वैदिक संस्कृतिविरुद्ध घृणावाद

वैदिक संस्कृतिविरुद्ध घृणावाद


सामान्यतया राजनैतिक विषयमा टीकाटिप्पणी मेरो लेखनीको विषय हुँदैन । मेरो विश्वासले भन्छ, नेपालका सबै राजनैतिक व्यक्तित्वहरूले नेपाल र नेपालीलाई माया गर्छन् । नेपालपनको विषयमा कसैलाई प्रमाणपत्र दिनु पर्दैन, तर उहाँहरूको माइन्ड-सेट जुन् स्रोतबाट निर्मित भएको छ, त्यसले उहाँहरूको चिन्तन र जीवनशैलीलाई दूषित बनाएको छ । यदि पानीको मूलमा प्रदुषण छ भने त्यो प्रदूषित पानीले त्यसका सबै उपभोक्ताहरूलाई रुग्ण बनाउँछ । तर, वैचारिक प्रदूषणको यो रुग्णताप्रति उहाँहरूको चेतना छैन । केही मनोरोगहरू यस्ता हुन्छन्, जसले मनोरोगीहरूलाई ‘रोगी छु’ भन्ने तत्थ्यलाई नै अस्वीकार गर्न अभिप्रेरित गर्छ ।

नेपालमा उपर्युक्त प्रकारका मनोरोगीहरूको सङ्ख्या नेतृत्वतहमा बढी छ । यस्तो नेतृत्व राजनैतिकतहमा मात्र होइन शैक्षिक, सामाजिक, सांस्कृतिक तथा मिडियातह पनि सक्रियरूपमा उपस्थिति छन् । यदि नाम नै खोज्नेहरू भने धेरै मान्छेहरू डामिन्छन् जुनकुरा पत्याउन स्वयं पाठकहरूलाई गाह्रो पर्छ । खासगरी, ती पाठकहरू जुन् नेत्तृत्वको झोला बोक्नु नै आफ्नो सर्वोत्तम कर्तव्य ठान्छन् । केही विचार स्वतन्त्र भएका तर स्वार्थका कारणले झोला–धर्ममा आवद्धहरू मुसुक्क गर्ने छन् । हो, ज्ञानको स्रोत दूषित भएका व्यक्तिहरूलाई आफ्नो नेता मान्दा नेपालीहरूको भाग्य पनि दूषित भएको छ । धेरै थोक गुमाउँदा पनि आत्मबोध भैरहेको छैन ।

अस्ति ‘एकता राजनैतिक कार्यक्रम’मा अनिच्छाले भए पनि एकजना विदेशी विचारको गोठालो राजनैतिक (अनैतिक) नेताले ‘बाहुनहरूले मन्त्र बेच्नबाहेक केही गर्न सक्दैनन् र नेपाललाई बाहुनहरूले विगारेका हुन्’ भन्दैगरेको प्रलाप सुन्नु पऱ्यो । अन्य भाषणहरूको सार थियो ‘हिन्दू धर्म, संस्कृति तथा परम्पराले देश बन्न दिएन । यदि देशको तीब्रतर प्रगति गर्नुछ भने हिन्दूधर्मसंग संबन्धित सम्पूर्ण शास्त्र, विचार, व्यबहार तथा प्रतिकहरूलाई समूल नष्ट गर्नुपर्छ । नेपालीहरूका लागि दुःखको कारण र प्रगतिको बाधक हिन्दू–संस्कृति नै हो ।’ सायद यिनले बिर्से, यसरी ८३ प्रतिशत हिन्दू जनसंख्या भएको देशमा स्वतन्त्रतापूर्वक गालीगलौज गर्ने स्वतन्त्रता पनि हिन्दू बहुलतावादकै देन हो । सोभियत रूसमा लेनिन र स्टालिनले कम्युनिस्ट तर वैचारिक मतभिन्नता भएकै कारणले आफ्नै कमरेडहरूको हत्या गराएको इतिहास छ भने चीनमा माओले आफ्ना विरोधीहरूको हत्या गरेको कसैबाट लुकेको छैन । अर्कोतिर, यदि तपाईंले खुलामञ्चमा उभिएर मुस्लिम र इसाई देशहरूमा तिनको धर्म, संस्कृति तथा परम्पराको आलोचना गरेको मानसिक कल्पना गर्नुभयो भने शुक्रबारको सलात (नमाज) तपाईंको काटिएको टाउको बालुवामा तड्पिरहेको हुने थियो ।

