदैन । हुनसक्छ यसको महत्वको बुझाइमा कमी भएर होला !
पृथ्वीको अर्को नाम संसार, जगत्, विश्वलगायत एकतिस वटा नाम छन् भने संस्कृतमा हामी ‘भूमि’ भन्छौँ । पृथ्वीलाई ‘निलो ग्रह’ पनि भनिन्छ । यस ग्रहमा आठ अर्ब भन्दा बढी मानिसहरू २०० बढी स्वतन्त्र सार्वभौम राष्ट्रमा विभाजित भएर विभिन्न महादेशमा बसेका छन् । अहिलेसम्म भएका ग्रहहरूमा, पृथ्वी मात्र एउटा यस्तो शक्तिशाली ब्रह्माण्डीय पिण्ड हो, जहाँ अर्बौं प्रजातिका जीवप्राणी, वनस्पति र चट्टान जगतको उपयुक्त बासस्थान मानिएको छ । यसको चर्चा सत्य, त्रेता, द्वापर युगमा बढो सुन्दर तरिकाले वर्णन गरिएको छ । अहिले कलियुगमा आएर भने यसको अस्तित्वमाथि नै खतरा ढल्मलाइरहेको देखिन्छ । पृथ्वी चलायमान र, एउटा जिउँदो ग्रह हो । यसले सूर्यको परिक्रमा निरन्तर गरिरहन्छ । पृथ्वीलाई सूर्यको चक्कर लगाउन ३६५ दिन, ६ घण्टा र ९ मिनेट लाग्छ ।
पृथ्वी जगतजननी हुन् र सम्पूर्ण मानिसलगायत पशु, पंक्षी, वनस्पति, कीरा, फटेङ्ग्रा, चट्टान, खनिज, पानी, माटो आदि यिनै माताबाट उत्पतित हुन् । पृथ्वीको विनास हुनु भनेको मानवलगायत सम्पूर्ण प्राणीजगतको विनाश हुनु हो । हामीले थाहा पाएका नवग्रहहरू मध्ये पृथ्वीमात्र यस्तो ग्रह हो जहाँ प्राणीजगतको अस्तित्व रहेको छ । कथमकदाचित यो सुन्दर ग्रह विनाश हुन लागेमा, हामी अर्को ग्रहमा बसाइँसराइ गर्न सक्दैनौं । नासाका वैज्ञानिकहरूले चन्द्रमामा, मंगलमा पानी भेटियो, जीव भेटियो, चट्टान वा झ्याउ भेटियो, भनेर ढ्याङ्ग्रोे ठोक्छन् । यहाँ यत्रो प्राकृतिक श्रोत छ, यसलाई छोडेर हामी त्यहाँ बसाइँसराइ गर्न सक्छौँ ? कदापि सक्दैनौँ । तसर्थ, अर्काे ग्रहमा जाने सोच छोडेर अथाह प्राकृतिक श्रोत (जल, जमीन, जंगल, जनावर), खनिज आदि भएको यो स्वर्गभूमिलाई जोगाउँ, संरक्षित र सम्वर्द्धन गरौँ । हाम्रो लागि योमात्र एक सुन्दर बरदानस्वरुपको वासस्थान हो । यसलाई अब नासिन नदिउँ, तातिन नदिउँ । यसको उचित र बुद्धिमानीपूर्वक प्रयोग गर्दै भावी पुस्ताको लागि पनि हराभरा, सुन्दर बनाउँदै यसको दीगो संरक्षणमा जोड दिउँ ।
