बडा दशैं : आत्मीयता, एकता र आध्यात्मिकताको पर्व

बडा दशैं : आत्मीयता, एकता र आध्यात्मिकताको पर्व


बडा दशैं, नेपाली समाजको गहिराइमा जरा गाडेको, अनुपम र विशिष्ट पर्व हो । यो पर्व केवल धार्मिक अनुष्ठान र परम्परागत सामाजिक रीतिरिवाजमा सीमित नभई नेपालीहरूको जीवनशैली, सांस्कृतिक संरचना र पारिवारिक सम्बन्धको केन्द्र पनि हो । दशैं नेपालीहरूका लागि कुनै साधारण चाड मात्र होइन, यो आत्मीयताको सन्देश बोकेको एउटा महत्त्वपूर्ण यात्रा हो जसमा मेलमिलापको भावना, धार्मिक आस्था र गहिरो आध्यात्मिकता सँगै बगेका हुन्छन । धर्म, संस्कार र राष्ट्रियताको आपसी सन्तुलनले यस पर्वलाई अझ गहिरो र विशिष्ट बनाएको छ जसले गर्दा यो नेपाली समाजको एकताका धागोहरूलाई फेरि फेरि सँगै बुन्ने एक अमूल्य अवसर बनेको छ ।

१. दशैंको उद्गम : धार्मिक र पौराणिक पृष्ठभूमि

दशैं पर्वको पौराणिक जरा हजारौँ वर्ष पुराना धार्मिक ग्रन्थहरूमा रहेको छ । यो पर्व देवता र दानवबीचको सङ्घर्षमा आधारित छ जसले हिन्दु दर्शनमा सत्यको विजय, धर्मको स्थापना र अधर्मको विनाशलाई महिमान्वित गर्दै आएको छ । तर दशैं केवल एक पौराणिक कथा मात्र नभई, मानवीय चेतनामा गहिरो रूपमा जरा गाडेको धार्मिक यथार्थ हो, जहाँ शक्ति, साहस र विश्वासको गहन सन्देश पाइन्छ ।

प्रमुख हिन्दु धर्मग्रन्थहरू अनुसार, दशैंको धार्मिक पृष्ठभूमि देवी दुर्गाको महिमासँग गाँसिएको छ । कथाअनुसार, असुरराज महिषासुर ब्रह्माजीको तपस्याद्वारा अमरत्वको वरदान पाएपछि अहङ्कारले चुर भएर स्वर्गमण्डलमा आक्रमण गरी देवताहरूलाई सताउन थाल्छ । भगवान विष्णु, शिव र अन्य देवताहरूले महिषासुरको अत्याचारबाट मुक्ति पाउने उपाय खोज्छन् तर कुनै पनि देवता एक्लै उनलाई पराजित गर्न असमर्थ हुन्छन । यसै समयमा शक्तिको प्रतीक देवी दुर्गा उत्पन्न हुन्छिन्, जसलाई विभिन्न देवताहरूले आ–आफ्नो शक्तिहरू प्रदान गरेर सर्वशक्तिमान बनाउँछन् ।

महिषासुरसँगको युद्ध केवल बाहिरी युद्ध मात्र थिएन, यो मानिसको अन्तरात्मामा रहेको अज्ञान, अहङ्कार र अधर्मसँगको आन्तरिक युद्ध पनि थियो । दुर्गा देवीले नौ दिनसम्म महिषासुरसँग घमासान युद्ध गरिन् र अन्ततः दशमीको दिन महिषासुरलाई पराजित गरिन् । यस विजयलाई सत्य, धर्म र न्यायको विजयका रूपमा स्मरण गरिन्छ जसले दशैंको धार्मिक आधारलाई सुदृढ बनाएको छ । यसै कारण दशमीलाई ‘विजया दशमी’ भनिन्छ, जसको अर्थ ‘विजयको दिन’ हो ।

दुर्गा देवीको महिषासुरमाथिको विजयको कथा केवल धार्मिक कर्मकाण्डमा सीमित छैन । यो कथाले हिन्दु दर्शनमा गहिरो सामाजिक, मानसिक र आध्यात्मिक अर्थ राख्दछ । महिषासुर कुनै बाहिरी असुर मात्र नभई मानिसको मनको अधर्म र अज्ञानताको प्रतीक हो, जबकि दुर्गा देवी शक्ति, साहस र आत्मबलको प्रतीक हुन् । यस कथामार्फत हरेक व्यक्तिलाई आफूभित्रको महिषासुरलाई पराजित गरी आत्मज्ञानको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ ।

दशैंको अर्को महत्वपूर्ण धार्मिक पृष्ठभूमि रामायणको कथा हो । रामायण अनुसार, भगवान रामले रावणलाई दशमीको दिन पराजित गरेका थिए । रावणले सीताको हरण गरेपछि रामले नौ दिनसम्म देवी दुर्गाको आराधना गरी दशमीको दिन रावणलाई पराजित गरेर सीतालाई मुक्त गरे । यो विजय पनि सत्य र धर्मको विजयका रूपमा लिइन्छ जसले दशैं पर्वलाई अझ महत्त्वपूर्ण बनाउँछ ।

दशैंको धार्मिक पृष्ठभूमि केवल युद्धको कथा होइन, यसले जीवनका हरेक पक्षमा सत्य र न्यायको महत्त्वलाई प्रतिपादन गर्दछ । यस पर्वले व्यक्तिलाई आफ्नो आन्तरिक शक्ति पहिचान गर्न, धर्मको पालना गर्न र जीवनमा नैतिक मूल्यहरूको पालना गर्न सिकाउँछ । दुर्गा देवीको महिषासुरमाथिको विजय होस् वा रामको रावणमाथिको जीत, यी दुवै कथाहरूले हाम्रो जीवनमा नैतिकता, धैर्य र सत्यको अनिवार्यता उजागर गर्दछ ।

यसरी, दशैंको धार्मिक र पौराणिक पृष्ठभूमि मानव जीवनका लागि प्रेरणा र मार्गदर्शनको स्रोत बनेको छ । सत्य र धर्मको विजयको यस महाकाव्यले हामीलाई धार्मिक आस्थामात्र नभई व्यक्तिगत विकास, सामाजिक न्याय र आध्यात्मिक उत्थानमा पनि योगदान पु ऱ्याउँछ ।