तपाईं भाग्य मान्नुहुन्न तर भाग्यमानी हुनुहुन्छ कि तपाईंको जन्म हिन्दूबहुल देश नेपालमा भएको छ । वैदिक बहुलतावादले जस्तोसुकै आलोचनालाई वैचारिक भिन्नताको रूपमा लिन्छ र वैचारिक भिन्नताका लागि कसैको टाउको कट्दैन । किनभने, वैदिक सनातन धर्म तपाईंले प्राप्त गरेको प्रदूषित विचारभन्दा फरक छ, आलोचकलाई पनि ‘आचार्यपद’ भनेर सम्मान गर्छ । महावीर तथा बुद्धले वेदको आलोचना गरे तर वैदिकहरूले तिनलाई ‘भगवान्’को रूपमा सम्मान दिए । तर तपाईंका विचारको प्रदुषणको स्रोत भारतवर्ष नभएर विदेश हो । तपाईंका प्रदूषित विचारहरूको स्रोत घृणावादी मार्क्सवाद, घृणावादी अब्रह्मिक सम्प्रदाय हो । जसरी एउटा सम्प्रदायको इसाईले अर्का सम्प्रदायका इसाईको धार्मिक अस्तित्व स्वीकार गर्दैन, जसरी एउटा कम्युनिष्टले अर्का कम्युनिस्टको सिद्धान्तलाई अस्वीकार गर्छ तेसरी नै तपाईंमा सत्य स्वीकार गर्न नसक्ने घृणावादले जरा गाडेको छ । तपाईंसँग जे छ, तपाईंले दिने त्यही हो । तपाईंसंग प्रदूषित विचार छ, त्यो प्रदूषित विचार तपाईं दिँदै हुनुहुन्छ । आश्चर्य मान्नु पर्दैन । तर तपाईंले वैदिक बहुलतावादी चिन्तनलाई धन्यवाद दिनुपर्छ कि यतिविघ्न घृणावाद फैलाउँदा पनि हिन्दूहरूले तपाईंलाई सुन्छन् ।

यी सङ्क्रमित झुसिलकिराहरूले सधैं वैदिक धर्म, संस्कृति, परम्परा तथा इतिहासमा दोष देख्छन् र मञ्च पाउँदासाथ घृणा व्यक्त गर्छन् । रेबिजबाट सङ्क्रमित पशुले रेविजको स्रोत पशुको गुण प्रकट गरेझैँ अब्रह्मिक एकलकाँटे चिन्तन र कम्युनिस्ट, समाजवाद र पूँजीवादको एकलकाँटे राजनैतिक चिन्तनबाट सङ्क्रमित भएकाहरूले कार्लमार्क्सको जन्म नहुँदै पनि नेपालमा राजनैतिक इकाईहरू थिए, शिक्षातन्त्र थियो, लाखौँ वर्षदेखि संस्कृति र सभ्यताहरू निर्मित भइरहेका थिए भन्ने कुरा स्वीकार्न सक्दैनन् । घृणावादको एउटा प्रमुख दुर्गुण नै हो कि उसले आफ्नो कोटबाहिरको राम्रोपनलाई स्वीकार्न सक्दैन । फलानो क्रान्तिकारी पार्टी, फलानो साम्यवादी पार्टीको ब्यानरहरू बनाएर हिँड्ने यी सङ्क्रमित व्यक्तिहरूको मुख्य ब्यानर राजनीति भए पनि वास्तविक उद्देश्यचाहिँ नेपालको मौलिक संस्कृति, परम्परा र गौरवको इतिहासलाई ध्वस्त पारेर घृणावाद छर्नु नै हो । उदाहरणका लागि तथाकथित क्रान्तिकारीहरूले रोपेका घृणावादका बीजहरूले घृणावादको प्रदुषण जातीय, भौगोलिक तथा भाषिक घृणाका रूपमा फैलाउँदै छन् । यी घृणावादीहरूले यस्तो प्रदुषण वा संक्रमणलाई ‘जागरण’ भन्दै प्रशंसा गर्छन् ।