पृथ्वी बचाउनु भनेको तपाईं आफूलाई नै बचाउनु हो । हाम्रा सन्तति, भावी पुस्ता बचाउनु हो । सम्पूर्ण पृथ्वीका प्राणीहरू (जलचर, थलचर, नभचर, उभयचर), वनस्पति आदि बचाउनु हो । पृथ्वीको अर्को नाम प्रकृति पनि हो । प्रकृति आमाले पृथ्वी (माटो), जल (पानी), तेज (प्रकाश), वायु (हावा) र आकाश/नभ भन्ने पंचतत्व त जीवात्मा एवं वनस्पति र यसैसँग अन्तरनिहीत प्राकृतिक, सांस्कृतिक र भौतिक (मानवनिर्मित) वातावरण भन्ने बुझिन्छ । तसर्थ, प्रकृतिलाई हाम्रो कुनै खाँचो छैन, हामी चाहिएको पनि छैन । हामी मगन्ते लोभी मनुवा नभए प्रकृति अझै हराभरा र सुन्दर देखिन सक्छिन् । तर, हामीलाई प्रकृति चाहिएको छ । प्रकृतिमा भएको स्वभाविकरूपका श्रोतहरूको खाँचो हाम्रो जीवनयापनको लागि अपरिहार्य छ । प्रकृतिविना हामी हाम्रो अस्तित्वको कल्पना पनि गर्न सक्दैनौँ । तर विडम्बना ! प्रकृति वा पृथ्वीको समस्या भन्नु नै यो दानवरूपी मान्छे र यिनले गर्ने क्रियाकलाप नै हुन् ।
पृथ्वीको विनाश गर्न अहिले केही शक्तिशाली राष्ट्रहरू नै लागिपरेका छन् । प्रतिदिन पृथ्वी र पृथ्वीको वातावरणमा शोषण र अत्यधिक दोहन गरिरहेका छन् । उनीहरू औद्योगिक क्रान्ति गरेर देशको आर्थिक उन्नति गर्न लागिपरेका छन् । पृथ्वी भनेको ‘ऐसी की तैसी’ जस्तै गरेर अघि बढेका छन्, जसको पीडा बोल्न नसक्ने गरिब राष्ट्रहरूले भोगिरहेका छन् ।
आजभन्दा ६३ वर्षअघि सन् १९६१ मा यो ४ अर्ब ५० करोड पुरानो पृथ्वी देख्ने भाग्यमानी थिए ‘युरी गागरिन’, सोभियत संघका अन्तरिक्ष यात्री । जुन बेला उनले अन्तरिक्षको फन्को मारेका थिए, उनले भनेका थिए- पृथ्वी साँच्चै भकुण्डोजस्तै गोलो र सुन्दर रहेछ । करिव ५०० वर्षअघि यही कुरा ‘कपरनिकस’ले कल्पना गरेको गोलो र सुन्दर पृथ्वीको वातावरणमा अहिले संकट देखापरिसकेको छ । जलवायु परिवर्तनको चपेटामा तातिएको अनि वाफिएको छ । भूगोलको हिसाबले हामी कूनै पनि महादेशको भूभाग जहाँ बसेपनि यही पृथ्वीमा नै बस्छौँ । चाहे तिमी अमेरिका बस, बेलायत बस, अफ्रिका वा अस्ट्रेलिया बस, जहाँ बसेपनि यही पृथ्वीमा नै बस्छौ । अनुवांशिक हिसाबले हामी कोही गोरा, कोही काला वा मिश्रित रूप, रंग, वर्ण आकार भएतापनि आखिर एउटै मानवजाति हौँ । हाम्रो धर्म भनेको प्राणीजगतको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नु हो ।
पृथ्वीको विनाश गर्न अहिले केही शक्तिशाली राष्ट्रहरू नै लागिपरेका छन् भन्दा कुनै अत्युक्ति नहोला । प्रतिदिन पृथ्वी र पृथ्वीको वातावरणमा शोषण र अत्यधिक दोहन गरिरहेका छन् । उनीहरू औद्योगिक क्रान्ति गरेर देशको आर्थिक उन्नति गर्न लागिपरेका छन् । पृथ्वी भनेको ‘ऐसी की तैसी’ जस्तै गरेर अघि बढेका छन् । जसको पीडा बोल्न नसक्ने गरिब