२. दशैंको सांस्कृतिक महत्वस् एकता, पहिचान र आत्मीयताको पर्व

दशैं नेपाली समाजको मस्तिष्क र मुटुमा गहिरो प्रभाव पार्ने पर्व हो जसले हाम्रो सामूहिक चेतना, परम्परा र सांस्कृतिक सम्पदालाई एकतामा बाँध्दछ । यस पर्वले हाम्रा पुर्खाहरूले पुस्तौँदेखिका जीवन्त परम्पराहरू हामीसम्म ल्याइपुर्याएको छ र हामीले त्यसलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्छ भन्ने गहिरो जिम्मेवारी अनुभूत गराउँदछ । दशैं केवल धार्मिक आस्थाको पर्व मात्र नभएर नेपाली समाजको सांस्कृतिक मेरुदण्ड पनि हो जसले हाम्रो पहिचानलाई अक्षुण्ण राख्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

पारिवारिक एकताको प्रतीक

दशैंको सांस्कृतिक महत्त्वको पहिलो र प्रमुख पक्ष हो- पारिवारिक एकता । यो चाडले वर्षभरि विभिन्न कारणले टाढिएका परिवारका सदस्यहरूलाई पुनर्मिलन गराउँछ । नेपाली समाजमा परिवार केवल रगतको नातामा सीमित छैनस यो एक सामाजिक संस्था हो जसले जीवनका हरेक आयामलाई प्रभावित गर्दछ । दशैंमा घरका सबै सदस्यहरू एकै ठाउँमा भेला हुन्छन्, जहाँ ठुलाबडाको आशीर्वाद र सानाको स्नेह आदानप्रदान गरिन्छ ।

टीका, जमरा र आशीर्वादको परम्परा केवल सांस्कृतिक कर्मकाण्ड मात्र नभएर आत्मीयताको प्रतीक हो । बुबाआमाले सन्तानलाई टीका लगाइदिने परम्परा पुस्तौँदेखि चलिआएको ज्ञान, परम्परा र प्रेमको धरोहरलाई व्यक्त गर्दछ जसले परिवारका सम्बन्धलाई अझ मजबुत बनाउँछ । दशैंको अवसरले परिवारलाई भौतिक मात्र होइन, भावनात्मक रूपमा पनि नजिक ल्याउने काम गर्दछ । यसले मानिसलाई आफ्नो जरा, परिवार र समाजसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्छ ।

सामाजिक सद्भाव र भाइचाराको पर्व

दशैंको अर्को प्रमुख सांस्कृतिक पक्ष हो- सामाजिक सद्भाव र भाइचारा । दशैंको बेला आफ्ना परिवारका सदस्यहरूसँग मात्र होइन, समाजका अन्य मानिससँग पनि आत्मीयता आदानप्रदान गरिन्छ । गाउँ होस् या सहर, दशैंले समाजका सबै तह र तप्काका मानिसलाई एकै ठाउँमा ल्याउँछ । यस पर्वमा धनी-गरिब, शहरवासी-गाउँले, जातीय भिन्नता भए तापनि सबै एकै सूत्रमा बाँधिन्छन् ।

दशैंले वर्ग, जात र क्षेत्रिय विभेदलाई मेटाएर नेपाली समाजलाई एकतामा बाँध्ने शक्ति प्रदान गर्दछ । टीका लगाउने परम्परा, भोजभतेर र सामूहिक भेटघाटहरूले समाजमा भाइचारा, सहिष्णुता र मेलमिलापको भावना फैलाउँछ । यसरी दशैंले ‘सबै एक हौ’ भन्ने सामूहिक चेतना प्रदान गर्दछ जसले समाजलाई सशक्त र सुदृढ बनाउँछ ।

परम्परागत मूल्य र संस्कारको जगेर्ना

दशैंको सांस्कृतिक महत्त्वको अर्को पाटो भनेको यसले हाम्रो परम्परागत मूल्य र संस्कारहरूको जगेर्ना गर्ने कार्य हो । नेपाली समाज आफ्नो मौलिकता र संस्कृतिमा गर्व गर्ने समाज हो, जहाँ हरेक चाडपर्वले कुनै न कुनै सांस्कृतिक कथा र मूल्यलाई बोकेको हुन्छ । दशैंले हाम्रा पुर्खाहरूको शिक्षालाई स्मरण गराउँछ र यसमा गरिने धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरूले हाम्रो मौलिक पहिचानलाई उजागर गर्दछ ।

दशैंको समयमा गाइने मालश्री धुन, पिङको परम्परा र परम्परागत पोशाकदेखि विशेष परिकारहरू, जस्तै मासु, सेलरोटी, अनि जमरा राख्ने परम्पराले हाम्रो सांस्कृतिक विविधतालाई उजागर गर्दछ । यी सबै तत्वहरूले पुस्तौँदेखिका परम्पराहरूलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेल्दछ ।

प्रकृतिप्रतिको आदरभाव

दशैंले केवल मानिस-मानिसबीचको सम्बन्ध मात्र होइन, मानिस-प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्दछ । जमरा राख्ने, जनावर तथा वृक्षहरूको पूजा गर्ने परम्पराले नेपाली समाजको प्रकृतिप्रतिको सम्मान र आदरभावलाई प्रकट गर्दछ । कृषिप्रधान समाजका रूपमा, जमरा राख्ने परम्पराले हाम्रो माटो, खेतीपाती र कृषिलाई सम्मान गर्ने दृष्टिकोणलाई झल्काउँछ ।

राष्ट्रिय एकताको प्रतीक

नेपालको जातीय, भाषिक, धार्मिक र भौगोलिक विविधता सांस्कृतिक दृष्टिकोणले अत्यन्त धनी छ । दशैंले यस विविधतालाई एकतामा बाँधेर नेपाली समाजलाई एकताबद्ध बनाउँदछ । चाहे पहाड, तराई वा हिमाल होस्, दशैंले सम्पूर्ण देशभरका नेपालीलाई एउटै धागोमा बाँध्ने काम गर्दछ । यसले हाम्रो राष्ट्रिय पहिचानको स्मरण गराउँदै हामीलाई ‘नेपाली’ हुनुमा गर्व दिलाउँछ ।

दशैंको क्रममा गरिने विभिन्न कर्मकाण्डहरूले हामीलाई हाम्रो ऐतिहासिक पहिचान र गौरवको स्मरण गराउँछ । यसले नेपालीहरूको राष्ट्रिय चेतना बढाउँछ र हाम्रो समाजको सामूहिक पहिचानको महत्त्वलाई उजागर गर्दछ ।