एउटा सामान्य मान्छेले पनि गुगलमा खोजे विश्वको सबैभन्दा पुरानो जीवन्त सभ्यता र संस्कृति ‘वैदिक हिन्दू’ हो भनेर बुझ्न सक्छन् भने प्रगतिशीलता, क्रान्तिकरिता, अधिकार तथा समानताको नाममा आफ्नै जरोमा मोही हालेर नष्ट गरेर ‘हामी विकास गर्दै छौँ’ भन्ने भन्ने भ्रमको खेती केवल ‘मानसिक रूपमा सङ्क्रमित व्यक्तिले’ मात्र गर्न सक्छन् । विश्वबाट राजनैतिक शक्तिको रूपमा लुप्तप्रायः भइसकेको विचारधारलाई ‘वैज्ञानिक’ भन्दै आत्मरति गर्ने मनोरोग केवल वैचारिक दास वा वैचारिक रूपमा सङ्क्रमित मानसिकतामा मात्र सम्भव छ । यो सङ्क्रमित मानसिकताको मुख्य पहिचान नै के हो भने यसले विकृतिको सम्पूर्ण दोष अरूलाई भिडाउँछ तर तथाकथित प्रगतिशील र वैज्ञानिक चिन्तनलाई मान्ने पाँचजना अनुयायी पनि बनाउन सक्दैन । सबैभन्दा अचम्मको तत्थ्य त केही भने आफुसरह मार्क्स वा हब्सको फोटो राखेर पुज्नेलाई पनि ‘शोषकको मतियार र भ्रष्टाचारी’ घोषणा गर्छ । जब आफ्नै जातिका (राजनैतिक रूपमा समान विचार राख्ने र समान स्रोत भएका) मान्छेहरूसँग मिलेर हिँड्ने क्षमता छैन भने उसले ल्याउने प्रगतिशील मोडल ‘नेपाल’को वर्तमान असन्तोष, कचिंगल, नेता–व्यवस्थापन र आफ्नावादलाई हेरे पुग्छ । यिनको गन्तव्य घृणावादबाट आरम्भ हुन्छ र घृणावादलाई प्रयोग गरेर आफ्नै धर्म, संस्कृति तथा इतिहासलाई समाप्त पार्ने बयानवाजीसम्म सीमित हुन्छ । चाखलाग्दो कुरा त के भने असल कुरा सुन्दैनसुन्ने, लेख्दैनलेख्ने मिद्यहरूले यी घृणावादीका विचारलाई अग्राधिकार दिएर प्रसारित गर्छन् ।