राष्ट्रहरूले भोगिरहेका छन् । परिवर्तित जलवायुमा विकसित देशका नागरिकहरू श्रोत सुविधा जुटाएर अनुकुलन हुन सक्लान्, तर गरिव राष्ट्रका नागरिकहरू यसको मारमा पर्नेछन् । सचेत भए, यो पृथ्वी कसैको एकाधिकारभित्र पर्दैन, कसैको बाबु-बराजुको पुर्ख्यौली बिर्ता पनि होइन । केही राष्ट्रले अल्पविकसित देशलाई मुठ्ठीभर पैसा बाँडेर मनोमानी र अन्याय गरिरहेका छन् । चाहे जापानमा लाहाछाप लगाएको क्योटो प्रोटोकल होस्, वा पेरिस सम्झौता, ती त केवल कागजको खोस्टामा सीमित छन् ।
अहिले २८औँ कोपमा आइपुग्दा पनि पृथ्वी झन् जर्जर अवस्थामा पुगेकी छन् । अहिले पनि सबै राष्ट्रहरू एक्काइसौं शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सीयस तल नै राख्ने भनेर एैक्यबद्धता जनाउँछन, कागजको खोस्टामा लाहाछाप लाउँछन् तर कार्यान्वयनतर्फ ध्यान दिँदैनन् । यस्तै स्थिति रहेमा २१औं शताव्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम ४ डिग्री सेल्सियस पुग्नेछ, यो मेरो अनुमान हो । त्यो भनेको हिमालमा हिउँ नहुनु हो । हिमालबाट बग्ने ६ हजार नदीनाला सुक्नु हो । अब आफैं कल्पना गर्नुस्, यस्तो भएमा तेश्रो विश्वयुद्ध पानीको लागि हुनेछ । त्यो समयसम्म धेरैजसो हामी त बाँच्दैनौँ, तर बाँच्नेहरूले यो दुर्दशा हेर्नुहोला ।
दिन-प्रतिदिन पृथ्वीआमाको बलात्कार भइरहेको छ । जथाभावी रुख विरुवा काटिएका छन् । नदीनालाको छेउ किनारबाट बालुवा, गिट्टी, ढुङ्गा उत्खनन् गरेर स्खलित भएकी छन । योजनाविना गाउँघरमा मोटरबाटो, डोजर आतंक र जथाभावी बस्ती बस्नाले अव्यवस्थित बनाएको छ । अधिक मात्रामा थोत्रा सवारी साधनको प्रयोग, ध्वनी अनियन्त्रण र अस्वस्थ औद्योगिकीकरण आदिले गर्दा पृथ्वी तातिएको छ, वाफिएको छ र जर्जर भएको छ । नेपाल राष्ट्रको वन-जङ्गल अहिले ४५ प्रतिशत पुगेको छ । त्यो भनेको कैयौँ अरु विकसित राष्ट्रहरू भन्दा धेरै राम्रो मानिन्छ । तरपनि एक रुख काट्दा २० रुख लगाउने अवधारणा आत्मसात गर्नुपर्ने हुन्छ । रुखको उपयोगिताबारे हामी सबै जानकार छौँ । वातावरणमा रहेको वा उत्पादित भएका गन्ध, कार्वन, मिथेन, नाइट्रिक अक्साइडलगायत ग्यासलाई सोसेर हामीलाई चाहिने अक्सिजनविना मूल्य प्रवाह गर्दछ । कैयौं प्राणीजगत (जनावर, पंक्षी, कीरा, फट्याङ्ग्रा) लगायतका जीवहरूको बासस्थान हो । पानी र उर्बर माटोको श्रोत पनि हो रुख वा जङ्गल ।