सांस्कृतिक सम्प्रेषणको माध्यम

दशैंको सांस्कृतिक महत्त्व केवल आन्तरिक सम्बन्धहरूमा सीमित छैन, यस पर्वले नेपाली समाजलाई बाह्य दुनियाँसँग पनि जोड्ने काम गर्दछ । विदेशमा रहेका नेपालीहरू यस अवसरमा आफ्नो जन्मभूमिसँग आत्मीयता महसुस गर्दछन् । घर फर्किन नसक्नेहरूले प्रविधिको माध्यमबाट भए पनि परिवारसँग सम्पर्क कायम गर्न खोज्छन् । यसरी दशैंले प्रवासी नेपालीहरूमा पनि संस्कृति र परम्पराको जगेर्ना गर्न सहयोग गर्दछ ।

विभिन्न देशमा रहेका नेपालीहरूले दशैंलाई आफ्नो मौलिक पहिचानको रूपमा मनाउने प्रयास गर्दछन् । यसरी दशैंले नेपाली समाजको सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर प्रदान गर्दछ र नेपाली पहिचानलाई विश्वसामु प्रस्तुत गर्न सहयोग पुऱ्याउँछ ।

३. दशैंको आध्यात्मिक पक्ष : आन्तरिक युद्ध र आत्मिक जागरणको यात्रा

दशैंको आध्यात्मिक महत्त्व मानव अस्तित्वको गहिराइसँग गाँसिएको छ । यो पर्व केवल बाहिरी चाडपर्वहरूको शृङ्खला होइन, यो आत्मा र शरीरबीचको द्वन्द्व, भौतिक र आध्यात्मिक शक्तिहरूको सामञ्जस्य र मानव मनको शुद्धिकरणको महाकाव्य हो । दशैंका पौराणिक कथाहरूमा देखिने देवी दुर्गाको शक्ति र महिषासुरको विनाशका घटना आध्यात्मिक रूपमा प्रतीकात्मक हुन् – यी कथाले बाहिरी संसारमा मात्र नभई मानिसभित्रको आन्तरिक युद्धलाई चित्रित गर्दछन् ।

आध्यात्मिक शुद्धिकरण र महिषासुरको प्रतीकात्मकता

महिषासुरको प्रतीकात्मक अर्थले दशैंको आध्यात्मिक पक्षलाई उजागर गर्दछ । महिषासुर केवल राक्षस नभई हाम्रो भित्रका नकारात्मक प्रवृत्तिहरू- अहङ्कार, काम, क्रोध, लोभ, मोह र अज्ञानताको प्रतीक हो । जब मानिसको जीवनमा यी नकारात्मक प्रवृत्तिहरू हावी हुन्छन्, त्यसले उसको आत्मिक शुद्धतालाई धमिल्याउँछ ।

महिषासुरलाई दुर्गाले पराजित गर्नु भनेको मानिसभित्र रहेका असुर प्रवृत्तिहरूलाई अन्त्य गर्नु हो । यो सङ्घर्ष बाह्य संसारमा होइन, आन्तरिक रूपमा हामीले हरेक दिनको जीवनमा अनुभव गर्ने द्वन्द्व हो । महिषासुरले देवताहरूलाई चुनौती दिएजस्तै, हाम्रो भित्रका नकारात्मक भावनाहरूले हाम्रो आत्मा र चेतनालाई चुनौती दिन्छन् । यसरी, दशैंको आध्यात्मिक पक्ष आत्म-सङ्घर्ष र आत्मज्ञानको प्रतीक हो । यो पर्वले हामीलाई आन्तरिक रूपमा शुद्ध हुने, आफ्ना नकारात्मक भावनाहरूलाई नियन्त्रण गर्ने र अन्ततः विजय प्राप्त गर्न प्रेरित गर्दछ ।

देवी दुर्गाको शक्तिको आध्यात्मिक महत्त्व

दशैंमा देवी दुर्गा सबैको पूजा, आराधना र श्रद्धाको केन्द्रबिन्दु हुन् । उनी केवल देवी मात्र नभई शक्ति र साहसको प्रतीक हुन् । धार्मिक दृष्टिकोणले हेर्दा, देवी दुर्गा सम्पूर्ण ब्रह्माण्डको मातृशक्ति हुन् जसले सृष्टि, पालन र विनाशको नियन्त्रण गर्छिन् । आध्यात्मिक दृष्टिले हेर्दा, उनी मानव चेतनामा रहेको दिव्य शक्तिको प्रतिविम्ब हुन् ।

देवी दुर्गाले केवल महिषासुरलाई मात्र पराजित गर्दिनन्, उनी मानवको आन्तरिक शक्ति र आत्मबलको प्रतीक बन्न पुग्छिन् । देवी दुर्गाको पूजा गर्नु भनेको आत्मसशक्तीकरणको यात्रा हो । यस पर्वले मानिसलाई आफ्ना कमजोरीहरूलाई परास्त गर्न, नकारात्मक भावनालाई नियन्त्रणमा राख्न र आत्मिक जागरणको मार्गमा अघि बढ्न प्रेरित गर्दछ ।

नवरात्र र आन्तरिक यात्रा

दशैंको आध्यात्मिक पक्षमा नवरात्रको गहिरो महत्त्व छ । नवरात्रका नौ दिनहरूलाई मानव जीवनको आन्तरिक शुद्धिकरण र आत्मज्ञानको प्रतीकका रूपमा लिइन्छ । प्रत्येक दिन देवीका नौ रूपहरूको पूजा गरेर आत्माको नौ स्तरहरूलाई शुद्ध गर्ने परम्परा रहेको छ ।

पहिलो दिन शैलपुत्रीको पूजा स्थिरता र दृढताको प्रतीक मानिन्छ जसले मानिसलाई जीवनका आधारभूत मान्यतामा स्थिर रहन प्रेरित गर्दछ । दोस्रो दिन ब्रह्मचारिणीको पूजा ध्यान र साधनाको महत्त्वलाई उजागर गर्छ । यसरी अन्य दिनहरूमा पनि क्रमशः चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्दै आत्मा विभिन्न स्तरहरूमा उन्नत हुन्छ ।