विदेशी चिन्तनको संक्रमणमा परेका तथाकथित बुद्धिजीवीहरू परजीवी हुन्छन् । यिनले कुनै पनि उत्पादनमूलक काम गर्दैनन् । विकास र उत्पादनका ठूला–ठूला भाषण गर्छन्, तर जब कसैले उद्योग–व्यवसाय आरम्भ गर्छ, ती ठाउँमा विदेशी विचारको संक्रमण लिएर क्रान्तिकारी रूपमा उपस्थित हुन्छन् र वास्तविक कामदारहरूलाई भड्काउने काम गर्छन् । धेरैजसो उद्योगपतिसँग लेनदेन गरेर कुरा समाप्त पार्ने प्रयत्न गर्छन्, नसके सम्बन्धित उद्योग नै बन्द गराएर देश, समाजको अर्थतन्त्र ध्वस्त पार्छन् । उनीहरूसँग दुईटा एजेन्डा हुन्छन्- कि चन्दा देऊ होइन भने उद्योग बन्द गर ! वि.सं. २००४ यता निरन्तर क्रियाशील रहेका तथाकथित प्रगतिशील, समाजवादीहरूले कतिवटा उद्योग निर्माण गरे, कतिवटा विपन्नहरूलाई काम दिए, कतिवटा वैज्ञानिक आविष्कारहरू गरे ? यदि यो प्रश्न सोध्नुभयो भने घृणावादीहरूको अस्तित्वमा आगो लाग्छ र प्रलाप गर्न थाल्छन् । नेपालको हकमा यिनको अजेण्डा प्रष्ट छ- वैदिक संस्कृतिका प्रतिमानहरूउपर दुष्टतापूर्ण प्रहार गर, मार्क्स र अब्राह्मिक समुदायका बीचमा मधुर सम्बन्ध स्थापित गर र देशमा कुनै पनि आर्थिक गतिविधि गर्न नदेऊ र अत्यमा, देशको राजश्वलाई आफ्नो सम्पतिझैं प्रयोग गर । यदि कुनै व्यक्तिले त्यस विषयमा प्रश्न उठाउँछ भने प्रगतिवादको विरोधी, परिवर्तनको विरोधी, प्रजातान्त्रिक व्यबस्थाको विरोधी भन्दै आफ्ना झोलेहरूलाई प्रयोग गरेर निस्तेज बनाऊ !

यी घृणावादीहरूका क्रियाकलाप र विचारहरूको नकारात्मक प्रभाव नै भन्नुपर्छ नेपाली सर्वसाधारणले ‘नेत्तृत्व’ विश्वास गुमाएका छन् । आफ्नै जरोकिलो काटेर, आफ्नै इतिहास, संस्कृति तथा पहिचान नष्ट गरेर ‘हामी नेपाललाई समृद्ध र अग्रगामी बनाउँछौँ’ भन्नेहरूमा विश्वास गर्नु पर्ने कुनै कारण छैन । वर्तमान नेपालका लागि सबैभन्दा ठुलो र वास्तविक सङ्कट नै नेतृत्वको कर्तव्यपालन गर्छन् भन्ने विश्वास नभएको पुस्ता बढ्नु हो र यस्तो पुस्ताका स्रजकहरू यिनै घृणावादी र तिनका झोलेहरू हुन् । झोलेहरूको मुख्य पहिचान नै सम्पूर्ण दोषहरू अरुमा थोपर्नु हो । ठूला–ठूला कुरा गर्ने तर कामको ठाउँमा उद्योगीहरूको पुरुषार्थमा आँखा लगाउने र चन्दा वा लूटलाई नै महत्व दिनु यिनको वास्तविक काम हुन्छ । घृणावादीले घृणाको व्यापार राम्रो गर्न सक्छन् तर महावीर पुनहरूले आफ्नो किताब बेचेर चलाउने उद्योगहरूप्रति यिनको निम्छरो दृष्टिकोण हुन्छ । हिन्दीमा एउटा उखान छ– खिसियानी बिल्ली खम्बा नोचे ! व्यवहारिक रूपमा यिनको सबैभन्दा ठूलो शक्ति विकास र प्रगतिको भाषण गरेर जनताको भोट प्राप्त गर्न सफल हुनु र माथिल्लो र मध्यमतहका झोलेहरूलाई राज्यदोहन गर्ने ठाउँमा ‘स्थापित’ गर्न सक्नु हो । देश भाडमा जाओस् तर झोले आवाद हो – अन्तिम लक्ष्य यत्ति हुन्छ !