पृथ्वीलाई हामी जिस्काउँछौं, कोत्रेर, खस्रेर, खनेर लथालिङ्ग बनाउँछौं । जब पृथ्वी रिसाउँछिन्, कोरोनालगायतका विभिन्न रोगहरू, किटाणु, जिवाणु, विषाणु, ढुसी, परजिवी आदि फैलाउँछिन् । वन-जंगलमा डडेलो लाग्छ, कैयौैँ जनावर, पंक्षी, मानिस र जीवहरूले प्राण त्याग्छन् । कैयौं प्राणीको उठीबास हुन्छ । बाढी, भूस्खलन/भूक्षय, पैरो, हिमनदी विष्फोटन, विभिन्न नाम गरेका कट्रिना, सुनामी सामुन्द्रिक आँधीबेरी, हुरीबतासले आक्रान्त मच्चाएर त्रसित गराउँछिन् । हामीले यो कष्ट भोग्छौँ, देख्छौँ, अनि केही अन्तरालपछि सबै बिर्सन्छौँ ।
हामीले आशीर्वादस्वरुप पाएको यो ग्रहको वायु, जल, र माटो (पृथ्वी) बचाउनु छ । पूर्वीय दर्शनका हरेक चाडपर्वहरू प्रकृतिपुजन, पर्यावरणमैत्री, सम्वर्द्धन र संरक्षणसँग सम्बन्धित छन् । त्यसैले हामी नदी, पोखरी, सीमसार, पंक्षी, जनावर, वृक्ष आदिको पूजा गरेर सुरक्षित राखौँ भन्ने सन्देश दिन्छौँ । हाम्रो जीवनको लागि एउटा सन्तुलित वातावरणको आवश्यकता पर्दछ । त्यसको लागि नेपालमा भएका ११८वटै पारिस्थितिकीय प्रणालीलाई बचाउनु पर्दछ । तबमात्र प्रत्येक प्राणीले संतुलन वातावरणमा स्वच्छ जीवन बाँच्न पाउँछन् ।
हामीलाई हाम्रो पुस्ताले दिएको हराभरा प्रकृति र प्राकृतिक श्रोतको उपलब्धता भावी पुस्ताहरूले समेत मानवसभ्यता र विकासको आवश्यकता परिपूर्तिको लागि प्रयोग गर्न पाउने सुुनिश्चतता हुनुपर्दछ । प्रत्येक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार नेपालको संविधान २०७२ मा पनि उल्लेख छ । जबसम्म पृथ्वीको पारिस्थितिकीय प्रणाली स्वस्थ हुँदैन, तबसम्म यस ग्रहका तमाम प्राणी स्वस्थ हुन सक्दैनन् । मलाई डर लाग्छ- कतै यो प्राणी जगतको एकमात्र उपहारस्वरुप पाएको बासस्थान रित्तो हुने त होइन ? त्यसैले, ढिलो नगरिकन स्मार्ट कृषिको विकास गर्ने, स्मार्ट गाउँ बनाउने, जलवायुमैत्री प्रविधिको विकास गर्ने, जलविकास, वैज्ञानिक वन व्यवस्थापन गर्ने, अनि शहरकेन्द्रित अवधारणा हटाउनुपर्ने हुुन्छ ।
अन्त्यमा, हामी सबै एक हौँ र ऐक्यवद्धता गरौँ पृथ्वी बचाउन, जुन हाम्रो एकमात्र मनोरथसिद्धि सुन्दर बासस्थान हो । असंख्यक प्राणीजगतको एकमात्र बाँच्ने थलो हो । आजैबाट हामी सबै ‘सेभ द अर्थ’ (पृथ्वी बचाऔं), ‘लभ द नेचर’ (प्रकृतिलाई माया गरौं) अभियानका साथ अघि बढौँ ।
जय पृथ्वी, जय प्रकृति !
यी पनि हेरौँ-
नेपाली मार खाने भनेको नै ‘अङ्ग्रेजी’मा !
प्रतिक्रिया