नवरात्रका नौ दिनहरू केवल बाहिरी पूजा मात्र होइनन्, यी नौ दिनहरूलाई आत्मसाक्षात्कारको मार्गमा चल्नुपर्ने चरणका रूपमा लिइन्छ । यस क्रममा मानिस आफ्नो मन, विचार र कर्मलाई शुद्ध गर्दै अघि बढ्छ । दशौं दिन अर्थात् विजया दशमीमा जब दुर्गाले महिषासुरलाई पराजित गर्छिन्, मानिस पनि आफ्नो भित्री असुरहरूलाई परास्त गर्दै आत्मिक विजय प्राप्त गर्दछ ।

कर्म, धर्म र आत्मज्ञानको मार्ग

दशैंको आध्यात्मिक पक्ष केवल पूजा र आराधनामा सीमित छैनस यसले कर्म, धर्म र आत्मज्ञानको मार्गमा चल्न प्रेरित गर्दछ । दशैंको समयमा गरिने सबै क्रियाकलापहरू, जस्तै टीका थाप्नु, आशीर्वाद लिनु र पुरोहितद्वारा गरिने पूजा, यी सबै कर्मकाण्डहरूले मानिसलाई आफ्नो जीवनको उद्देश्य र उत्तरदायित्व सम्झाउँछन् ।

कर्मको महत्त्व दशैंका हरेक पाटामा झल्किन्छ । चाहे त्यो देवी दुर्गाको युद्ध होस् वा रामले रावणसँग गरेको सङ्घर्ष, सबैले कर्मको महत्वलाई उजागर गर्दछ । यस पर्वले हामीलाई धर्मको मार्गमा लाग्न, सत्य र न्यायको पक्षमा उभिन र कर्मको प्रतिफलस्वरूप आत्मज्ञान प्राप्त गर्न प्रेरित गर्दछ । धर्म केवल बाहिरी नियम-कानूनमा सीमित छैनस धर्म मानिसको आन्तरिक पवित्रता हो जसले उसलाई सदाचारी र सत्कर्म गर्न प्रेरणा दिन्छ ।

आध्यात्मिक पुनरुत्थान र समाजमा यसको प्रभाव

दशैंले व्यक्ति मात्र नभई समाजलाई पनि आध्यात्मिक रूपमा जागरूक बनाउँछ । यस पर्वले सामाजिक रूपान्तरणको मार्ग प्रशस्त गर्दछ, जहाँ व्यक्तिगत शुद्धिकरण समाजको सामूहिक चेतनामा परिणत हुन्छ । जब हरेक व्यक्तिले आफ्ना भित्री असुरहरूलाई परास्त गर्छ, समाजमा सत्य, न्याय र सदाचारको स्थापना हुन्छ ।

दशैंको आध्यात्मिक पक्षले समाजमा मेलमिलाप, सहिष्णुता र सद्भाव फैलाउँछ । यो पर्वले हामीलाई व्यक्तिगत उन्नति मात्र होइन, सामाजिक उत्थानका लागि पनि प्रेरित गर्दछ । जब व्यक्ति आत्मिक रूपमा शुद्ध हुन्छ, उसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । यसरी, दशैं केवल व्यक्तिगत पर्व मात्र नभई समाजको सामूहिक चेतनामा आधारित आध्यात्मिक जागरणको प्रतीक बनेको छ ।

४. दशैं र प्रकृति : मानिस र वातावरणको सम्बन्धको आध्यात्मिक संवाद

दशैं केवल धार्मिक, सांस्कृतिक र पारिवारिक पर्व मात्र होइनस यो मानिस र प्रकृतिबीचको गहिरो सम्बन्धलाई पुनःस्थापित गर्ने एक अनुपम अवसर पनि हो । दशैंले हामीलाई स्मरण गराउँछ कि हामी प्रकृतिको अभिन्न अङ्ग हौँ र प्रकृतिको शक्तिलाई सम्मान गर्न, यसको संरक्षण गर्न तथा अनुकूल चल्न हाम्रो नैतिक जिम्मेवारी हो । यो पर्वले मानिस र वातावरणको सम्बन्धलाई विविध आयाममा बुझ्न र जीवन चक्रलाई प्रकृतिको चक्रसँग समायोजन गर्न मद्दत गर्दछ ।

दशैंको प्रकृतिपूजाको परम्परा

दशैंको आरम्भ नै प्रकृतिको पूजा, आदर र संरक्षणको भावना बोकेर सुरु हुन्छ । दशैंको पहिलो दिन, घटस्थापनामा जमरा राख्ने परम्परा छ । जमरा बालीलाई पूजा कोठामा राखेर यसलाई देवी दुर्गाको प्रतीकको रूपमा पूजा गरिन्छ । जमराले मानिस र माटोबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ, जहाँ माटो, बीउ र पानीको संयोजनले हरियाली फक्रन्छ । जमरा केवल पूजाका लागि प्रयोग गरिने साधन मात्र होइनस यो हाम्रो कृषि, प्रकृति र वातावरणसँगको गहिरो सम्बन्धको प्रतीक पनि हो ।

मानव-प्रकृति सम्बन्धको पुनःस्थापना

दशैंले केवल मानव र प्रकृतिबीचको सम्बन्धलाई पुनःस्थापित मात्र गर्दैन, यसले यस सम्बन्धलाई सम्मान र सद्भावपूर्ण बनाउन प्रेरित पनि गर्छ । हाम्रो सम्पूर्ण जीवनशैलीमा कृषि, जलवायु र प्राकृतिक स्रोतहरूको महत्त्व देखिन्छ र दशैंले मानिसलाई प्रकृतिको महत्त्वको याद दिलाउँछ । जमरा, टीका र माटोको प्रयोगले हामी प्राकृतिक चक्रको हिस्सा हौँ भन्ने तथ्यलाई झल्काउँछ ।

हरेक वर्ष दशैंको आगमन शरद ऋतुमा हुन्छ, जब पृथ्वीले आफूलाई नयाँ रूपमा पुनःस्थापित गरेको हुन्छ । यो समय बाली पाक्ने समय हो, आकाश सफा हुन्छ र मौसममा सन्तुलन हुन्छ । दशैंको उत्सवले मानिसलाई कृषिआधारित समाजसँग गहिरो रूपमा जोडेको हुन्छ, जहाँ प्रत्येक व्यक्ति आफ्नो श्रमको फल पाउँछ र प्रकृतिले दिएको उपहारहरूको कदर गर्छ ।