लेख्दै जाँदा घृणावादीको बढी आलोचना भयो र यो लेख पनि कता–कता घृणावादकै बाटोमा हिंडेजस्तो देखियो, तर घृणावादीहरूका विषयमा कसैले त कुरा उठाउनैपर्छ । कसपूले (कम्युनिस्ट, समाजवादी र पूंजीवादी) निर्माण गरेको आत्मघाती, निराशावादी र पलायनवादी विचारधारा र यसै विचारधाराले देशको प्रगति हुन्छ भन्दै पाठ्यपुस्तकहरू निर्माण गर्ने, विश्वविद्यालयहरूमा झूटो भाष्य निर्माण गर्नेहरूले जनतालाई जवाफ दिनुपर्छ कि विगत ५ दशकदेखि तथाकथित कसपू विचारको राजनैतिक विचारधाराका आधारमा खडा गरिएका धेरैजसो दक्षिण अफ्रिकी राष्ट्रहरू, अमेरिकी राष्ट्रहरू र नेपाल किन प्रगतिको बाटो उक्लन सकेनन् ? उत्तर प्रष्ट छ, अब्राहमिक र कसपू विचार लाद्न केही शक्तिशाली राष्ट्रहरूले पैसा खर्च गरेर झोलेहरूबाट आफु अनुकुल सत्ता तयार गरिएको छ । यदि सत्तामा जनताले प्रजातान्त्रिक तवरले साँच्चिकै चुनाव जिताएर पठाए भने पनि ‘स्वामी’हरूका लागि स्वीकार्य हुँदैन र ‘यसम्यान’ नै चाहिन्छ भन्ने तत्थ्य धेरै ठाउँमा प्रमाणित भएकै कुरा हो । जनताले घृणावादीहरूको काम घृणा फैलाउनु हो देशको प्रगति र अग्रगमन होइन भन्ने प्रष्ट पार्न पनि यस्ता लेखहरूको महत्व हुन्छ ।

अन्त्यमा, कसपू विचारधारा विदेशी हो र आयातित वा प्रायोजित हो । ७२ वर्षको लामो अन्तरालसम्म ‘शिशु-प्रजातन्त्र’ हुनु नै यसको प्रष्ट उदाहरण हो । घृणावादीहरूलाई बहिस्कार गर्ने र वैदिक संस्कृतिका प्रतिमानहरूलाई स्वीकार गर्दै विश्वका जुनसुकै व्यक्तिबाट असल विचारहरू, असल कर्महरू स्वीकार गर्दै आत्मगौरव गर्ने नेतृत्वको विकासतिर नेपालीहरू केन्द्रित हुनुको विकल्प छैन । नेपालको मूलाधार वैदिक संस्कृति हो । नेपालको परिचय, नेपालीको उत्थान वैदिक संस्कृतिको गौरवसँग जोडिएको छ । त्यसैले विज्ञानका कुराहरू विश्वबाट ग्रहण गरौँ तर नैतिकता, सामाजिकता, संस्कृति र राजनैतिक उत्थानका प्रतिमानहरू आफ्नै इतिहास र संस्कृतिबाट ग्रहण गरौँ । अनि, घृणावादी (कसपू) प्रश्न गरौँ- तपाईंको विज्ञानवादी चिन्तनका आधारमा नेपालले कहिलेसम्म क्रायोजनिक इन्जन अमेरिकालाई बेचेर पैसा कमाउने छ ? नेपाल र नेपालीको गौरवमय इतिहासलाई नष्ट गरेर नेता बन्ने सपना देख्नेहरूलाई वहिष्कार गरौँ, देशको उन्नति र प्रगति त्यसपछि आरम्भ हुन्छ किनभने त्यसपछिको जेनेरेशन आफ्नो इतिहास र सम्पदामा गौरव गर्ने हुन्छ ।

स्वस्त्यस्तु ।

यो पनि हेर्नुहोस्-