प्रकृति र पवित्रता : हरियालीको प्रतीक जमरा

जमराको हरियाली प्रकृतिको पुनर्जागरण र समृद्धिको प्रतीक हो । यो शुद्धता, शान्ति र उर्वरताको प्रतीक हो । माटोमा जमरा राखेर पानी हाल्ने कार्यले हामीलाई प्रकृतिको सन्तुलन र सहजीवनको सन्देश दिन्छ । यस क्रियाकलापले हामीलाई प्राकृतिक स्रोतहरूको सही उपयोग गरेर प्रकृति संरक्षण गर्ने हाम्रो जिम्मेवारीको याद दिलाउँछ ।

जमराको हरियाली फक्रने प्रक्रियाले माटोको उर्वरता र प्रकृतिको जीवनचक्रलाई उजागर गर्छ । यसले हरेक सुरुवात माटोमा गाडिएको बीउजस्तै हुन्छ भन्ने पाठ दिन्छ जसले सहनशीलता र धैर्यताका साथ प्राकृतिक सहयोग बिना फक्रन सक्दैन । यसैले, दशैंमा जमरालाई देवीको प्रतीक मान्नु भनेको प्रकृतिलाई सम्मान गर्नु र त्यसबाट प्राप्त हुने आशीर्वादको कदर गर्नु हो ।

दशैं र वातावरणीय सद्भाव

दशैंको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरूको जिम्मेवार प्रयोगको पाठ दिन्छ । दशैंमा गरिने अनुष्ठान, पूजा र उत्सवहरू वातावरणीय सन्देशसँग जोडिएका हुन्छन् । हामीले हाम्रा आवश्यकता र प्रकृतिको सीमामा सन्तुलन कायम गर्नुपर्छ भन्ने सन्देश यो पर्वले दिन्छ ।

दशैंको उत्सवले परिवार, समुदाय र वातावरणबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । परिवारका सबै सदस्यहरू मिलेर प्रकृतिको स्रोतहरूको सही प्रयोग गर्न, आफ्नो उपभोगलाई सन्तुलित गर्न र वातावरणलाई हानि नगरी रमाइलो गर्न प्रेरित गर्छ ।

आन्तरिक प्रकृति : बाहिरी वातावरणसँगको सम्बन्ध

दशैंले केवल बाहिरी प्रकृति र वातावरणसँगको सम्बन्धलाई पुनःस्थापित गर्दैन, यसले मानिसको आन्तरिक प्रकृति – मन र आत्माको सन्तुलनलाई पनि उजागर गर्छ । मानिसको भित्री संसार र बाहिरी संसारबीचको यो द्वैतको सन्देशले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्छ ।

दशैंको समयमा गरिने ध्यान, पूजा र आराधनाहरूले मानिसको भित्री दोषहरू- लोभ, मोह र अहङ्कारलाई पराजित गर्दै आन्तरिक शुद्धता हासिल गर्न मद्दत गर्दछ । यी दोषहरू पराजित भएपछि, मानिस बाहिरी वातावरणसँग सामंजस्यपूर्ण सम्बन्ध स्थापित गर्न सक्षम हुन्छ ।

मानव र प्रकृतिबीचको द्वन्द्वको समाधान

सम्पूर्ण दशैंको कथाले मानव र प्रकृतिबीचको द्वन्द्व समाधानको सन्देश दिन्छ । महिषासुरको रूप मानव स्वभावका नकारात्मक पक्षहरूको प्रतीक हो जसले बाहिरी सङ्घर्ष मात्र नभई वातावरणको विनाशलाई पनि सूचित गर्छ । महिषासुरजस्ता नकारात्मक शक्तिहरू वातावरणीय विनाश, जंगलको कटान र जलवायु परिवर्तनको सूचक हो । देवी दुर्गाको विजयले मानिसले आफ्नो नकारात्मक प्रवृत्तिहरूलाई पराजित गरी वातावरणीय सन्तुलन पुनःस्थापित गर्न सक्ने सन्देश दिन्छ ।

यो कथा मानव समाजलाई प्राकृतिक स्रोतहरूको दुरुपयोग र त्यसका दुष्परिणाम बुझ्न प्रेरित गर्छ । वातावरणीय असन्तुलनले मानव जीवनलाई विनाशतिर लैजान सक्छ । त्यसैले, दशैंले मानिसलाई प्राकृतिक स्रोतहरूको जिम्मेवार उपयोग गर्न वातावरणलाई संरक्षण गर्न र सामंजस्यपूर्ण जीवनशैली अपनाउन प्रेरित गर्दछ ।

५. दशैंको सामाजिक र आर्थिक प्रभाव : सांस्कृतिक पुनर्जागरण र आर्थिक सन्तुलनको पर्व

दशैं नेपाली समाजमा केवल धार्मिक र सांस्कृतिक महत्त्वको पर्व मात्र होइन, यसले समाजको सामाजिक संरचना, आर्थिक गतिशीलता र सांस्कृतिक चेतनामा गहिरो प्रभाव पार्छ । यस पर्वले सामाजिक एकता, आर्थिक सन्तुलन र सामुदायिक पुनर्जागरणलाई प्रोत्साहित गर्दै सामूहिक मेलमिलाप र आर्थिक गतिविधिमा उल्लेखनीय परिवर्तन ल्याउँछ ।

सामाजिक पुनर्जागरणको प्रतीक

दशैं नेपाली समाजमा सामाजिक पुनर्जागरणको प्रतीक हो । वर्षभरि व्यस्तताले टाढा भएका पारिवारिक र सामुदायिक सम्बन्धलाई दशैंले पुनःस्थापित गर्छ । परम्परागत रूपमा दशैंले सबैलाई एकसाथ ल्याउने काम गर्छ, जहाँ परिवारका सदस्यहरूले टिका, जमरा र आशीर्वाद लिँदै आपसी प्रेम र स्नेहको आदानप्रदान गर्छन् । यसले परिवार र समुदायबीचका बन्धनलाई अझ बलियो बनाउँछ ।

दशैंले गाउँ फर्कने परम्परा र ग्रामीण पुनर्मिलनलाई प्रोत्साहित गर्दछ जसले शहरी र ग्रामीण जीवनबीचको दूरीलाई कम गर्छ । यसरी, दशैंले सामूहिक चेतनामा योगदान पुऱ्याएर समाजमा पुनर्जीवनको भावना ल्याउँछ ।

विविधतामा एकता

नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजमा दशैंको विशेषता भनेको यसले सबैलाई एकतामा बाँध्ने हो । विभिन्न जातीय, धार्मिक र सांस्कृतिक समूहले आ-आफ्नो परम्पराअनुसार दशैं मनाए पनि यसले विविधताभित्र एकताको सन्देश दिन्छ ।दशैंले विभिन्न समुदायबीचका भाइचारालाई प्रवर्द्धन गरी समाजमा सद्भाव कायम गर्दछ जसले सामाजिक स्थायित्व र एकताको भावना जागृत गराउँछ ।

आर्थिक गतिविधिको पुनरुत्थान

दशैंको आगमनसँगै आर्थिक गतिविधिहरूमा उछाल आउँछ । बजारमा लुगा, गहना, खाद्य वस्तु र उपभोग्य सामग्रीहरूको माग बढ्छ । यसले व्यापार, कृषि र सेवा क्षेत्रमा आर्थिक क्रियाकलापलाई तीव्र बनाउँछ ।

दशैंको समयमा कृषकहरूले आफ्नो उत्पादनबाट राम्रो आम्दानी गर्छन् । धान, मकै र अन्य बालीहरू तयार हुने समय भएकाले कृषकहरूका लागि यो पर्व आर्थिक अवसर पनि हो । यसले ग्रामीण अर्थतन्त्रलाई थप सशक्त बनाउँछ ।

उपभोग र वित्तीय व्यवस्थापन

दशैंको समयमा उपभोक्तावाद तीव्र हुन्छ जसले खर्चको स्तर बढाउँछ । परिवारका मुखियाहरूले खर्च र बचतलाई सन्तुलनमा राख्न प्रयास गर्छन् । यस पर्वले आर्थिक रूपले जिम्मेवार बन्ने सन्देश दिन्छ, जहाँ व्यक्तिगत वित्तीय व्यवस्थापनको महत्त्वलाई उजागर गरिन्छ ।

रोजगारी र आर्थिक सशक्तीकरण

दशैंले अस्थायी रूपमा रोजगारीका अवसरहरू सिर्जना गर्दछ । बजार, यातायात र सेवा क्षेत्रमा काम गर्नेहरूको माग बढ्छ जसले मजदुर वर्गका मानिसलाई आय आर्जनको मौका दिन्छ । यसरी, दशैंले समाजको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउँछ ।

आर्थिक असमानता र सामाजिक मूल्य

दशैंको खर्च र उपभोगका कारण समाजमा आर्थिक असमानता पनि स्पष्ट हुन्छ । सम्पन्न परिवारले महँगा खर्च गरेर पर्व मनाउँदा गरिब वर्गलाई त्यो स्तरमा पर्व मनाउन कठिन हुन्छ । तर दशैंले सम्पन्न परिवारहरूलाई आफ्ना स्रोतहरू बाँडेर गरिब वर्गलाई सहयोग गर्न प्रेरित गर्दछ जसले आर्थिक असमानतालाई केही हदसम्म कम गर्ने प्रयास गर्दछ ।

सामाजिक-आर्थिक उत्तरदायित्व र पर्यावरणीय असर

दशैंको उपभोक्तावादले कहिलेकाहीं आर्थिक भार उत्पन्न गर्न सक्छ, विशेषगरी निम्न वर्गका लागि । साथै, दशैंको बेला हुने अत्यधिक उपभोगले पर्यावरणमा नकारात्मक असर पुर्याउन सक्छ । प्लास्टिकको अत्यधिक प्रयोग, फोहोरको मात्रा र स्रोतहरूको दुरुपयोगले पर्यावरणीय असन्तुलन ल्याउन सक्छ जसले दीर्घकालीन रूपमा समाज र वातावरणलाई चुनौतीमा पार्न सक्छ ।

६. वर्तमान समाजमा दशैंको परिवर्तनशीलता : आधुनिकता, परम्परा र मूल्यहरूको पुनर्विचार

दशैं, नेपालको सबैभन्दा ठूलो सांस्कृतिक पर्व, समयसँगै सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनहरूको साक्षी बनिरहेको छ । यस पर्वको महत्त्व अहिले पनि अटल छ तर वर्तमान समाजमा यसको स्वरूप, अभ्यास र मूल्यहरूमा गहिरो परिवर्तन देखा पर्न थालेको छ । परम्परा र आधुनिकताको द्वन्द्वले दशैंलाई नयाँ तरिकामा परिभाषित गरिरहेको छ जसले समयानुकूल आफ्नो स्वरूपलाई पुननिर्माण गरिरहेको छ ।

सामाजिक संरचनामा दशैंको परिवर्तनशीलता

वर्तमान समाजमा पारिवारिक र सामाजिक संरचनामा आएको परिवर्तनसँगै दशैंको स्वरूपमा पनि उल्लेखनीय परिवर्तन आएको छ । अघिल्ला पुस्तामा दशैं विशेषगरी ग्रामीण परिवेशमा पारिवारिक पुनर्मिलनको प्रतीक थियो । सहरमा रहेका मानिस गाउँ फर्केर पुरानो घरमा परिवारसँग मिलेर टिका लगाउने चलन थियो । तर, हाल विदेशमा रोजगारीका कारण परिवारका धेरै सदस्य टाढा रहेका हुन्छन् जसले गर्दा पारिवारिक पुनर्मिलनको भावना कमजोर भएको छ ।

शहरीकरण र विदेश पलायनका कारण दशैंमा सँगै जम्मा भएर टिका लगाउने परम्परामा कमी आएको छ । प्रविधिको सहायताले धेरैले दशैं भर्चुअल रूपमा मनाउने प्रयास गरिरहेका छन्, जहाँ डिजिटल माध्यमबाट आशीर्वाद र शुभकामना आदानप्रदान गरिन्छ । यसले दशैंको पारम्परिक पुनर्मिलनको महत्त्वमा परिवर्तन ल्याएको छ ।

आधुनिकता र परम्पराको टकराव

दशैंको परम्परागत सांस्कृतिक अभ्यासहरू आधुनिक समाजसँग तालमेल मिलाउन सङ्घर्ष गरिरहेका छन् । आधुनिक जीवनशैली, व्यस्तता र नयाँ पुस्तामा देखिएको उपभोक्तावादी प्रवृत्तिले दशैंको गहिरो सांस्कृतिक महत्त्वलाई केही ओझेलमा पारेको छ । अघिल्लो पुस्तामा दशैंलाई धार्मिक आस्था र परम्पराको पर्व मानिन्थ्यो, जहाँ देवीको पूजा, बलि प्रथा र अन्य धार्मिक विधिहरू महत्त्वपूर्ण हुन्थे । तर, आजको समाजमा ती परम्पराहरूमा प्रश्न उठ्न थालेको छ । बलि प्रथालाई अहिले अनावश्यक हिंसा र क्रूरताको रूपमा हेरिन थालेको छ जसले धेरै परिवारहरूलाई वैकल्पिक तरिका अपनाउन प्रेरित गरेको छ, जस्तै तरकारी बलि दिने वा बलिप्रथा नै नगर्ने चलन ।

उपभोक्तावाद र आर्थिक परिवर्तन

दशैंको आधुनिक स्वरूप उपभोक्तावादी प्रवृत्तिसँग जोडिएको छ । पहिले धार्मिक र सांस्कृतिक रूपमा मनाइने दशैं अहिले आर्थिक क्रियाकलाप र उपभोगको पर्व बनेको छ । बजारमा देखिने भीडभाड, विज्ञापनहरू र उपभोक्तावादले दशैंलाई खर्च गर्ने र देखाउने प्रतिस्पर्धाको पर्व बनाएको छ ।

पहिले दशैंमा नयाँ लुगा लगाउनु गर्वको विषय थियो तर अहिले ब्रान्डेड कपडा, गहना र विलासी वस्तुहरू प्रदर्शन गर्ने चलन बढेको छ । यसले दशैंलाई समाजमा आर्थिक प्रतिस्पर्धाको माध्यम बनाएको छ, जहाँ मानिस आफ्नो आर्थिक स्थिति देखाउन लालायित देखिन्छन् ।

प्रविधिको भूमिका र डिजिटल युगको दशैं

प्रविधिले दशैंको स्वरूपलाई व्यापक रूपमा परिवर्तन गरेको छ । धार्मिक अनुष्ठानदेखि सामाजिक संवादसम्म धेरै पक्षहरू डिजिटल प्लेटफर्ममा सरेका छन् । विदेशमा रहेका नेपालीहरूले प्रविधिको माध्यमबाट आफ्ना परिवारसँग भर्चुअल रूपमा आशीर्वाद आदानप्रदान गर्ने र शुभकामना पठाउने गरेका छन् ।

प्रविधिले शारीरिक दूरीलाई कम गराउने भए पनि दशैंको पारम्परिक शारीरिक उपस्थिति आवश्यक पर्ने पक्षमा केही कमी ल्याएको छ । भर्चुअल माध्यमले दशैंको अनुभवलाई विश्वव्यापी बनाएको छ, जहाँ विदेशमा रहेका नेपालीहरूले पनि यस पर्वमा सहभागी हुन सक्छन् ।

धर्मनिरपेक्षता र सांस्कृतिक विविधताको स्वीकार्यता

समाजमा बढ्दो धर्मनिरपेक्षता र सांस्कृतिक विविधताले दशैंलाई पुनर्परिभाषित गरेको छ । पहिले हिन्दु धर्मको प्रमुख पर्व मानिने दशैंलाई अहिले अन्य धार्मिक समुदायहरूले पनि मनाउन थालेका छन् । अन्य धर्मका मानिस पनि दशैंको उत्सवमा सहभागी भइरहेका छन् जसले समाजमा सहिष्णुता र एकताको सन्देश दिएको छ ।

दशैंले नेपाली समाजमा रहेका विभिन्न सांस्कृतिक समूहहरूलाई एकसाथ ल्याउने र तिनको पहिचानलाई सम्मान गर्ने अवसर पनि प्रदान गरेको छ ।

पर्यावरणीय सचेतना र दशैं

पर्यावरणीय चिन्ताले दशैंको परम्परागत अभ्यासमा पनि पुनर्विचार गर्न बाध्य बनाएको छ । पहिले बलि प्रथा, पटाका र अत्यधिक उपभोगले वातावरणमा नकारात्मक असर पार्ने गरेको थियो । तर अहिलेको पुस्ता वातावरणीय जिम्मेवारीप्रति सचेत हुँदै गएकाले धेरैले पर्यावरणमैत्री तरिकाले दशैं मनाउन थालेका छन् ।

धेरै परिवारहरूले प्लास्टिकको प्रयोग घटाउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने र नवीकरणीय स्रोतहरूको प्रयोग गर्ने जस्ता प्रवृत्तिहरू अँगालिरहेका छन् । यसले दशैंको सांस्कृतिक मूल्यलाई अक्षुण्ण राख्दै पर्यावरणीय सचेतनालाई प्राथमिकता दिएको छ ।

सामाजिक मिडियाको प्रभाव

सामाजिक मिडियाको प्रयोगले दशैंको परम्परागत स्वरूपमा व्यापक परिवर्तन ल्याएको छ । पहिले दशैंको शुभकामना पत्र, भेटघाट र सामूहिक सहभागिता महत्त्वपूर्ण थियो तर अहिले यी क्रियाकलापहरू फेसबुक, इन्स्टाग्राम र ट्विटरजस्ता डिजिटल प्लेटफर्ममा सरेका छन् ।

सामाजिक मिडियाले दशैंको शारीरिक भेटघाटलाई केही हदसम्म कमजोर पारेको भए पनि यसले यस पर्वलाई विश्वव्यापी बनाएको छ, जहाँ विश्वका कुनै पनि कुनामा रहेका नेपालीहरूले आफ्नो पर्वलाई सामाजिक मिडियामार्फत मनाउन सक्छन् ।

७. दशैंको मूल निष्कर्ष : एकता, मेलमिलाप र सद्भावको प्रतीक

दशैं, नेपालको सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्व, सांस्कृतिक, धार्मिक र सामाजिक पक्षमा मात्र सीमित छैनस यसको गहिराइमा एकता, मेलमिलाप र सद्भावको गहन सन्देश छ । यस पर्वले नेपालजस्तो विविधताले भरिएको समाजमा आपसी सद्भाव र मेलमिलापलाई पुनर्जागरण गर्ने उद्देश्य राख्छ ।

पौराणिक कथा र धार्मिक मान्यताले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा चित्रण गरे पनि यसको वास्तविक मर्म भनेको मानिसबीचको सम्बन्धलाई बलियो बनाउनु हो । वर्तमान युगमा, जहाँ समाज विविधताले भरिएको छ, दशैंले यस विविधतालाई स्वीकार्दै सबैलाई एउटै साझा धागामा बाँध्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

एकता र सामुदायिक भावना

दशैंको मूल उद्देश्य नै मानव समुदायलाई एकतामा बाँध्नु हो । नेपाली समाज विभिन्न जातीय, धार्मिक र भाषिक विविधताले भरिएको छ । यी विविधताबीच एकताको अभावले समाजमा द्वन्द्व र विखण्डन ल्याउन सक्छ । दशैंले यस्ता विभाजनकारी प्रवृत्तिहरूलाई पराजित गर्दै आपसी सहकार्य र एकताको सन्देश दिन्छ ।

दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको परिवारका सबै सदस्यहरूलाई एउटै ठाउँमा ल्याउनु हो । दशैंको अवसरमा देशभरिका मानिस जहाँ भए पनि आफ्नो घरमा फर्किन्छन् । गाउँ वा सहरमा बस्ने परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुन्छन् जसले उनीहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । परिवारको पुनर्मिलन, टिका थाप्ने परम्परा र आशीर्वादको आदानप्रदानले सानो स्तरमा भए पनि समाजमा एकताको भावना बलियो बनाउँछ ।

मेलमिलाप : पुराना विवाद र असहमतिको अन्त्य

दशैं मेलमिलापको सन्देश बोकेको पर्व हो । नेपाली समाजमा, जहाँ विभिन्न राजनीतिक, सामाजिक र पारिवारिक विवादहरू देखिन्छन्, दशैंले यस्ता असहमति र तनावलाई कम गर्ने अवसर दिन्छ । धेरै मानिस दशैंलाई पुराना दुश्मनीहरू भुलाउने, रिसइबी मेटाउने र नयाँ सुरुवात गर्ने समयको रूपमा लिन्छन् । दशैंमा एकअर्कालाई माफी दिने र पुराना रिसरागलाई पन्छाएर नयाँ सम्बन्धको सुरुवात गर्ने चलन छ । दशैंले मेलमिलापको महत्त्वलाई उच्च स्थानमा राखेर परिवार र समाजमा एकताको वातावरण पुनःस्थापित गर्दछ ।

सद्भाव र सांस्कृतिक आदानप्रदान

दशैंको अर्को प्रमुख उद्देश्य समाजमा आपसी सद्भाव फैलाउनु हो । नेपालजस्तो बहुसांस्कृतिक र बहुधार्मिक देशमा दशैंले विविध संस्कृतिहरूबीच आदानप्रदान र सहअस्तित्वलाई प्रोत्साहित गर्दछ । दशैंको समयमा नेपाली समाजका सबै वर्गहरूबीच भौतिक र भावनात्मक दूरीहरू मेटिन्छन् ।

दशैंमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना सबै वर्ग र समुदायबीच फैलिन्छ । विभिन्न समुदायका मानिस एकअर्काको संस्कार र परम्परामा सहभागी भएर आपसी सम्मान गर्छन् । सद्भावको अर्को उदाहरण भनेको विभिन्न धार्मिक समुदायहरूबीचको सम्बन्ध हो । दशैं हिन्दुहरूको पर्व भए तापनि, अन्य धर्मका मानिसको पनि सहभागिता हुन्छ । बौद्ध, किरात र अन्य समुदायका मानिस पनि दशैंमा सहभागी हुन्छन् जसले धार्मिक सहिष्णुता र आपसी समझदारीको भावना विकास गर्दछ ।

सामाजिक सञ्जाल र सम्बन्धको पुनर्निर्माण

दशैंले समाजमा देखिने सामुदायिक सञ्जाललाई पुनर्निर्माण गर्छ । परिवार र छरछिमेकका मानिस दशैंको बेला एकअर्कासँग सम्पर्कमा आउँछन् । यसले समाजमा देखिने अलगाव र दूरीलाई मेट्न मद्दत गर्छ । दशैंको विशेषता भनेकै घर(घरमा पुगेर मान्यजनबाट आशीर्वाद लिनु र साना नानीहरूलाई आशीर्वाद दिनु हो । यसले परिवार, छिमेकी र आफन्तबीचको सम्बन्धलाई बलियो बनाउँछ । आजको व्यस्त जीवनशैलीमा दशैंजस्ता पर्वहरूले सामाजिक सञ्जाललाई जीवित राख्न मद्दत गर्छन् ।

न्याय र समानताको सन्देश

दशैंको पौराणिक कथा भनेकै रामले रावणलाई पराजित गर्नु र देवी दुर्गाले महिषासुरलाई नाश गर्नु हो जसले असत्य, अन्याय र अत्याचारको अन्त्यको सन्देश दिन्छ । आजको समाजमा अन्याय, विभेद र असमानताका विभिन्न रूप छन्, जसलाई दशैंले मेट्ने प्रेरणा दिन्छ । दशैंले जातीय, लैंगिक र आर्थिक आधारमा हुने विभेदलाई हटाउँदै सबैलाई समानताको दृष्टिले हेरिन्छ भन्ने भावना उत्पन्न गराउँछ । टिका थाप्ने परम्परामा सबै वर्गका मानिस समानरूपमा सहभागी हुन्छन् जसले जात-पातको भेदभावलाई मेटेर समाजमा समानताको भावना स्थापित गर्न मद्दत गर्छ ।

वर्तमान समाजमा एकताको आवश्यकता

वर्तमान समयमा समाज राजनीतिक विभाजन, सामाजिक अन्याय र आर्थिक असमानताका समस्याहरूबाट ग्रस्त छ । यस्तो अवस्थामा दशैंजस्तो पर्वले समाजमा एकता र मेलमिलापको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

दशैंले मानिसलाई एकताको मर्म सम्झाउने अवसर प्रदान गर्छ, जहाँ फरक विचारधारा, पृष्ठभूमि र अवस्थाका मानिस एकै स्थानमा भेला भएर आपसी मेलमिलापको सन्देश फैलाउँछन् । यसै कारण दशैंलाई केवल धार्मिक पर्वको रूपमा मात्र नभई समाजमा एकताको खम्बाको रूपमा लिन सकिन्छ ।

जय मातृभूमि !

नरोत्तम श्रेष्ठका अन्य लेखहरू :

हराएका वर्षहरू : सोरठी, प्रकाश किरणहरू

आरक्षण : बङ्गलादेशबाट नेपालले सिक्नुपर्ने दश पाठ

देवी प्रतिभा : धर्मनिरपेक्षता उपेक्षा

नेपाली सेना : विचलित कि कर्तव्यपरायण ?

गोवध धर्मनिरपेक्षता

श्रमिक दिवसको दर्जन शुभकामना !

राजनीतिक वितृष्णा : न्यून मतदान

कोरोनाकहरका अवसरहरू

पहिचान एकताको प्रतीक